बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

४५२ ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचः ११ जनालाई तत्काल उपचार गर्नुपर्ने

मङ्गलबार, ०५ फागुन २०८२, १९ : २०
मङ्गलबार, ०५ फागुन २०८२

सारांश

  • काठमाडौं महानगरपालिकाले ४५२ ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण गर्दा ११ जनालाई तत्काल अस्पताल लैजानुपर्ने अवस्था फेला पारेको छ।
  • सर्वेक्षणमा ८२ जना ज्येष्ठ नागरिक आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न कठिन अवस्थामा र १९२ जना बिमा नगरिएका पाइए।
  • स्वास्थ्यकर्मीहरूले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षणका लागि घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ४५२ जना ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षण गर्दा ११ जनालाई उपचारका लागि तत्काल अस्पताल लैजानुपर्ने भेटिएको छ ।

२०८ जनालाई नियमित निगरानीको आवश्यकता देखिएको छ । माघ १८ गतेदेखि सुरु गरिएको ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण गर्ने क्रममा यस्तो अवस्था देखिएको हो ।

८४ वटा प्रश्नावलीका आधारमा सर्वेक्षण गरिँदै छ । यसबाट ८२ जना ज्येष्ठ नागरिकहरू कमजोर आर्थिक अवस्थाका कारण औषधोपचार गर्न कठिन अवस्थामा छन् । १९२ जना बिमा नगरिएका ज्येष्ठ नागरिक भेटिए । सर्वेक्षणका क्रममा यसरी भेटिएका ज्येष्ठ नागरिकहरूलाई बिमा गराउन सहजीकरण गर्ने गरिएको छ ।

कार्यक्रमका फोकल पर्सन अस्पताल नर्सिङ निरीक्षक कल्पना श्रेष्ठका अनुसार सर्वेक्षणमा समेटिएका ज्येष्ठ नागरिकलाई ग्रीन, एल्लो र रेड जोनमा वर्गीकरण गरिएको छ । ग्रीन जोन भनेको सुरक्षित अवस्था हो । यो जोनमा भएकालाई धेरै निगरानी र हेरचाह आवश्यक पर्दैन । यल्लो जोनमा रहेकाहरूलाई भने चिकित्सक, स्वास्थ्यकर्मी र परिवारको निगरानी तथा हेरचाह आवश्यक पर्छ । उपचारका लागि तत्काल अस्पताल पठाउनुपर्ने अवस्थाका ज्येष्ठ नागरिकलाई रेड जोनमा राखिएको छ, उनीहरूलाई तत्काल नजिकको स्वास्थ्य संस्थामा रेफर गर्ने गरिएको छ ।

तथ्याङ्कमा समेटिएका ३०२ महिला र १५० पुरुष गरी ४५२ ज्येष्ठ नागरिकमध्ये ४२३ जना परिवारसँगै रहेका फोकल पर्सन श्रेष्ठले जानकारी दिए । २२ जना भने एक्लै बस्ने र ७ जना आफन्त वा सहयोगीका साथमा रहेका पाइएको छ । 

११२ जना पूर्ण रूपमा ओछ्यानमा आश्रित छन् । नियमित ओछ्यानमा परेका कारण १४ जनाको शरीरका विभिन्न ठाउँमा घाउ (ओछ्याने घाउ) भएको छ । ओछ्याने घाउलाई अवस्थाका आधारमा १ देखि ४ ग्रेडसम्म वर्गीकरण गरिएको छ । यो वर्गीकरण अनुसार १२ जनाको घाउ पहिलो ग्रेडको छ । दोस्रो ग्रेडमा १ जना र तेस्रो ग्रेडमा १ जना छन् । सर्वेक्षणमा रहेका स्वास्थ्यकर्मीहरूले ओछ्याने घाउ हुनबाट कसरी बच्ने, भन्ने सिकाउने गर्छन् र घाउ ड्रेसिङ गरिदिन्छन् । आवश्यक भए अस्पतालमा उपचारका लागि समेत रेफर गरिदिन्छन् । 

३२० जनामा उच्च रक्तचाप, १७२ जनामा मधुमेह, १२७ जनामा मुटुको समस्या, ८६ जनामा थाइराइड, १३८ जनामा हड्डीको समस्या देखिएको थियो । ३२ जनालाई डिमेन्सिया भेटिएको थियो भने ७ जनामा पार्किन्सन्स देखिएको थियो । यस्तै ५७ जनामा स्ट्रोक भइसकेको र ११२ जनामा दमको समस्या देखिएको थियो । 

८ जनाको नाकबाट पेटसम्म पाइप (न्याजोग्याष्ट्रिक ट्युब) राखेर खाना दिने गरिएको पाइएको छ । १५ जनामा क्याथेटर (पिसाब फेर्न पाइप) राखिएको छ । उनीहरूलाई न्याजोग्यास्ट्रिक ट्युब र क्याथेटरको हेरचाह कसरी गर्ने भन्ने सिकाउने गरिएको छ ।  

सर्वेक्षणमा शारीरिक र मानसिक स्वास्थ्य, पारिवारिक तथा सामाजिक अवस्था हेरिन्छ । उनीहरूले नियमित प्रयोग गर्ने औषधि, औषधि प्रयोग गर्ने समय तालिका, तौलमा अनायास आएको परिवर्तन, गएको १५ दिनभित्र मन तथा सोचमा आएको परिवर्तन, खानामा रुचि, आफू बस्ने, हिँड्ने तथा अन्य सुरक्षासम्बन्धी अवस्था, लडेको भए एक वर्षमा कति पटक लडेको, कसरी लडेको र यसरी लड्दा भएको चोटपटकबारे विवरण संकलन गरेर बच्ने उपाय सिकाउने गरिएको छ ।

उनीहरू आफैँ हिँड्न सक्छन् कि सक्दैनन् ? सिँढी चढ्न सक्छन् कि सक्दैनन् ? हिँड्दा सहायता चाहिन्छ कि चाहिँदैन? आफैँ लुगा लगाउन, नुहाउन सक्छन् या सक्दैनन्? दिशा पिसाब नियन्त्रण गर्न सक्छन् सक्दैनन् जस्ता अवस्था हेरेर शक्ति परीक्षण गरिने गरिन्छ ।   

ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था सर्वेक्षणका लागि सबै वडाहरूमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । ७० वर्ष माथिका स्वास्थ्य संस्थामा गएर उपचार गर्न नसक्नेलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमलाई वास्तविकतामा आधारित बनाउन तथ्य संकलन र स्वास्थ्य परीक्षणका लागि टोली परिचालन गरिएको हो ।

जसको केही छैन अर्थात् आर्थिक अवस्था कमजोर छ, जसको कोही छैन अर्थात् सम्पत्ति छ, तर सहयोग गर्ने परिवारका सदस्य कोही साथमा छैनन् । साथमा परिवारका सदस्य त छन्, तर आफूजस्तै अशक्त छन् । त्यस्तालाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित उपचार र सर्वेक्षण थालिएको हो । सहरका कतिपय घरहरूमा शारीरिक अशक्तता भएका कारण, दीर्घ रोगका कारण हिँडडुल गर्न नसक्ने तथा स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्नेको स्वास्थ्य जाँच गर्न तथा उपचार गर्न सकिरहेका छैनन् । 

फिल्डमा स्वास्थ्यकर्मीहरूले ज्येष्ठ नागरिकको रक्तचाप, ग्लुकोज, ज्वरो, पल्स, श्वाशप्रश्वाश, रगतमा अक्सिजनको मात्रा, पिसावमा एल्बुमिन र सुगरलगायत जाँच गर्छन् । विगतमा गरिएका उपचार, प्रयोग गर्दै गरेका औषधि, प्रयोग गरेर छोडेका औषधिबारे जानकारी लिने गर्छन् । खानापान, व्यायाम र अन्य दैनिक क्रियाकलापका बारेमा सोधखोज गर्छन् । 

आवश्यकताका आधारमा तत्काल आधारभूत उपचार गर्न स्टेराइल गज, ब्यान्डेज, एन्टिसेफ्टिक ब्यान्डेज, ट्रयाङगुलर ब्यान्डेज क्रेप ब्यान्डेज, एन्टिसेफ्टिक वाइप, कपास, मेडिकल टेप, स्टेराइल ड्रेसिङ् सेट उनीहरूकै साथमा हुन्छ । यस्तै, पाराासिटामोल, आइबुप्रोफेन, एन्टिसेफ्टिक घोल, एन्टासिड ट्याब्लेट, ओरल रिहाइड्रेसन सोलुसन, पोलेको ठाउँमा लगाउने मलम, एलर्जीका लागि एन्टिहिस्टामिन चक्कीसहित औषधि पनि स्वास्थ्यकर्मीको साथमा हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप