‘ग्रेज एनाटोमी’ का अभिनेता एरिक डेनको निधन
सारांश
- प्रख्यात अभिनेता एरिक डेनको ५३ वर्षको उमेरमा निधन भयो, उनी लामो समयदेखि ALS रोगबाट पीडित थिए।
- उनले ALS रोगको बारेमा जनचेतना जगाउन र पीडितहरूको आवाज बुलन्द गर्न आफ्नो जीवन समर्पित गरेका थिए।
- डेनले 'ग्रेज एनाटोमी' र 'युफोरिया' जस्ता चर्चित शृङ्खलाहरूमा अभिनय गरेका थिए।
लस एन्जलस । चर्चित अमेरिकी टेलिभिजन शृङ्खला ‘ग्रेज एनाटोमी’ र ‘युफोरिया’ का प्रख्यात अभिनेता एरिक डेनको ५३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि एमियोट्रोफिक लेटरल स्क्लेरोसिस (एएलएस) जस्तो गम्भीर रोगसँग लडिरहेका डेनको बिहीबार दिउँसो निधन भएको परिवारले पुष्टि गरेको हो।
डेनले एक वर्षअघि मात्र आफूलाई यो घातक नसा सम्बन्धी रोग लागेको खुलासा गरेका थिए। पछिल्लो समय उनले आफ्नो बाँकी जीवन यस रोगका बारेमा जनचेतना जगाउन र पीडितहरूको आवाज बुलन्द गर्न समर्पित गरेका थिए। उनको परिवारले जारी गरेको विज्ञप्ति अनुसार डेनको अन्तिम क्षणमा उनकी श्रीमती रेबेका गेहार्ट र दुई छोरीहरू बिली र जर्जिया साथमै थिए।
क्यालिफोर्नियामा जन्मिएका डेनले सन् १९९३ मा ‘द वन्डर इयर्स’ बाट अभिनय यात्रा सुरु गरेका थिए। तर उनलाई विश्वव्यापी चर्चा भने ग्रेज एनाटोमीको डाक्टर मार्क स्लोन (डा. म्याकस्टिमी) को भूमिकाले दिलाएको थियो। त्यसपछि उनले एचबीओको युवा केन्द्रित ड्रामा ‘युफोरिया’ मा काल ज्याकोब्सको भूमिका निभाएका थिए। उनले ‘द लास्ट सिप’, ‘चार्म्ड’ जस्ता चर्चित शृङ्खलाका साथै ‘मार्ली एण्ड मी’ र ‘भ्यालेन्टाइन्स डे’ जस्ता सफल चलचित्रमा पनि काम गरेका थिए।
गत वर्ष गुड मर्निङ अमेरिकालाई दिएको एक अन्तर्वार्तामा डेनले आफ्नो रोगप्रति निकै आक्रोश व्यक्त गरेका थिए। सानै उमेरमा बुबा गुमाएका उनले आफ्ना छोरीहरूलाई पनि सानैमा छोडेर जानुपर्ने डरले आफूलाई विक्षिप्त बनाएको बताएका थिए। एएलएस एक यस्तो घातक रोग हो जसले शरीरका मांसपेशीहरूलाई बिस्तारै पक्षाघात गराउँछ र बिरामीले बोल्ने, हिँड्ने र श्वास फेर्ने क्षमता समेत गुमाउँदै जान्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण