मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

नीति निर्माण र विकासको सन्तुलन मिलाउन सक्ने विज्ञता मसँग छ : डा. कृष्णराज पन्त

शनिबार, १६ फागुन २०८२, १४ : ५०
शनिबार, १६ फागुन २०८२

सारांश

  • चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढेको छ, जसमा डा. कृष्णराज पन्त उम्मेदवार छन्।
  • पन्तले आफूलाई समस्या समाधान गर्न सक्ने विज्ञको रूपमा प्रस्तुत गर्दै राष्ट्रिय नीति निर्माण र स्थानीय विकासलाई जोड दिने बताए।
  • उनले मतदातालाई परिवर्तन र विज्ञता खोजिरहेको र आफूलाई एकपटक काम गर्ने मौका दिन आग्रह गरे।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी चितवन क्षेत्र नम्बर १ मा पनि बढेको छ । यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट डा. कृष्णराज पन्त उम्मेदवार छन् ।

विकास निर्माणमा स्पष्ट खाका र राष्ट्रिय राजनीतिका पेचिला मुद्दाहरूमा गहिरो बुझाइ राख्ने पन्तले आफूलाई केवल एक राजनीतिक कार्यकर्तामात्र नभई ‘समस्याको समाधान दिन सक्ने विज्ञ’ का रूपमा प्रस्तुत गरिरहेका छन् ।

प्रस्तुत छ, चुनावी अभियान, भावी एजेन्डा र जित्ने आधारका विषयमा केन्द्रित रहेर डा. पन्तसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश–

  • चुनावी अभियानमा हुनुहुन्छ, प्रचार प्रसारको काम र मतदाताहरूसँगको भेटघाट कसरी अगाडि बढिरहेको छ ?

हो, तपाईंले भनेजस्तै चुनावी अभियान निकै सघन रूपमा अगाडि बढिरहेको छ । सुरुमा हामीले पार्टी पङ्क्तिभित्रको आन्तरिक तयारी र रणनीतिक योजना निर्माणमा समय बितायौँ। अहिले हामी पूर्ण रूपमा जनताको घरदैलोमा केन्द्रित छौँ ।

म आफू एक अध्ययन–अनुसन्धानको विद्यार्थी पनि भएको हुनाले भोट माग्न जाँदा केवल हातमात्र जोड्दिनँ, म मतदाताको मनोविज्ञान पढ्ने कोसिस गर्छु । उहाँहरूको अनुहारको भाव, उहाँहरूले गर्ने स्वागत र उहाँहरूका प्रश्नहरूबाट म के निष्कर्षमा पुगेको छु भने— मतदाताहरू यसपटक परिवर्तन र विज्ञताको खोजीमा हुनुहुन्छ ।

एक जना अनुभवी, पढे–लेखेको र मुलुकको आवश्यकता बुझेको विज्ञ मान्छे उम्मेदवार भएर आउँदा मतदाताहरूमा एक किसिमको उत्साह र खुसी देखिन्छ । उहाँहरूको प्रतिक्रिया असाध्यै सकारात्मक र उत्साहजनक पाएको छु ।

  • यो क्षेत्रमा धेरै उम्मेदवार छन् । मतदाताले अन्य उम्मेदवारलाई छोडेर डा. कृष्णराज पन्तलाई नै भोट दिएर संसदमा किन पठाउने ? तपाईंको उम्मेदवारीको मुख्य औचित्य के हो ?

मेरो उम्मेदवारीका पछाडि मुख्य दुई वटा आयाम छन्– पहिलो राष्ट्रिय नीति निर्माणको पाटो र दोस्रो स्थानीय विकासको पाटो ।

अहिले मुलुकको अवस्था सामान्य छैन । लोकतन्त्र र राष्ट्रियता दुवैलाई बचाउनुपर्ने गम्भीर चुनौती हाम्रो सामु छ । कुशासनले जरा गाडेको छ, जसलाई तोडेर सुशासनको प्रणाली स्थापना गर्नुछ । देशको अर्थतन्त्रको अवस्था हेर्नुस् त, कस्तो दयनीय छ ! बैंकहरूमा पैसा थुप्रिएको छ तर लगानीको वातावरण छैन । युवाहरूले रोजगारी पाएका छैनन्, उद्यमशीलता मरेको छ । यो बिग्रिएको अर्थतन्त्र र राजनीतिलाई सही ट्रयाकमा ल्याउनका लागि नीतिगत हस्तक्षेपको खाँचो छ । त्यसका लागि संसदमा विषय विज्ञको उपस्थिति अनिवार्य छ ।

दोस्रो पाटो भनेको स्थानीय विकासको हो । चितवन–१ बाढी र पहिरोको उच्च जोखिम भएको क्षेत्र हो । राप्ती र लोथरजस्ता नदीहरूले यहाँको बस्तीलाई सधैँ त्रसित बनाइरहेका हुन्छन् । बस्ती जोगाउने, यहाँको भूगोल सुहाउँदो कृषिको विविधीकरण गर्ने, उत्पादनको मूल्य ग्यारेन्टी गर्ने र पर्यटनको विकास गर्ने मेरा मुख्य एजेन्डाहरू हुन् । सौराहाजस्तो विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य यही क्षेत्रमा छ, तर यसलाई अझै गुणस्तरीय र व्यवस्थित बनाउन सकिएको छैन ।

म विगत १० वर्षदेखि संघ, प्रदेश र स्थानीय तहको नीति निर्माणमा प्रत्यक्ष रूपमा संलग्न भएर काम गरिरहेको छु । मसँग दीर्घकालीन योजना कसरी बनाउने र त्यसलाई कार्यान्वयन कसरी गर्ने भन्ने व्यावहारिक ज्ञान र अनुभव छ । ‘जान्नेलाई छान्ने’ भन्ने भाष्य अहिले चलेको छ, मेरो ४५ वर्षको सामाजिक र राजनीतिक अनुभव अनि नीति निर्माणको विज्ञताले मलाई नै त्यो ‘जान्ने’ पात्रको रूपमा उभ्याएको छ । त्यसैले मतदाताले मलाई रोज्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।

  • संसदको मुख्य काम त कानुन निर्माण गर्ने हो, तर जनताको अपेक्षा भनेको बाटोघाटो, पुलपुलेसा र भौतिक विकासमै बढी केन्द्रित देखिन्छ । एक सांसदको रूपमा नीति निर्माण र विकास निर्माण बिचको सन्तुलनलाई तपाईंले कसरी मिलाउनुहुन्छ ?

हाम्रो सन्दर्भमा सांसद भनेको केवल कानुन निर्मातामात्र होइन, विकासको संवाहक पनि हो भन्ने बुझाइ स्थापित भइसकेको छ । जबसम्म मुलुकमा प्रणाली स्थापित हुँदैन र पहुँचको भरमा योजना बाँडफाँट हुने परिपाटी रहन्छ, तबसम्म सांसदले विकास निर्माणमा पनि सक्रिय हुनैपर्छ ।

मेरो सन्दर्भमा भन्नुपर्दा, म यी दुवै भूमिकालाई सन्तुलित रूपमा अगाडि बढाउन सक्छु । पहिलो कुरा, नीति निर्माणमा मेरो लामो अनुभव छ । संसदमा कानुन बनाउँदा, परिमार्जन गर्दा वा नयाँ नीतिहरू तर्जुमा गर्दा मेरो विज्ञताले ठुलो भूमिका खेल्नेछ । म केवल हात उठाउने सांसद हुने छैन, बहस र तर्कद्वारा नीतिगत सुधारमा लाग्नेछु ।

दोस्रो, विकास निर्माणको कुरा गर्दा म केवल सरकारी बजेटको मुखमात्र ताक्ने व्यक्ति होइन । मैले विगतमा पनि सांसद नहुँदासमेत गैरसरकारी क्षेत्र, दातृ निकाय र विभिन्न परियोजनाहरूमार्फत यस क्षेत्रमा ठुला–ठुला काम गरेको छु । लोथर–राप्ती ड्याम संरक्षणदेखि तटबन्ध निर्माणमा मेरो प्रत्यक्ष संलग्नता छ । मसँग स्रोत जुटाउने, परियोजना लेख्ने र त्यसलाई कार्यान्वयन गराउने क्षमता छ । त्यसैले म सरकारी बजेट र नीतिगत पहलकदमीका साथसाथै गैरसरकारी स्रोतसाधनको परिचालन गरेर पनि यहाँको कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छु भन्ने विश्वास दिलाउन चाहन्छु ।

  • तपाईं लामो समयदेखि राजनीतिमा हुनुहुन्छ, पुराना दल र अनुहारप्रति जनतामा वितृष्णा पनि देखिन्छ । यो अवस्थामा यहाँ तपाईंको मुख्य प्रतिस्पर्धा कोसँग हुन्छ जस्तो लाग्छ ?

प्रतिस्पर्धा कोसँग हुन्छ भन्ने कुरा गौण हो । म चुनाव जित्छु र म पहिलो हुन्छु भन्नेमा मलाई पूर्ण विश्वास छ । दोस्रो, तेस्रो वा उन्नाइसौँ नम्बरमा को आउँछ भन्ने कुराको चिन्ता मैले किन लिने ? म अरू उम्मेदवारको बारेमा नकारात्मक टीकाटिप्पणी गर्न चाहन्नँ । सबैलाई लोकतन्त्रमा प्रतिस्पर्धा गर्ने अधिकार छ ।

तर, एउटा कुरा के सत्य हो भने अहिलेका मतदाता निकै सचेत भइसकेका छन् । उहाँहरूले को नयाँ हो, को पुरानो हो, कसले विगतमा के ग¥यो, कसको क्षमता कति छ, को कति निष्कलङ्क छ र को कति कामयाबी छ भन्ने कुरा राम्रोसँग छुट्ट्याउन सक्नुहुन्छ ।

मैले घरदैलोमा जाँदा देखिरहेको छु, मतदाताहरूले विगतमा जितेर जानेहरूलाई गम्भीर प्रश्न गरिरहनुभएको छ । हिजो जितेर गएपछि किन फर्केर आउनुभएन ? भन्ने प्रश्न उहाँहरूको छ । त्यो प्रश्न मलाई होइन, विगतमा परीक्षण भइसकेकाहरूलाई हो । म त नयाँ भिजन र नयाँ जाँगरका साथ आइरहेको छु ।

मेरो ४५ वर्षको राजनीतिक जीवन खुला किताब जस्तै छ, जहाँ कुनै दाग छैन । म निष्कलङ्क छु । त्यसैले जनताले विकल्प खोज्दा मलाई नै सबैभन्दा उपयुक्त पात्रको रूपमा पाइरहनुभएको छ । मेरो प्रतिस्पर्धा कुनै व्यक्तिसँग भन्दा पनि यहाँका समस्याहरूसँग छ, जसलाई समाधान गर्न म आतुर छु ।

  • उम्मेदवारहरूले आफूलाई अब्बल देखाउनु स्वाभाविक हो । तर चुनावी मैदानमा मनी, मसल र म्यानपावरको खेल पनि हुन्छ भनिन्छ । तपाईंको बौद्धिक व्यक्तित्वले मात्रै चुनाव जित्न सम्भव छ त ?

दौडको कुरा गर्ने हो भने म शारीरिक रूपमा पनि उत्तिकै तन्दुरुस्त र ऊर्जावान छु । मलाई घरदैलोमा हिँड्दा कुनै थकाइ महसुस भएको छैन, तर तपाईंले सङ्केत गर्नुभएको दौड अलि फरक छ ।

तपाईंले भनेजस्तो झुट बोल्ने दौडमा म छैन । पैसा बाँडेर भोट किन्ने अनैतिक दौडमा म सामेल छैन । भ्रम छर्ने र आश्वासन मात्र बाँड्ने दौडमा म कदापि लाग्दिनँ, तर विचारको दौडमा, एजेन्डाको दौडमा र इमानदारिताको दौडमा म सबैभन्दा अगाडि छु ।

आजको जमानामा जनतालाई अब पैसा वा शक्तिको भरमा मात्रै प्रभावमा पार्न सकिन्छ भन्ने म ठान्दिनँ । जनताले मेरो विज्ञता, मेरो योजना र मेरो इमानदारितालाई सम्मान गर्नुभएको छ । मैले मेरो दलको मात्र होइन, अन्य दलमा आस्था राख्ने मतदाताहरूबाट पनि ‘तपाईं जस्तो साझा र विज्ञ व्यक्ति संसदमा जानुपर्छ’ भन्ने प्रतिक्रिया पाइरहेको छु । त्यसैले मेरो व्यक्तित्व नै मेरो जितको सबैभन्दा ठूलो आधार हो । मलाई विश्वास छ, चितवन–१ का जनताले यसपटक विवेक प्रयोग गर्नुहुनेछ ।

  • चितवनको कृषि र पर्यटनलाई लिएर तपाईंसँग के–कस्ता ठोस योजना छन् ?

चितवन कृषिको उर्वर भूमि हो, तर यहाँको कृषि प्रणाली परम्परागत छ र किसानहरूले उचित मूल्य पाइरहेका छैनन् । मेरो योजना भनेको भूगोल सुहाउँदो ‘कस्टमाइज्ड’ कृषि प्रणाली लागु गर्ने हो । हामीले कृषिको विशिष्टीकरण गर्नुपर्छ । कुन माटोमा के फल्छ, त्यसको अध्ययन गरेर पकेट क्षेत्रहरू घोषणा गरिनेछ । उत्पादनको भण्डारण र बजारको ग्यारेन्टी राज्य वा स्थानीय सरकारले लिने व्यवस्था मिलाउन म नीतिगत पहल गर्नेछु । कृषि क्याम्पसको स्तरोन्नति र अनुसन्धानमा जोड दिइनेछ ।

पर्यटनको कुरा गर्दा, सौराहा हाम्रो गहना हो, तर यसलाई अझै विस्तार गर्न सकिन्छ । हामीले इको–टुरिजमलाई बढावा दिनुपर्छ । निकुञ्जसँग जोडिएका बस्तीहरूलाई पर्यटनसँग जोडेर स्थानीयको आयस्तर उकास्ने योजना मसँग छ । साथै, स्वास्थ्य र शिक्षामा गुणस्तर कायम गर्न सरकारी विद्यालय र अस्पतालहरूको भौतिक तथा व्यवस्थापकीय सुधार मेरो प्राथमिकतामा पर्नेछन् । भूमिहीन र सुकुमबासी समस्या चितवनको पुरानो घाउ हो, यसलाई नीतिगत रूपमै समाधान गर्न म प्रतिबद्ध छु ।

  • अन्त्यमा, आम मतदातालाई के भन्न चाहनुहुन्छ?

म सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही अनुरोध गर्न चाहन्छु कि हामीले पटक–पटक नेताहरूलाई मान्यौँ, छान्यौँ, तर नतिजा सोचेजस्तो आएन । अहिले देशलाई साँच्चिकै निकास दिने, अर्थतन्त्र बुझेको र विकासको खाका कोर्न सक्ने नेतृत्व चाहिएको छ ।

म ४५ वर्षको तपस्या र १० वर्षको नीति निर्माणको अनुभव बोकेर तपाईंहरूको माझमा आएको छु । मलाई एकपटक काम गर्ने मौका दिनुहोस् । म तपाईंहरूको मतको अपमान हुन दिनेछैन । म संसदमा गएर तपाईंहरूको आवाज बुलन्द पार्नेछु र यो क्षेत्रको मुहार फेर्न अहोरात्र खट्नेछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप