सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

युद्ध अन्त्यका लागि कुनै पनि सम्झौता गर्न कुनै हतार छैन: विदेशमन्त्री लाभरोभ

बिहीबार, १४ फागुन २०८२, १८ : ५३
बिहीबार, १४ फागुन २०८२

मस्को । रुसले युक्रेनसँगको युद्ध अन्त्यका लागि कुनै पनि सम्झौता गर्न आफूलाई हतार नभएको स्पष्ट पारेको छ। रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बिहीबार सरकारी सञ्चारमाध्यमहरूसँग कुरा गर्दै मस्कोले कुनै समयसीमा तोकेर वार्ता नगरेको र आफ्ना प्रक्रियागत कार्यहरू पूरा गर्नमा मात्र केन्द्रित रहेको बताएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा सुरु भएको शान्ति प्रक्रियाको सिलसिलामा दुवै देशका वार्ताकारहरू जेनेभा पुगेकै बेला रुसको यस्तो कठोर प्रतिक्रिया आएको हो। अमेरिकी मध्यस्थतामा युद्धरत दुई मुलुकका प्रतिनिधिबीच पटक-पटक छलफल भए पनि ठोस सहमति जुट्न सकेको छैन।

रुसले आफ्ना क्षेत्रीय र राजनीतिक मागहरूमा कडा अडान राख्दै आएको छ, जसलाई युक्रेनले 'आत्मसमर्पण' को संज्ञा दिँदै अस्वीकार गरिरहेको छ। रुसका उच्च अधिकारीहरूले तत्कालै कुनै सम्झौता हुने सम्भावनालाई समेत खण्डन गरेका छन्। विदेशमन्त्री लाभरोभले रुससँग कुनै समयसीमा नरहेको र आफ्ना उद्देश्यहरू पूरा नभएसम्म प्रक्रिया जारी रहने बताएका हुन्।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि शान्ति प्रक्रिया कुन चरणमा पुगेको छ भनेर अहिले नै पूर्वानुमान गर्नु ठूलो गल्ती हुने टिप्पणी गरेका छन्। उनले हतारमा कुनै निष्कर्ष निकाल्नुभन्दा प्रक्रियाको गाम्भीर्यलाई बुझ्न जरुरी रहेको उल्लेख गरे।

यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ताका लागि बारम्बार जोड दिँदै आएका छन्। रुसले कब्जा गरेको पूर्वी युक्रेनी भू-भाग आफ्नो हुनुपर्ने अडान राखेको छ भने युक्रेनले आफ्नो भूमि त्याग्नु भनेको रुसलाई भविष्यमा थप आक्रमणका लागि हौसला दिनु सरह हुने बताउँदै आएको छ।

प्रवक्ता पेस्कोभले वार्ता टोलीहरू बीच पूर्ण सहमति नभई र निष्कर्षको सुनिश्चितता नहुँदासम्म रुस शिखर वार्ताका लागि तयार नहुने स्पष्ट पारेका छन्। रुसले केवल दुवै पक्षको सम्झौतामा हस्ताक्षर गर्ने अन्तिम चरणमा मात्र उच्चस्तरीय भेटघाट सम्भव हुने सङ्केत दिएको छ। यसले गर्दा लामो समयदेखि जारी युक्रेन-रुस द्वन्द्व तत्कालै समाधान हुने छाँटकाँट देखिएको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप