अमेरिका–इरान तनावबिच इरानद्वारा सैन्य स्थलमा कंक्रीट निर्माण
काठमाडौँ । अमेरिका र इरानबिच तनाव चर्किरहेका बेला इरानले आफ्नो संवेदनशील सैन्य क्षेत्रमा नयाँ संरचनामाथि कंक्रीट ढाल निर्माण गरेको उपग्रह तस्बिरहरूले देखाएका छन् ।
हालै सार्वजनिक भएका तस्बिरअनुसार तेहरानदेखि करिब ३० किलोमिटर दक्षिणपूर्वमा रहेको पार्चिन परिसरमा रहेको नयाँ केन्द्र माटोले पुरेर सुरक्षित बनाइएको छ ।
विशेषज्ञहरूका अनुसार यो स्थान सन २०२४ मा इजरायलले आक्रमण गरेको क्षेत्रसँग सम्बन्धित मानिएको छ । तस्बिरहरूले त्यतिबेलाको क्षतिपछि इरानले पुनर्निर्माण गर्दै थप सुरक्षा उपाय अपनाएको सङ्केत गरेका छन् । सन् २०२५ अक्टोबरमा देखिएको नयाँ संरचना फेब्रुअरी १६ सम्म आइपुग्दा कंक्रीट संरचनाले पूर्ण रूपमा ढाकिएको देखिएको छ ।
इन्ष्टिच्यूट फर साइन्स एन्ड इन्टरनेशनल सेक्युरिटी (आईएसआईएस)ले जनवरी २२ को विश्लेषणमा उक्त स्थानलाई टालेघान–२ भन्दै त्यस वरिपरि कंक्रीट सार्काेफागस निर्माण भइरहेको जनाएको थियो । आईएसआईएसका संस्थापक डेविड अलब्राइटका अनुसार यसले हवाई आक्रमणबाट महत्त्वपूर्ण सुरक्षा प्रदान गर्न सक्छ ।
यसैबिच उपग्रह तस्बिरहरूले इस्फाहनस्थित आणविक परिसरमा सुरुङका प्रवेशद्वार पुरिएको र पहाडमुनिको अर्काे सुरुङ थप मजबुत बनाइएको देखाएका छन् । गत वर्षको युद्धमा अमेरिकाले इजरायलको पक्षमा उभिँदै इरानका केही युरेनियम समृद्धि केन्द्रमा आक्रमण गरेको थियो ।
पश्चिमा गुप्तचर निकायहरूले दुई दशकअघि पार्चिनमा आणविक विस्फोटसम्बन्धी परीक्षण भएको आशङ्का व्यक्त गर्दै आएका छन् । तर तेहरानले सधैँ आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण नागरिक प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आएको छ । गत वर्ष अमेरिकी गुप्तचर तथा संयुक्त राष्ट्रसङ्घीय परमाणु निगरानी निकायले पनि इरानले परमाणु हतियार बनाइरहेको ठोस प्रमाण फेला नपारेको जनाएका थिए ।
यसैबिच अमेरिका र इरानबिच जेनेभामा भएको वार्तामा केही मार्गदर्शक सिद्धान्तमा सहमति भए पनि ठोस उपलब्धि हासिल हुन सकेन । अमेरिकाले वार्ता असफल भए सैन्य विकल्प खुला रहने चेतावनी दिँदै आएको छ ।
उता इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानको क्षेप्यास्त्र कार्यक्रम र क्षेत्रीय प्रभावलाई समेत सम्झौतामा समेट्न दबाब दिँदै आएका छन् । विश्लेषकहरूका अनुसार सैन्य तयारी र कूटनीतिक वार्ता सँगसँगै अघि बढेकाले क्षेत्रीय तनाव अझ संवेदनशील बनेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण