सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
केपी ओलीको घोषणापत्र

ओलीले सार्वजनिक गरे नयाँ घोषणा, विगतकै बाचा अधुरा

शनिबार, ०२ फागुन २०८२, २० : ३०
शनिबार, ०२ फागुन २०८२

सारांश

  • एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरे।
  • घोषणापत्रमा राष्ट्रिय स्वाधीनता, सुकुम्बासी समस्या समाधान र पूर्वाधार निर्माणका योजनाहरू समावेश छन्।
  • स्थानीय स्तरमा विगतका बाचाहरू पूरा नभएको भन्दै घोषणापत्रको आलोचना भइरहेको छ।

विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि आफ्नो निर्वाचन क्षेत्रको घोषणापत्र सार्वजनिक गरेका छन् । 

ओलीले आफ्नो चुनावी प्रचारका क्रममा केपी शर्मा ओलीलाई नै भोट किन ? भन्ने मूल नारासहितको घोषणापत्र सार्वजनिक गरेका हुन् । तर घोषणापत्रमा उल्लेख गरिएका महत्त्वाकांक्षी योजना र विगतमा गरिएका बाचा पूरा नभएको भन्दै स्थानीयस्तरमा आलोचना कायमै छ । 

सार्वजनिक गरिएको घोषणापत्रमा ओलीले राष्ट्रिय स्वाधीनताको रक्षादेखि लिएर झापा ५ को सुकुम्बासी समस्या समाधान गर्ने र अत्याधुनिक पूर्वाधार निर्माण गर्नेसम्मका विषय समेटेका छन् । जसमा दमक–गौरादह र गौरीगञ्जलाई ‘स्मार्ट सिटी’ बनाउने, नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण सम्पन्न गर्ने, दमक अस्पताललाई शिक्षण अस्पतालको रूपमा स्तरवृद्धि गर्ने र सबैलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउनेजस्ता लोकप्रिय नाराहरू समावेश छन् । 

ओलीले नयाँ सपनाहरू बाँडिरहँदा, अघिल्ला निर्वाचनहरूमा गरिएका र बारम्बार दोहोर्‍याइएका कतिपय ठुला आयोजनाहरू भने अझै अलपत्र अवस्थामा छन् । घोषणापत्रमा सम्पन्न गर्ने भनिएका धेरै योजनाहरू वर्षौंदेखि कागजमा मात्र सीमित छन् । 

नेपाल–चीन मैत्री औद्योगिक पार्कको कामले गति लिन नसक्नुलाई स्थानीयले ठुलो असफलताको रूपमा हेरेका छन् । मुआब्जा विवाद र अन्य प्राविधिक कारणले यो आयोजना अझै अन्योलमा छ । त्यस्तै, दमकको भ्यु टावर निर्माण सम्पन्न भए पनि यसको सञ्चालन मोडालिटी र उपयोगितालाई लिएर सर्वसाधारणमा अन्योल कायमै छ । 

वर्षौंदेखि बजेट विनियोजन भए पनि आदिवासी रंगशाला निर्माणले अझै मूर्त रूप पाउन सकेको छैन । गौरीगञ्ज र झापा गाउँपालिका जोड्ने कन्काई पुलको निर्माण कार्य कछुवा गतिमा छ । जसका कारण हजारौँ स्थानीयले सास्ती खेप्नुपरिरहेको छ । 

गौरादह ४ र ५ का सुकुमबासीलाई धनीपूर्जा वितरण गर्ने आश्वासन प्रत्येक निर्वाचनमा दिइन्छ । तर कार्यान्वयन भएको छैन । गौरीगञ्ज छोटी भन्सारलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने यसअघिको बाचा पनि अझै अधुरै छ । दमकमा बहुतले बसपार्क र सुविधासम्पन्न अस्पताल निर्माण गर्ने योजनाहरू घोषणा भए पनि काम भएको छैन ।  

घोषणापत्रमा यस अघि सुरु भई हाल रोकिएका र अधुरा रहेका विकास निर्माणका कामहरू पूरा गर्ने प्रतिबद्धता जनाइएको छ । गौरादहका एक स्थानीय डिल्लीप्रसाद फुयाँलले भने, ‘गौरादह पोखरीलाई पर्यटकीय क्षेत्र बनाउने कुरा धेरै सुनियो, तर पोखरीको अवस्था उस्तै छ । घोषणापत्रमा जहिल्यै नयाँ र ठुला कुरा हुन्छन्, तर हाम्रा आधारभूत समस्या जस्ताका तस्तै छन् ।’ झापा ५ को यसपटकको निर्वाचनमा ओलीका लागि यी अधुरा योजनाहरू नै मुख्य चुनौती बन्ने देखिन्छन् ।  

 

oli-ghosana
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप