एमोरिमलाई हटाउँदा युनाइटेडलाई १६ मिलियन पाउण्ड नोक्सानी
सारांश
- म्यानचेस्टर युनाइटेडले पूर्व प्रशिक्षक रुबेन एमोरिमलाई बर्खास्त गर्दा १६ मिलियन पाउण्ड खर्च गरेको पुष्टि गरेको छ।
- एमोरिमको १४ महिने कार्यकालमा टोलीको प्रदर्शन निकै कमजोर रह्यो, जसमा ६३ खेलमध्ये २५ खेलमा मात्र जित हासिल भयो।
- एमोरिमको बर्खास्तीपछि माइकल क्यारिकले अन्तरिम प्रशिक्षकको रूपमा कार्यभार सम्हालेपछि टोलीले राम्रो प्रदर्शन गर्दै च्याम्पियन्स लिगमा छनोटको सम्भावना बढाएको छ।
ओल्ड ट्राफोर्ड । विश्वप्रसिद्ध फुटबल क्लब म्यानचेस्टर युनाइटेडले आफ्ना पूर्व प्रशिक्षक रुबेन एमोरिमलाई बर्खास्त गर्दा क्लबलाई झण्डै १६ मिलियन पाउण्ड खर्च हुने पुष्टि गरेको छ। गत जनवरी ५ मा लिड्स युनाइटेडसँगको १–१ को बराबरीपछि क्लबको नेतृत्वमाथि सार्वजनिक रूपमै आक्रोश पोखेका ४१ वर्षीय पोर्चुगिज प्रशिक्षक एमोरिमलाई क्लबले तत्कालै पदमुक्त गरेको थियो।
न्युयोर्क स्टक एक्सचेन्जमा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार क्लबले एमोरिम र उनको कोचिङ टोलीलाई तिर्नुपर्ने सम्भावित दायित्वका लागि १५.९ मिलियन पाउण्डको व्यवस्था गरेको हो। यो आर्थिक भार एमोरिमलाई क्लब भित्र्याउँदा लागेको खर्चभन्दा निकै बढी हो।
सन् २०२४ को नोभेम्बरमा पोर्चुगिज क्लब स्पोर्टिङबाट ओल्ड ट्राफोर्ड ल्याउँदा युनाइटेडले ११ मिलियन पाउण्ड खर्चिएको थियो। त्यसअघिका प्रशिक्षक एरिक टेन ह्यागलाई हटाउँदा लागेको १०.४ मिलियन पाउण्ड समेत जोड्दा प्रशिक्षक परिवर्तनको यो शृङ्खलाले क्लबलाई कुल ३७.३ मिलियन पाउण्डको भारी बोकाएको छ। एमोरिमको १४ महिने कार्यकाल सन् २०१४ मा डेभिड मोयसपछिको सबैभन्दा छोटो स्थायी कार्यकाल बनेको छ।
एमोरिमको प्रशिक्षणमा युनाइटेडको प्रदर्शन इतिहासकै कमजोर रह्यो। उनले सम्हालेका ६३ खेलमध्ये टोलीले २५ खेलमा मात्र जित निकाल्न सक्यो। अघिल्लो सिजन प्रिमियर लिगको १५औँ स्थानमा सीमित हुनु युनाइटेडका लागि सन् १९७३–७४ पछिको सबैभन्दा खराब नतिजा थियो।
यति मात्र होइन, टोलीले युरोपा लिगको फाइनल हार्नुका साथै काराबाओ कपमा चौथो डिभिजनको टोली ग्रिम्सबीसँग पेनाल्टी सुटआउटमा पराजित भएर लज्जास्पद बहिर्गमन बेहोरेको थियो। फुटबल निर्देशक जेसन विल्कोक्ससँगको खराव सम्बन्ध र सार्वजनिक आलोचना नै उनको बर्खास्तीको मुख्य कारण बन्यो।
एमोरिमको बिदाइपछि अन्तरिम प्रशिक्षकका रूपमा आएका पूर्व खेलाडी माइकल क्यारिकले भने टोलीको भाग्य बदलिदिएका छन्। क्यारिकको नेतृत्वमा खेलिएका ६ खेलमध्ये ५ खेल जित्दै युनाइटेड अहिले प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। यसले अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने क्लबको सम्भावनालाई बलियो बनाएको छ।
आर्थिक रूपमा भने क्लबले दोस्रो त्रैमासिक अवधिमा ३२.६ मिलियन पाउण्ड नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण