स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
सारांश
- इरान र ओमानले महत्त्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुजसम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति गठन गरेका छन् ।
- अमेरिका-इरान समझदारीपत्र र विशेषगरी स्ट्रेट अफ होर्मुजसम्बन्धी व्यवस्थाबारे सकारात्मक छलफल भएको ओमानका विदेशमन्त्रीले बताएका छन् ।
- स्ट्रेट अफ होर्मुज हुँदै हुने जहाजहरूको आवतजावत क्रमशः बढ्न थालेको छ, जसको एउटा कारण अमेरिका र इरानबिच जलडमरूमध्यका विषयमा प्रत्यक्ष सम्पर्क संयन्त्र स्थापना गर्ने सहमति हो ।
मस्कट । इरान र ओमानले महत्त्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुजसम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति गठन गरेका छन् । इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घालिबाफले मंगलबार यसको जानकारी दिएका हुन् । ‘इरानी प्रतिनिधिमण्डलको मस्कट भ्रमणपछि इरान र ओमानले हर्मुज जलडमरूमध्यसम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति गठन गरेका छन् । यसबारे थप विवरण दुवै देशको संयुक्त वक्तव्यमा सार्वजनिक गरिनेछ,’ टेलिग्राममार्फत जारी सन्देशमा घालिबाफले भनेका छन् ।
यसअघि ओमानका विदेशमन्त्री सय्यद बद्र अलबुसैदीले आफू र घालिबाफबीच अमेरिका–इरान समझदारीपत्र र विशेषगरी स्ट्रेट अफ होर्मुजसम्बन्धी व्यवस्थाबारे सकारात्मक छलफल भएको बताएका थिए । ‘हामीबिच अमेरिका–इरान समझदारीपत्र, विशेषगरी स्ट्रेट अफ होर्मुजसम्बन्धी प्रावधानबारे रचनात्मक छलफल भयो,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका थिए ।
‘हामीले अन्तर्राष्ट्रिय कानुनको पालना तथा कुनै शुल्क नलिई सुरक्षित समुद्री आवागमन सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्यायौँ,’ पोष्टमा अझ अगाडि भनिएको छ । अमेरिका र इरानबिच हालै भएको अन्तरिम समझदारीपछि तनाव केही कम भएको संकेत देखिए पनि अन्तर्राष्ट्रिय जलयातायात कम्पनीहरूले होर्मुजमा अझै सावधानी अपनाइरहेका छन् । सम्झौताका विभिन्न पक्षबारे अझै स्पष्टता नआएको, साथै होर्मुज क्षेत्रमा दर्जनौँ समुद्री बारुदी सुरुङ रहेको आशंकाका कारण धेरै कम्पनीहरू पूर्ण रूपमा ढुक्क भएका छैनन् ।
सुरक्षा चिन्ताका बाबजुद स्ट्रेट अफ होर्मुज हुँदै हुने जहाजहरूको आवतजावत क्रमशः बढ्न थालेको छ । तर यो संख्या युद्ध सुरु हुनुअघिको अवस्थाभन्दा अझै निकै कम रहेको बताइएको छ । यस वृद्धिको एउटा प्रमुख कारण अमेरिका र इरानबिच जलडमरूमध्यका विषयमा प्रत्यक्ष सम्पर्क संयन्त्र स्थापना गर्ने सहमति पनि हो । इरानका प्रमुख वार्ताकार घालिबाफका अनुसार उक्त हटलाइनको उद्देश्य जहाजहरू स्ट्रेट अफ होर्मुज पार गर्ने क्रममा विभिन्न देशहरूसँग हुन सक्ने गलतफहमी रोक्नु तथा कुनै समस्या उत्पन्न भए तत्काल समाधान गर्नु हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण