नाग्म–गमगढी सडक अब कालोपत्रे हुँदै
काली बहादुर परियार
जुम्ला । सरकारले कर्णाली राजमार्गअन्तर्गतको नाग्म–गमगढी सडक कालोपत्रे गर्न पुनः प्रक्रिया अघि बढाएको छ। बजेट अभावका कारण झण्डै तीन वर्षदेखि अलपत्र परेको नाग्मदेखि गमगढीसम्मको सडक यसपटक बजेट सुनिश्चित भएसँगै निर्माण चरणमा प्रवेश गरेको हो ।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार सरकारबाट बजेट स्वीकृत भएसँगै नाग्मदेखि देवारगाउँसम्मको १५ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का आह्वान गरिएको छ। डिभिजन कार्यालय प्रमुख श्रवणकुमार महताराले आइतबार औपचारिक रूपमा ठेक्का आह्वान गरिएको जानकारी दिए।
उनका अनुसार कुल ९१ करोड ६६ लाख रुपैयाँ बजेट स्वीकृत भइसकेको छ। ठेक्का प्रक्रियाबाट स्वीकृत प्रस्तावअनुसार लागत निर्धारण गरिनेछ। नाग्मदेखि देवारगाउँसम्मको १५ किलोमिटर खण्डमा उच्चस्तरीय कालोपत्रे, विशेषगरी अस्फाल्ट कङ्क्रिट प्रविधि प्रयोग गरिने उनले बताए। नाग्म–गमगढी राजमार्गका लागि बहुवर्षीय बजेटसमेत स्वीकृत भइसकेकाले दीर्घकालीन रूपमा निर्माण कार्यले निरन्तरता पाउने अपेक्षा गरिएको छ।
चार वर्षअघि कनकासुन्दरी गाउँपालिका क्षेत्रमा ६ किलोमिटर सडक कालोपत्रे गरिएको थियो। त्यसपछि आवश्यक बजेट अभाव हुँदा थप काम अगाडि बढ्न सकेको थिएन। लामो समयसम्म सडक अलपत्र रहँदा जुम्ला र मुगुका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए।
जुम्लाका भौतिक पूर्वाधार, सहरी विकास, वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेपछि योजना आयोग हुँदै अर्थ मन्त्रालयमार्फत बजेट स्वीकृत गरिएको जनाइएको छ।
यसक्रममा अर्थमन्त्री रामेश्वर खनाललाई निरन्तर दबाब दिइँदै आएको बताइन्छ। वित्त आयोगको अध्यक्षका रूपमा जुम्ला आउँदा देखिनै अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दासम्म जुम्ला र मुगुका बासिन्दाले नाग्म–गमगढी राजमार्ग कालोपत्रे गर्न आग्रह गर्दै आएका थिए।

नाग्मदेखि मुगुसम्मको सडक उत्तर–दक्षिण जोड्ने रणनीतिक मार्गका रूपमा लिइन्छ। सिंजा–मुगु–नाक्चे लाग्ना हुँदै चीनतर्फ पुग्ने छोटा मार्गमध्ये एक भएकाले यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहुँचको सम्भावना बोकेको छ।
रारा र सिंजा क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सडक स्तरोन्नति हुन सके पर्यटन गतिविधिमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ। सहज यातायातले होटल व्यवसाय, रोजगारी र स्थानीय उत्पादनको बजार विस्तारमा टेवा पुग्ने विश्वास गरिएको छ।

यद्यपि, विगतमा केही निर्माण व्यवसायीले काम अलपत्र पार्दा साना–साना टुक्रे योजनाका कारण सडक अझै जोखिमपूर्ण बनेको स्थानीयको गुनासो छ । ९३ किलोमिटर लामो नाग्मदेखि गमगडिसम्मको राजमार्गमध्ये कनकासुन्दरी क्षेत्रमा ६ किलोमिटर कालोपत्रे भइसकेको छ। चालु वर्षमा थप १५ किलोमिटर कालोपत्रे हुने भएपछि बाँकी खण्डसमेत चरणबद्ध रूपमा निर्माण हुने आशा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले स्टारलिङ्कको उपकरण इरानमा तस्करी गरेको खुलासा
-
ठगीको अभियोगमा तीन जना पक्राउ
-
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : गगन थापा
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण