काठमाडौँमा एक महिनामै २४ सयभन्दा बढी चालक मापसे कारबाहीमा, ५७७ वटा सवारी दुर्घटना
सारांश
- काठमाडौँ ट्राफिक प्रहरीले माघ महिनामा २ करोड ७० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ, जसमा ३७ हजारभन्दा बढी सवारी कारबाहीमा परे।
- मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने २४४७ जना र लागू पदार्थ सेवन (लापसे) गरेर चलाउने १८ जना चालक कारबाहीमा परे।
- उपत्यकामा ५७७ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भयो, जसमा चालकको लापरबाही मुख्य कारण देखियो, र २२९ सवारी साधन हराए।
- प्रहरीले जनचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै हराएका सवारी र चालक अनुमतिपत्रका लागि सिफारिस गरेको छ।
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले माघ महिनाको मासिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन माथिको कारबाहीबाट एक महिनामा मात्रै २ करोड ७० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । ट्राफिक प्रहरीले माघ महिनाभर चेकिङका क्रममा ३७ हजार ४ सय १६ वटा सवारी साधनलाई कारबाही गर्दा २ करोड ७० लाख ५३ हजार ६५ रुपैयाँ राजस्व संकलन गरेको हो ।
ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाइ गरे पनि मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेको सङ्ख्यामा कमी आएको छैन । माघ महिनामा मात्रै २४ सय ४७ जना चालक मापसे कारबाहीमा परेका छन् । जसमा २४ सय ३० जना निजी सवारीका चालक छन् भने १२ जना सार्वजनिक भाडाका सवारी चालक रहेका छन् । त्यस्तै २ वटा सरकारी र ३ वटा पर्यटक सवारीका चालक पनि मापसे कारबाहीमा परेका छन् ।
यसका साथै लागू पदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने १८ जना चालकलाई पनि प्रहरीले कारबाही गरेको छ । चिन्ताजनक विषय त के छ भने लापसे कारबाहीमा पर्ने १८ मध्ये १६ जना सार्वजनिक भाडाका सवारी चालक रहेका छन् ।
सडक दुर्घटनाको तथ्यांक हेर्दा उपत्यकामा एक महिनाभित्र ५७७ वटा सवारी दुर्घटना भएका छन् । जसमा १०१२ वटा सवारी साधन संलग्न थिए । यी दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ भने ६९५ जना घाइते भएका छन् ।
दुर्घटनाको मुख्य कारण चालकको लापरबाही देखिएको छ । ४०८ वटा दुर्घटना चालकको लापरबाहीले भएका छन् भने तीव्र गतिका कारण ८८ र मादक पदार्थ सेवनका कारण ५४ वटा दुर्घटना भएको प्रहरी तथ्यांकले देखाएको छ ।
सवारी चोरीका घटना पनि उपत्यकामा उल्लेख्य मात्रामा भएको पाइएको छ । एक महिनामा २२९ वटा सवारी साधन (१ चार पाङ्ग्रे र २२८ दुईपांग्रे) हराएको निवेदन परेको थियो । जसमध्ये प्रहरीले ७६ वटा सवारी साधन फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । चोरीमा संलग्न २ जनालाई पक्राउ गरी मुद्दा प्रक्रिया अगाडि बढाइएको छ ।
त्यस्तै, हिट एण्ड रन (ठक्कर दिएर भाग्ने) १५ वटा सवारी साधनमध्ये १२ वटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक व्यवस्थापन र कारबाहीसँगै प्रहरीले जनचेतनामा पनि जोड दिएको छ । माघ महिनामा विद्यालय र समुदायस्तरमा गरी २४ सय ६३ पटक सचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो, जसबाट करिब ३ लाख मानिस लाभान्वित भएका छन् । साथै, हराएको सवारी चालक अनुमति पत्र, ब्लुबुक र सवारी इजाजत पत्रका लागि ११ हजार ६ सय ५८ जनालाई सिफारिस दिइएको कार्यालयले जनाएको छ ।
प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न कार्यालयले सिर्जनात्मक अभ्यास पनि सुरु गरेको छ । हप्ताको एक पटक ६० देखि १०० जना ट्राफिक प्रहरीलाई हाइकिङ लैजाने र १०० जनालाई नेपाली सिनेमा देखाउने कार्य पनि भइरहेको छ ।
यसबाहेक ड्युटीको समयमा प्रहरीमाथि दुर्व्यवहार गर्ने तथा बढी भाडा लिने सवारी साधनमाथि पनि निगरानी र कारबाही तीव्र पारिएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण