रुपन्देही–२ : बुटवल–११ का मतदाता निर्णायक, मत तान्ने कसरतमा उम्मेदवार
सारांश
- रुपन्देही क्षेत्र नम्बर २ मा लालपुर्जाको समस्या मुख्य चुनावी एजेन्डा बनेको छ।
- बुटवल-११ मा लालपुर्जाको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मतदाताले प्राथमिकता दिने देखिएको छ।
- विभिन्न दलका उम्मेदवारहरूले लालपुर्जाको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्, जसले चुनावको नतिजामा प्रभाव पार्न सक्ने देखिन्छ।
बुटवल । रुपन्देही जिल्लाको क्षेत्र नम्बर २ सधैँजसो चर्चामा रहने निर्वाचन क्षेत्र हो । यस क्षेत्रबाट विष्णु प्रसाद पौडेल पटक–पटक निर्वाचित मात्र भएनन्, धेरैपटक मन्त्रीसमेत बन्न सफल भए ।
२०७० सालमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उम्मेदवार बनेपछि यो क्षेत्र राष्ट्रिय चासोको केन्द्रमा परेको थियो, तर उनले हार बेहोरे ।
अहिले पनि पूर्वमन्त्री पौडेलसहित नयाँ अनुहार र फरक एजेन्डा भएका उम्मेदवारबिच यहाँ प्रतिस्पर्धा हुने देखिएको छ । रुपन्देही–२ अन्तर्गत बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बर वडा, तिलोत्तमा नगरपालिकाका १ देखि ६ र सैनामैना नगरपालिकाका १ देखि ४ नम्बर वडा गरी कुल २३ वडा पर्छन् । यहाँ कुल १ लाख ३५ हजार ५० मतदाता छन् । तीमध्ये सबैभन्दा बढी मतदाता रहेको वडा हो बुटवल–११, जहाँ करिब १८ हजार मतदाता छन्। देवीनगर र बुद्धनगर क्षेत्र समेटिएको यो वडालाई विगतदेखि नै ’निर्णायक मत’का रूपमा हेरिने गरिएको छ ।

- बुटवल–११ मा किन धेरै चासो ?
विगतको स्थानीय तह निर्वाचन होस् वा प्रदेशसभा निर्वाचन, यो वडाको मतलाई धेरैले निर्णायक मतका रूपमा हेर्ने गर्छन् ।
बुटवल बहुमुखी क्याम्पसका समाजशास्त्रका प्राध्यापक जीवनारायण अधिकारीका अनुसार यो वडालाई चासोका साथ हेरिनुको मुख्य कारण यहाँका मतदाताको प्रमुख माग लालपुर्जा हो । अस्थिर मतदाताको संख्या पनि धेरै हुनु अर्को कारण पनि हो ।
२०६० सालपछि तीव्र रूपमा बसोबास बढेको देवीनगर र बुद्धनगर क्षेत्रमा ठुलो संख्यामा लालपुर्जा (जग्गाधनी प्रमाणपत्र) को समस्या छ । विगतका निर्वाचनमा लालपुर्जाको आश्वासन दिइए पनि समस्या समाधान नभएको भन्दै स्थानीय असन्तुष्ट छन् ।

बुद्धनगरकी कल्पना थापा मगर भन्छिन्, ‘हामीलाई पटक–पटक लालपुर्जाको आश्वासन दिइन्छ, तर दिइँदैन। यस पटक लालपुर्जा सुनिश्चित गर्ने उम्मेदवारलाई मत दिन्छौँ।’ यस क्षेत्रमा एमालेका विष्णु प्रसाद पौडेल, नेपाली कांग्रेसका चुन्नु प्रसाद पौडेल, नेकपाका विश्वदीप पाण्डेय, स्वतन्त्र डा. कलम भुसाल (निकोलस), राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल तथा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापामगरलगायत उम्मेदवार छन् ।
घरदैलो अभियानका क्रममा अधिकांश उम्मेदवारले लालपुर्जा समस्याबारे मतदाताबाट बारम्बार प्रश्न सामना गर्नुपरेको बताएका छन्।
नेकपा उम्मेदवार पाण्डेय बुटवल–११ मा सबैभन्दा धेरै लालपुर्जासम्बन्धी समस्या भएकाले आफूले यसलाई प्राथमिकतामा राखेको दाबी गर्छन् । कांग्रेस उम्मेदवार पौडेल यही वडाका बासिन्दा तथा सफल उद्योगीका रूपमा परिचित छन्। स्थानीयसँग नियमित भेटघाट हुने भएकाले समस्या नजिकबाट बुझेको उनको दाबी छ।
चिकित्सकसमेत रहेका निकोलस भुसालले पनि स्वास्थ्य र सामाजिक सेवामार्फत मतदातासँग नजिकिने प्रयास गरिरहेका छन् ।
_9KHwdgOokV.jpg)
एमालेका उम्मेदवार पौडेलले विगतदेखि आफूले पहल गरेका विभिन्न राष्ट्रिय समस्याका कारण लालपुर्जा वितरणमा केही ढिलाइ भएको स्वीकार्दै बताउँछन्। उनले अहिले आफ्नो एजेन्डामा लालपुर्जाको समस्या समाधानलाई पनि उच्च प्राथमिकता दिँदै मतदातामाझ पुगेका छन्।
नयाँ पार्टी ‘उज्यालो नेपाल’का यस क्षेत्रका उम्मेदवार इन्जिनियर सुरज पाण्डेले पनि उक्त वडाका मतदाताले लालपुर्जा तथा बेरोजगारी जस्ता समस्या सुनाएको बताए। उनले एउटा वडाका मतदातालाई मात्र लक्षित नगरी समग्र क्षेत्र, जिल्ला र देशलाई नै नयाँ दिशा दिने एजेन्डा आफूसँग रहेको उनको भनाइ छ।
मत परिणाममा प्रभाव पार्ने सम्भावना
गत स्थानीय तह निर्वाचनमा बुटवल–११ मा एमाले र कांग्रेसबिच तीव्र प्रतिस्पर्धा भएको थियो। एमालेका वडा अध्यक्षका उम्मेदवारले जम्मा १२१ मतले मात्रै कांग्रेसका उम्मेदवारलाई पराजित गरेका थिए। अहिले वडामा कुल मतदाता १७,९४३ रहेका छन्।

पछिल्लो समय सोही वडा निवासी एमाले नेतृ मञ्जु भुसाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरी समानुपातिक उम्मेदवार बनेपछि एमालेको मतमा केही प्रभाव पर्न सक्ने आकलन गरिएको छ।
देवीनगरका अर्जुन कुँवरले बताएअनुसार उनी स्थानीयस्तरमा भिजेकी नेतृ हुन्। साथै, २०६४ सालदेखि लालपुर्जाको आश्वासन दिइए पनि कार्यान्वयन नभएको आरोपले पनि केही मतदाता असन्तुष्ट देखिएका छन्।

रुपन्देही–२ मा समग्र परिणाम निर्धारण गर्न बुटवल–११ को मत निर्णायक बन्ने देखिएको छ। प्राध्यापक जीवनारायण अधिकारीका अनुसार, लालपुर्जा, बसोबास व्यवस्थापन र स्थानीय विकासका मुद्दामा कसले मतदातालाई विश्वास दिलाएर समाधानको प्रतिबद्धता देखाउँछ, त्यसैले अन्तिम परिणाम तय गर्ने विगतका अनुभवबाट देखिएको छ।
अस्थिर मतदाता पनि रहेकाले उम्मेदवारहरू चनाखो रूपमा ध्यान दिनुपर्ने उनी बताउँछन्, किनकि यहाँ अन्तिम समयमा चलखेल गर्ने सम्भावना पनि उत्तिकै रहन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण