मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
अपडेट

पूर्वराजाद्वारा भागबन्डाको राजनीतिको आलोचना, माटो सुहाउँदो व्यवस्थाको वकालत

बुधबार, ०६ फागुन २०८२, १६ : १३
बुधबार, ०६ फागुन २०८२

सारांश

  • पूर्वराजा ज्ञानेन्द्र शाहले भागबन्डाको राजनीति हाबी भएको भन्दै आलोचना गरे।
  • उनले देशको माटो र समाज सुहाउँदो व्यवस्थाको वकालत गर्दै मिलेर काम गर्नुपर्ने बताए।
  • शाहले प्रजातन्त्रमा जनता जागरुक हुनुपर्ने र देशको अस्तित्व संकटमा परेको टिप्पणी गरे।

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा भागबन्डाको राजनीति हाबी भएको भन्दै आलोचना गरेका छन् । बुधबार ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले आलोपालो गरेर सत्ताको भोग गर्ने प्रवृत्तिले देशलाई निकास नदिने भन्दै नेपालको माटो र समाज सुहाउँदो व्यवस्थाको वकालत गरेका छन् ।

शाहले अहिलेको दुखद परिस्थितिमा ‘आलोपालो र भाग लगाएर खाऔँ’ भन्ने सोचले नभई मिलेर काम गरौँ भन्ने कर्तव्यबोधले मात्र मुलुकलाई नयाँ गति दिन सक्ने बताएका हुन् ।

 उनले प्रजातन्त्रमा जनता आफैँ जागरुक हुनुपर्नेमा अहिले कसैलाई खुसी पार्न वा कसैबाट तोकिन बाध्य बाध्यात्मक व्यवस्थाको जञ्जिरमा देश बाँधिएको टिप्पणी गरेका छन् ।
अहिले सिंगो मुलुक अस्वाभाविक छटपटीको भुमरीमा फसेको र देशको अस्तित्व नै संकटमा परेको अनुभूति आम नेपालीले गरिरहेको पूर्वराजाको भनाइ छ । 

उनले विगतमा भएका अनेकौँ आन्दोलन र परिवर्तनले नेपाल र नेपालीलाई वास्तवमा के दियो भन्ने आत्मसमीक्षा गर्ने बेला आएको बताए । एउटा नेपालीले अर्को नेपालीलाई बैरी ठान्ने अवाञ्छित संस्कृतिको विकास भएको भन्दै उनले यसलाई देशको दुर्भाग्यपूर्ण अवस्थाको संज्ञा दिएका छन् ।

शाहले देशको भू–बनोट तथा समाजको प्रकृति सुहाउँदो व्यवस्था र प्रणालीले मात्र दिगो र सकारात्मक परिणाम दिने जिकिर गरे । 

उनले अरुको भरमा परेर अक्करमा नपर्न समेत राजनीतिक नेतृत्व र जनतालाई सचेत गराएका छन् । विश्वसामु नेपालीको शिर उच्च हुने व्यवस्था नै नेपाललाई सुहाउने उनको तर्क छ । 

जुनसुकै व्यवस्थाका राम्रा पक्ष लिनुपर्ने तर खराब पक्षलाई त्याग्नुपर्ने भन्दै उनले विश्वका कतिपय देशले पहिला आफ्नो देश र जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर प्रजातन्त्रको अभ्यास गरिरहेको समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप