सरकारले रोक्यो खाडी मुलुक जानेको श्रम स्वीकृति
सारांश
- मध्यपूर्वमा तनाव बढेपछि सरकारले खाडी मुलुक जाने नेपाली कामदारका लागि श्रम स्वीकृति स्थगित गरेको छ।
- परराष्ट्र मन्त्रालयका अनुसार हाल मध्यपूर्वमा १७ लाख २९ हजार २ सय ८८ जना नेपाली नागरिकहरू रहेका छन्।
- सरकारले नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकता दिँदै आपतकालीन अवस्थाका लागि उद्धार संयन्त्र तयार पारेको छ।
काठमाडौं । मध्यपूर्वमा तनाव बढेसँगै सरकारले खाडी मुलुक जाने नेपाली कामदारका लागि श्रम स्वीकृति दिन तत्कालका लागि स्थगित गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मध्यपूर्वमा उत्पन्न पछिल्लो विषम परिस्थितिका कारण जोखिम बढेकाले ती देशहरूमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति हाललाई स्थगित गरिएको जानकारी दिए । यसअघि वैदेशिक रोजगार विभागले नियमित रूपमा श्रम स्वीकृति प्रदान गर्दै आएको थियो ।
यसैबिच आइतबार नै परराष्ट्र मन्त्रालयले एक विशेष पत्रकार सम्मेलनको आयोजना गरी मध्यपूर्वको वर्तमान अवस्था, त्यहाँ रहेका नेपालीहरूको तथ्याङ्क र सम्भावित जोखिम न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारीबारे विस्तृत जानकारी गराएको छ ।
परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया र अफ्रिका महाशाखा प्रमुख (सहसचिव) रामकाजी खड्काले दिएको जानकारी अनुसार हाल मध्यपूर्वका विभिन्न देशमा गरी करिब १७ लाख २९ हजार २ सय ८८ जना नेपाली नागरिकहरू रहेका छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले मन्त्रालयले यसअघि नै ट्राभल एड्भाइजरी जारी गरिसकेको र सम्बन्धित दूतावासमार्फत नेपालीहरूलाई सुरक्षित रहन र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिसकिएको जानकारी दिए । राजदूत र नियोग प्रमुखहरूसँग निरन्तर समन्वय गर्न ह्वाट्सएप ग्रुप बनाएर चौबीसै घण्टा अपडेट लिने काम भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले नेपाली नागरिकहरूको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको दोहोर्याए ।
’सरकारले हरेक अवस्थाको नजिकबाट मूल्यांकन गरिरहेको छ ।
आपतकालीन अवस्था आइपरेमा उद्धार गर्न संयन्त्रहरू तयार राखिएको छ,’ ढकालले भने, ’यस्तो बेलामा सामाजिक सञ्जालमा आउने अप्रमाणित र भ्रामक सूचनाको पछि नलाग्न, नआत्तिन र सम्बन्धित दूतावास वा मन्त्रालयले जारी गरेका आधिकारिक सूचनामा मात्र विश्वास गर्न म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्दछु ।’
सरकारले अत्यावश्यक नपरी हाललाई ती देशहरूको भ्रमण नगर्नसमेत नेपाली नागरिकहरूलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण