बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चुनावी घरदैलो

काठमाडौं-३ : कुलमानलाई मतदाताको मौन आश्वासन

आइतबार, १० फागुन २०८२, १८ : १९
आइतबार, १० फागुन २०८२

सारांश

  • काठमाडौं-३ मा उम्मेदवार कुलमान घिसिङले घरदैलो अभियान सुरु गरे, मतदातासँग मत मागे।
  • कुलमानलाई स्थानीय नेता-कार्यकर्ताले खादामाला लगाए, मतदाताले साथ दिने आश्वासन दिए।
  • मतदाताले कुलमानलाई विगतमा गरेको कामको प्रशंसा गर्दै यसपालि मत दिने प्रतिबद्धता जनाए।

काठमाडौं । आइतबार बिहान ८ बजे, काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने गोकर्णेश्वर नगरपालिका-८ बेंसीगाउँ छहारी क्लब छेउमा एउटा बोलेरो जीप रोकियो । बोलेरोभित्र घन्किरहेको थियो यस्तो गीत-

‘देश विकासमा दरो सबैको प्यारो
नेपाली आमाको छोरो
देशलाई लोडसेडिङ मुक्त बनाई 
काम नगर्ने ठेक्का तोडी
कुलमान घिसिङ आयो’ 

गीतले स्पष्ट जनाउ दियो कुलमान घिसिङ आउँदैछन् । उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जामन्त्री घिसिङ काठमाडौं-३ मा उम्मेदवार बनेका छन् । तोकिएको समयभन्दा केही ढिलो उनी बेंसीगाउँ छहारी क्लबमा आइपुगे, जहाँ एक घण्टादेखि उनेपाका कार्यकर्ता उनलाई कुरिरहेका थिए । 

Kulman Ghising Election Campaign5

कुलमान आउनुअघिसम्म उनीहरू छेउको चियापसलमा चिया-नास्ता गर्दैथिए भने कोही कुलमान घिसिङ चाँडै आउने भन्दै माइकिङ गरिरहेका थिए । केही कार्यकर्ता मतदातालाई दिन नमुना मतपत्र र कुलमानको प्रतिवद्धता–पत्र मिलाउन व्यस्त थिए । 

कुलमानको आगमनसँगै सबैजना एकै ठाउँमा जम्मा भए । कुलमानलाई अलमल गरेर बस्ने समय थिएन । बेंसीगाउँ छहारी क्लबबाट घरदैलो अभियानमा निस्कने तयारी भयो । उज्यालो नेपाल पार्टीका स्थानीय नेता-कार्यकर्ताले कुलमानलाई खादामाला लगाइदिए । 

क्लब छेउमा राखिएको उज्यालो नेपालको चुनाव चिह्न चिमबाट ‘शुभसाइत’ गरेसँगै कुलमानको टोली निस्कियो । त्यहीँबाट कुलमानले नजिकको पसलबाट मतदातासँग मत माग्न सुरु गरे । उनीसँग करिब २० देखि २५ जना जति नेता-कार्यकर्ता घरदैलोमा सरिक भएका थिए । केही समयपछि सहभागिताको संख्या अरू बढ्दै गयो । कुलमान हात जोड्दै ‘नमस्कार है नमस्कार, यसपालि चिममा भोट है’ भन्दै मत माग्दै हिँडे ।

Kulman Ghising Election Campaign4

उज्यालो नेपाल पार्टीका स्थानीय नेता-कार्यकर्ता कुलमानको निर्वाचन प्रतिबद्धतापत्र र नमुना मतपत्र बाँड्दै हिँडे । नमुनापत्र बाड्ँदै अन्य पार्टीको भन्दा फरक विषय सुनिथ्यो । अन्य पार्टीले प्रत्यक्ष र समानुपातिक एउटै चिह्नमा मतदातासँग मत माग्ने गर्छन् । तर उनेपाले दुईवटा चिह्नमा माग्नु परिरहेको छ । उनीहरु मतदातालाई भन्दै थिए- ‘हाम्रो दुईवटा चुनाव चिह्न छ । चिम र बाँसुरी । चिम चुनाव चिह्न समानुपातिकमा छैन । हामीले पाएनौं । समानुपातिक बाँसुरीमा है । बिर्सनु होला ।‘

कुलमानसँगै घरदैलोमा सरिक जोसिला-जोसिला कार्यकर्ता बिचबिचमा नारा घन्काइहाल्थे– ‘कुलमान घिसिङ…,   भोट के मा ?’
 
कुलमानको घरदैलोमा उनलाई हेर्न र भेटेर फोटो खिच्नेको भिड देखिन्थ्यो । सडकमा हिँड्दै गरेका बाइक रोकेर हात मिलाउने र यसपालिको मत दिने आश्वासन दिने धेरै देखिए । कुलमान घरदैलोमा आउने सुनेकाले दुई घण्टासम्म कुरेर बस्नेहरु पनि भेटिए ।

कुलमानका स्थानीय नेता-कार्यकर्ताले मतदाता चिनाउँदै कुलमानलाई अघि बढाए । घरदैलोमा मत माग्न आएका उम्मेदवार कुलमानलाई घरको बार्दली र छतबाटै हात हल्लाउने र साथ दिने आश्वासन दिने मतदाता काठमाडौं–३ मा देखिए । 

एक मतदाताले भने, ‘धेरै–धेरै शुभकामना । यसपालि काठमाडौं –३ मत परिवर्तन गर्ने कुरा छ । कुलमान भेट्नलाई दुई घण्टादेखि कुरिरहेका थियौं । ढुक्क हुनुस् । हामी भोट दिन्छौं ।’

Kulman Ghising Election Campaign

विगतमा मत दिएकाहरुले काम नगरेको गुनासो गर्दै उनले कुलमान घिसिङले काम गर्छन् भन्ने विश्वास रहेको बताए । ‘कुलमानले विगतमा गरेको काम देखिएको छ । काठमाडौं–३ मा काम गर्ने विश्वास छ । कुलमानलाई मत दिएर जिताउनुपर्छ भनेर सबैलाई भन्छौं ।’

घरदैलोकै क्रममा एक महिला मतदाताले कुलमान देशको सान भएको भन्दै सबैलाई नारा लगाउन लगाइन् । ‘कुलमानको पार्टी चिन्दिन । कुलमान व्यक्तिलाई मात्रै चिन्छु । कुलमानले मुलुकमा लोडसेडिङ हटाएकाले काठमाडौं–३ का जनताले जिताउनुपर्छ,’ ती मतदाताले भनिन् । 

घरदैलोको क्रममा कुलमानलाई मतदाताले कुनै प्रश्न गरेनन् । सर्वसाधारण उनलाई हेर्थे र भेटेर फोटो खिच्थे । त्यसक्रममा कुलमान भन्थे- ‘भोट दिनु होला, भोट माग्न आएँ ।‘

Kulman Ghising Election Campaign3

मतदाताले धेरै ठाउँमा उम्मेदवारको प्रतिबद्धता, योजना र एजेन्डा खोजेको देखिएन । कुलमानलाई प्रश्न भन्दा पनि बढी मत दिने आश्वासन दिएको देखियो । 

कुलमान मतदाताको आश्वासनले निर्वाचन जित्नेमा ढुक्क रहेको बताउँछन् । रातोपाटीसँग उनले भने, ‘काठमाडौं–३ का मतदाताको समर्थन पाएको छु । म काम गरेर आएको मान्छे हो । जनताले काम गर्ने मान्छेलाई समर्थन गर्ने विश्वास छ ।’ उनले पुराना पार्टीको विकल्पको रुपमा उज्यालो नेपाल पार्टी मात्रै रहेको दाबी गर्दै काठमाडौं–३ मात्रै नभएर देशैभर जिताउने विश्वास रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप