सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
प्रलाेपाकाे प्रतिबद्धतापत्र

‘आँखा खोलौँ’ भन्दै प्रलोपाले ल्यायो चुनावी नाराहरू, भ्रष्टाचार अन्त्य र समृद्धिलाई मुख्य एजेन्डा

आइतबार, ०३ फागुन २०८२, १५ : ४८
आइतबार, ०३ फागुन २०८२

सारांश

  • प्रगतिशील लोकतान्त्रिक पार्टीले निर्वाचन २०८२ को लागि 'सुदृढ लोकतन्त्र, समृद्ध समाज र स्वाधिन राष्ट्र' नारा सार्वजनिक गरेको छ।
  • पार्टीले 'आँखा खोलौँ' नारा प्रयोग गर्दै सुशासन र भ्रष्टाचार मुक्तिको प्रतिबद्धता जनाएको छ, मतदातालाई आफ्नो चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेको छ।
  • प्रलोपाले आर्थिक समृद्धि, आत्मनिर्भरता, समानुपातिक-समावेशी लोकतन्त्र, शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिँदै 'सबैको समृद्धि, सबैको पहिचान' नारा अघि सारेको छ।

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन–२०८२ को संघारमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफ्ना चुनावी नाराहरू सार्वजनिक गरेको छ । ‘सुदृढ लोकतन्त्र, समृद्ध समाज र स्वाधिन राष्ट्र’ को लक्ष्यसहित चुनावी मैदानमा होमिएको प्रलोपाले आफ्नो चुनाव चिन्ह ‘आँखा’ लाई केन्द्रमा राखेर मतदातालाई आकर्षित गर्ने नाराहरू तय गरेको हो ।

पार्टीले घोषणापत्रसहित सार्वजनिक गरेका नाराहरूमा मुख्यतया मतदातालाई सचेत गराउने उद्देश्यले ‘आँखा खोलौँ’ भन्ने वाक्यांशको प्रयोग व्यापक रूपमा गरिएको छ । ‘आँखा खोलौँ, अग्रगामी विचारसहितको विकल्प रोजौँ’ भन्ने मूल आह्वानसहित प्रलोपाले सुशासनको चित्र कोर्ने र भ्रष्टाचारलाई चुनावबाटै हराउने उद्घोष गरेको छ । पुराना दलहरूप्रति लक्षित गर्दै प्रलोपाले यसपटक भ्रष्टाचारीलाई हराउन र सुशासन कायम गर्न मतदातालाई आफ्नो चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेको छ ।

आर्थिक समृद्धि र आत्मनिर्भरतालाई पनि प्रलोपाले नारामा विशेष प्राथमिकता दिएको छ । ‘देशभित्र उत्पादन देशभित्रै रोजगारी, समृद्ध नेपाल, सम्मानित नेपाली’ भन्ने नारा अघि सार्दै पार्टीले उद्योग, व्यापार र पर्यटनको विकासमार्फत अर्थतन्त्र विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । ऊर्जा विकासलाई आत्मनिर्भरताको आधार मान्दै पार्टीले विज्ञान, प्रविधि र अनुसन्धानमा जोड दिएर आधुनिक नेपाल निर्माण गर्ने सपना साकार पार्ने विषयलाई नारामा समेटेको छ ।

यसैगरी, प्रलोपाले आफ्नो मूलमन्त्रका रूपमा समानुपातिक–समावेशी र सहभागितामूलक लोकतन्त्रलाई अघि सारेको छ । शिक्षा, स्वास्थ्य र रोजगारलाई जनताको संवैधानिक अधिकारका रूपमा स्थापित गर्ने तथा पहिचान, संघीयता र सदाचारमार्फत राज्यमा सबैको समान पहुँच पुर्‍याउने विषयलाई नाराहरूमा प्राथमिकताका साथ उठाइएको छ । समतामूलक समाज निर्माण र सबैको पहिचानको रक्षाका लागि ‘सबैको समृद्धि, सबैको पहिचान’ भन्दै प्रलोपाले ‘आँखा’ चिन्हमा मतदान गर्न आम मतदातासँग अपिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप