सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दर्ता नभएका युट्युब–फेसबुक पेजबाट फैलिएको दुष्प्रचारमाथि काउन्सिलको कडा निगरानी

बिहीबार, १४ फागुन २०८२, १९ : ४०
बिहीबार, १४ फागुन २०८२

सारांश

  • प्रेस काउन्सिलले निर्वाचनलाई लक्षित गरी सामाजिक सञ्जालमा फैलाइने भ्रामक सामग्रीप्रति ध्यानाकर्षण जनाएको छ।
  • निर्वाचन आयोगसँगको समन्वयमा अनुगमन थालिएको र आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गरिने काउन्सिलले जनाएको छ।
  • काउन्सिलले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत रहन र आचारसंहिता विपरीतका गतिविधि नगर्न आग्रह गरेको छ।

काठमाडौँ । प्रेस काउन्सिल नेपालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मिडियाको रूपमा दर्ता वा अभिलेखीकरण नभई सामाजिक सञ्जालमार्फत सञ्चालन भइरहेका प्लेटफर्मबाट फैलाइने भ्रामक तथा द्वैषपूर्ण सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार काउन्सिलले विज्ञप्ति जारी गर्दै युट्युब च्यानल, फेसबुक पेज तथा रिलमार्फत निर्वाचनमा सहभागी राजनीतिक दल तथा उम्मेदवारलाई होच्याउने, अपमान गर्ने, दुष्प्रचार गर्ने तथा मिथ्या, गलत र भ्रामक सूचना प्रवाह गर्ने गतिविधि बढ्दै गएको जनाएकाे हाे ।

यस सम्बन्धमा काउन्सिलमा प्राप्त उजुरीका आधारमा निर्वाचन आयोगसँग समन्वय भई अनुगमन प्रक्रिया अघि बढाइएको जनाइएको छ। विशेष अनुगमनका क्रममा कानुनअनुसार दर्ता वा अभिलेखीकरण नगरी सञ्चालन गरिएका सामाजिक सञ्जालबाट प्रचलित निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन भएको देखिएको काउन्सिलले जनाएको छ ।

काउन्सिलले त्यस्ता प्लेटफर्मलाई नोटिसमा राख्दै आचारसंहिता विपरीत सामग्री तत्काल स्थगन गर्न, साथै नियमानुसार दर्ता तथा अभिलेखीकरण गरी कानुन, आचारसंहिता र पत्रकारिताका पेसागत मूल्य–मान्यताभित्र रही सामग्री सम्प्रेषण गर्न निर्देशन दिएको छ ।

निर्देशनको अवज्ञा गर्दै पटक–पटक नियमविपरीत सामग्री प्रकाशन तथा प्रसारण गर्ने सञ्जालविरुद्ध अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरी तथा साइबर ब्युरोलगायत निकायमा पत्राचार गरिएको काउन्सिलले स्पष्ट पारेको छ ।

काउन्सिलले निर्वाचनजस्तो संवेदनशील समयमा निर्वाचनमा नकारात्मक प्रभाव पार्ने, राजनीतिक दल तथा उम्मेदवारलाई लक्षित गरी दुष्प्रचार, अपमान, भ्रामक टिकाटिप्पणी तथा द्वैषपूर्ण सूचना प्रवाह गर्ने कार्य कानुन र निर्वाचन आचारसंहिताविपरीत हुने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत रहन आग्रह गरेको छ। यस्ता गतिविधिमा संलग्न भएमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ ।

सूचना काउन्सिलका सहप्रवक्ता तथा सूचना अधिकारी रामसरण रण बोहराले पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्न र नगराउन सबै सरोकारवालालाई अनुरोध गरे । 

638312565_888183903836342_3806625610757507573_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप