मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गण्डकीका मुख्यमन्त्री कामको फाइल लिएर कांग्रेसलाई भोट माग्दै

सोमबार, ११ फागुन २०८२, ११ : ०१
सोमबार, ११ फागुन २०८२

सारांश

  • गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखा-२ मा कांग्रेसका उम्मेदवारका लागि मत मागेका छन्।
  • मुख्यमन्त्री पाण्डेले गोरखा जिल्लामा विनियोजित बजेटको विवरण देखाउँदै कांग्रेसलाई मत दिन आग्रह गरे।
  • उनले अघिल्लो निर्वाचनमा गठबन्धनका कारण मत हाल्न नपाएकाहरूलाई यसपालि ढुक्क भएर भोट हाल्न आग्रह गरे।

पोखरा । दुई वटा रेकर्ड फाइलमा प्रदेश सरकारले विगत तीन वर्षमा जिल्लामा ल्याएको बजेटको फेहरिस्त छ । भएका कामका सूची छन् । २०७९ सालमा प्रदेश सभा सदस्य निर्वाचित गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे त्यही फाइल बोकेर गोरखा–२ मा कांग्रेसका उम्मेदवारका लागि मत मागिरहेका छन् । 
जहाँ नेपाली कांग्रेसले प्रकाशचन्द्र दवाडीलाई उम्मेदवार बनाएको छ । दवाडी २०७४ मा प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनै दवाडीका लागि पाण्डे मत माग्दै घरदैलो र कोणसभामा सहभागी भएका हुन् ।

‘प्रदेश सरकारको रातो किताबमा गोरखा जिल्लामा विनियोजन गरिएको बजेटको एक–एक हिसाब मसँग छ । तपाईँहरूको सबै माग पूरा भयो त म भन्दिनँ, तर धेरै पूरा भइसकेको छ । गोरखामा मात्र होइन, प्रदेशभर भएको छ,’ सूची देखाउँदै मुख्यमन्त्री पाण्डे भन्छन्, ‘यो कांग्रेसका प्रतिनिधिको नेतृत्वमा भएको हो, त्यसैले बाँकी काम गर्न प्रतिनिधि सभामा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउनुहोस् ।’

सरकार बनाउन कांग्रेसलाई बहुमत आवश्यक भएकाले समानुपातिकतर्फ पनि रुखमै भोट हाल्न उनको आग्रह छ ।

उनी निर्वाचन आयोगबाट अनुमति लिएर चुनावी कार्यक्रममा सहभागी भएका हुन् । अघिल्लो निर्वाचनमा गठबन्धनका कारण काँग्रेसमा मत हाल्न नपाएको भन्दै उनले यसपालि निसंकोच भोट हाल्ने वातावरण बनेको बताए । ‘धेरै साथीहरूको रुखमा भोट हाल्न पाइएन भन्ने गुनासो अहिले हटेको छ,’ उनले भने, ‘नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दवाडी उम्मेदवार हुनुहुन्छ ।’

प्रदेश सरकारको नेतृत्व आफूले गरेपछि आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ मा सडक, खानेपानी, सिँचाइ, सामाजिक, पर्यटन, स्वास्थ्यलगायत सबै क्षेत्रमा विनियोजन गरिएको बजेटको विस्तृत विवरण बोकेर मतदाताकहाँ पुगेका उनले काम हेरेर कांग्रेसका प्रतिनिधिलाई मत दिन अपिल गरे ।

‘तपाईँले गरेको मतदानबाट मेरा क्रियाकलापका कारण कसैले पनि शिर निहुराएर हिँड्नुपरेको छैन । भोलिका दिनमा पनि हिँड्नुपर्ने छैन,’ उनले थपे, ‘त्यही शिर निहुराउन नपर्ने काम हाम्रा उम्मेदवार प्रकाशचन्द्र दवाडीले पनि गर्नेछन् । त्यही विश्वासका साथ रुखमा मतदान गर्नुहोस् ।’

गोरखा–२ (२) बाट प्रदेश सभामा निर्वाचित हुँदा आफूले गरेका बाचा पूरा हुने क्रममा रहेको भन्दै उनले मुख्य सडकलाई बाह्रै महिना गाडी चल्ने बनाउने काम अन्तिम चरणमा पुगेको बताए । दवाडीले प्रदेश सभामा निर्वाचित भएपछि सरकारबाट प्राप्त सेवा–सुविधामा थपिएको रकम समाजसेवामा खर्च गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप