सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
निर्वाचन चर्चा

जेनजी आन्दोलनबारे मुख्य चार दलका घोषणापत्रमा के छ ?

मङ्गलबार, १२ फागुन २०८२, १० : ०९
मङ्गलबार, १२ फागुन २०८२

सारांश

  • राजनीतिक दलहरूले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेका छन्।
  • विभिन्न दलहरूले जेनजी आन्दोलनलाई फरक-फरक तरिकाले व्याख्या गरेका छन्, जसमा एमालेको विश्लेषण लामो छ।
  • कांग्रेसले मानवीय क्षति र हिंसाका घटनाहरूको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण मध्यावधि निर्वाचन हुन लागेको हो । नत्र ०७९ मंसिरमा सम्पन्न निर्वाचनपछि निर्माण भएको प्रतिनिधिसभाको कार्यकाल ०८४ मंसिरमा सकिन्थ्यो । 

जुन आन्दोलनका कारण अहिले निर्वाचन हुने अवस्था निर्माण भयो, त्यो आन्दोलनलाई राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा फरक–फरक तरिकाले अथ्र्याएका छन् । मुख्य चार राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनबारे फरक फरक तरिकाले घोषणापत्रमा व्याख्या र विश्लेषण गरेका छन् ।

जेनजी आन्दोलन हुने बेलासम्म प्रधानमन्त्री रहेका केपी शर्मा ओली र उनको पार्टी नेकपा एमालेले लामै विश्लेषण र व्याख्या चुनावी घोषणापत्रमा गरेको छ । घोषणापत्रमा पार्टी अध्यक्ष ओलीको सन्देशमा र एमालेले बनाउँछ भन्ने शीर्षकमा आन्दोलनबारे व्याख्या गरेको छ ।

ओलीले सन्देशमा ३ स्थानमा आन्दोलनबारे चर्चा गरेका छन् । ओलीले सर्वप्रथम भदौ २३ र २४ को आन्दोलनलाई अकल्पनीय भनेका छन् ।

Oli 1

दोस्रोमा ओलीले ६ बुँदामा जेनजी आन्दोलबारे प्रश्न तेर्‍स्याएका छन् । र भनेका छन्, ‘भदौ २३ को घटना स्वतःस्फूर्त थियो कि तयारीसहितको षडयन्त्र ? या भदौ २४ को विध्वंशको लागि आधार तयार पार्न घूसपैठियाहरूले भड्काएको हिंसा ?’

Oli 2

साथै ओलीले घोषणापत्रमा आफ्नो सन्देशमा देशैभर भदौ २४ गते गरिएको महाविनाश अप्रत्यासिछ घटना नभएको समेत उल्लेख गरेका छन् । उनले त्यो घटनालाई नेपाल राष्ट्रको रार्वभौमसत्ता र यसको अस्तित्व मेट्न योजनाबद्ध रूपमा गरिएको आक्रमण भएको ओलीको भनाइ थियो ।

Oli 3

ओलीको सन्देशमा मात्रै होइन एमालेले घोषणापत्रको एमालेले बनाउँछ भन्ने शीर्षकमा ध्वस्त संरचनाहरूलाई जोडेर सिंगो राष्ट्रको पुनर्उत्थान गरिछाड्ने उल्लेख गरेको छ ।

UML

नेपाली कम्युनिस्ट पार्टीले आन्दोलनलाई त्यति वास्ता दिएको छैन । ‘पार्टीको चुनावी प्रतिबद्धतापत्रको नेपाली कम्युनिस्ट पार्टी नै किन’ भन्ने शीर्षकमा थोरै मात्रै उल्लेख गरेको छ । नयाँ र पपुलिस्ट शक्तिलाई भदौ २४ गतेको विध्वंससँग जोड्नुबाहेक अरू लेखेको छैन ।

Nekapa

नेपाली कांग्रेसले जेनजी आन्दोलनका क्रममा भएका मानवीय क्षतिलगायत गम्भीर मानवअधिकार उल्लंघन तथा हिंसाजन्य ज्यायतीका घटनाहरूको यथाशीघ्र स्वतन्त्र, निष्पक्ष छानबिनमार्फत सत्य अन्वेषण तथा न्याय निरुपण गरिनुपर्ने उल्लेख गरेको छ । कांग्रेसले दोषीलाई कानुनी कठघरामा उभ्याउने प्रतिबद्धतासमेत जनाएको छ । ‘घटनामा संलग्न दोषीहरूलाई कानुनको कठघरामा उभ्याई पीडितलाई न्याय सुनिश्चित गर्ने विषयमा नेपाली कांग्रेसको अविचलित प्रतिबद्धता छ,’ कांग्रेसले घोषणापत्रमा लेखेको छ ।

Nepali Congress

राष्ट्रिय स्वतन्त्र पार्टीले घोषणापत्रमा भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न गठित आयोगको सुझाव र सिफारिसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।

RSP

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप