मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजनीतिमा 'भाइरल' मोह: अनुहार रोज्ने कि एजेन्डा ?

आइतबार, ०३ फागुन २०८२, १० : ३५
आइतबार, ०३ फागुन २०८२

सारांश

  • नेपाली राजनीतिमा नेतृत्वको आधार उमेर कि योग्यता भन्ने बहस सतहमा आएको छ, निर्वाचन नजिकिँदै गर्दा पुस्तान्तरणको मुद्दा उठेको छ।
  • सामाजिक सञ्जालमा लोकप्रियता हासिल गरेका व्यक्तिलाई नेतृत्व सुम्पिनु गम्भीर हुन सक्छ, किनकि यसले देश बनाउने भिजन र नीतिगत स्पष्टता दिँदैन।
  • मतदातालाई मनोवैज्ञानिक रूपमा प्रभाव पार्ने प्रयास भइरहेको छ, तर उम्मेदवारको राजनीतिक पृष्ठभूमि, निष्ठा र कार्यक्रमलाई हेर्नु आवश्यक छ।

राजनीतिमा नेतृत्वको आधार उमेर हुनुपर्छ कि योग्यता? यो बहस नेपाली समाजमा दशकौँदेखि अनुत्तरित छ। विशेष गरी आसन्न फागुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा ’पुस्तान्तरण’ र ’नेतृत्व परिवर्तन’को मुद्दा फेरि सतहमा आएको छ। तर, के केवल ’युवा’ हुनु नै निकासको अचुक उपाय हो? वा ’अनुभवी’ हुनु मात्रै पर्याप्त छ? यो विषयमा अहिले गम्भीर मन्थन आवश्यक छ।

भाइरल ट्रेन्ड र सतही लोकप्रियताको जोखिम
अहिलेको मुख्य चुनौती सामाजिक सञ्जालको ’अल्गोरिदम’ र ’सेन्टिमेन्ट क्याच’ गर्ने शैली हो। फेसबुक, टिकटक वा युट्युबमा केही हजार ’लाइक’ र ’भ्युज’ पाएका भरमा कसैलाई देशको नेतृत्व सुम्पिन खोज्नु गम्भीर भूल हुन सक्छ। लोकप्रियताले चुनाव त जिताउला, तर यसले देश बनाउने ’भिजन’ र ’नीतिगत स्पष्टता’ दिँदैन। राजनीति केवल ताली र गालीको विषय होइन, यो त गहिरो अध्ययन, वैचारिक निष्ठा र सङ्गठनात्मक अभ्यासबाट खारिने क्षेत्र हो।

सोसल म्यानुपुलेसनबाट जोगिऔँ
अहिले मतदातालाई मनोवैज्ञानिक रूपमा प्रभाव पार्न विभिन्न हत्कण्डाहरू अपनाइन्छ। सतही नारा, भावनात्मक भाषण र विपक्षीलाई गाली गर्ने ’छुद्र शैली’लाई नै महान् ठान्ने भ्रम फैलाइएको छ। हामीले बुझ्नुपर्छ—जसले सस्तो लोकप्रियताका लागि चर्का कुरा गर्छ, उसले कठिन परिस्थितिमा जिम्मेवारीपूर्वक निर्णय लिन सक्दैन। ’भाइरल’ अनुहारको पछि लाग्नुभन्दा उम्मेदवारको राजनीतिक पृष्ठभूमि, उसको निष्ठा र उसले बोकेको निश्चित कार्यक्रमलाई हेर्नु आजको आवश्यकता हो।

उमेरले होइन, योग्यता र अनुभवले नेतृत्व जन्माउँछ
इतिहास र विश्व राजनीतिलाई हेर्ने हो भने उमेरले मात्र योग्यता निर्धारण गर्दैन। सत्यमोहन जोशीले शताब्दी उमेरमा पनि सिर्जनात्मक काम गरे भने जो बाइडन, नरेन्द्र मोदी र भ्लादिमिर पुटिन जस्ता नेताहरू परिपक्व उमेरमै विश्व राजनीतिमा प्रभावशाली छन्। मानिसको सोच, विचार र व्यवहार समयसँगै परिपक्व हुँदै जान्छ। उमेर बढ्दै जाँदा आउने अनुभवले निर्णय क्षमता, धैर्यता र सन्तुलन बढाउँछ, जुन देश सञ्चालनका लागि अनिवार्य गुण हुन्।

भावनात्मक आवेगको महत्त्व
पछिल्ला अध्ययनहरूले देखाएका छन् कि कम उमेरका युवाहरूमा कहिलेकाहीँ भावनात्मक नियन्त्रण कम हुन सक्छ, जसले गर्दा उनीहरू सानो कुरामा पनि आक्रामक हुने वा तत्काल प्रतिक्रिया दिने गर्छन्। राजनीति प्रतिशोध वा भावनाको आधारमा होइन, विचार र नीतिको आधारमा चल्नुपर्छ। देशलाई अहिले यस्तो नेतृत्व चाहिएको छ, जोसँग स्पष्ट कार्यदिशा होस् र जो ’सेन्टिमेन्ट’ भन्दा ’समाधान’ मा केन्द्रित होस्।

– लहरमा नबहकियौँः सामाजिक सञ्जालको म्यानुपुलेसनमा नफसी उम्मेदवारको वास्तविक धरातल हेरौँ।
– विवेक प्रयोग गरौँः कुनै आग्रह वा पूर्वाग्रहबिना योग्यता र क्षमताको कसीमा उम्मेदवारलाई तौल्यौँ।
– नतिजा खोजौँ: केवल सपना बाँड्ने होइन, इमानदारी र जिम्मेवारी बोध भएका व्यक्तिलाई रोजौँ।
– सन्तुलन रोजौँ: पुरानाको अनुभव र नयाँ पुस्ताको जोस—देशलाई दुवैको सन्तुलन चाहिन्छ। 

अन्त्यमा,  लोकतन्त्रमा देशको राजनीतिक नेतृत्व कस्तो बनाउने भन्ने अन्तिम साँचो हामी जनताकै हातमा छ। उमेरको आडमा वा भाइरल ट्रेन्डको नाममा अयोग्य व्यक्ति छानिनु देशकै लागि दुर्भाग्य हुनेछ। त्यसैले, फागुन २१ मा आफ्नो अमूल्य मत दिँदा उमेर होइन, विचार, एजेन्डा र योग्यतालाई प्राथमिकता दिऔँ। परिवर्तन अरूले गरिदिने होइन, हाम्रो एउटा सही र विवेकपूर्ण निर्णयबाट सुरु हुने प्रक्रिया हो।
 (शाही त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा राजनीतिकशास्त्र स्नातकोत्तर अध्ययनरत छन्।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समिर कुमार शाही
समिर कुमार शाही
लेखकबाट थप