समग्र देशलाई ड्राइभ गर्न सक्ने नेताको रूपमा मतदाताले जिताउनेमा विश्वस्त छु : विपिन कुमार आचार्य
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन कुमार आचार्यले दाङ-२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्।
- आचार्यले आफूलाई मतदाताले विश्वास गर्नुका कारण र आगामी योजनाबारे स्पष्ट पारेका छन्।
- उनले निर्वाचन क्षेत्रका समस्या र समाधानका उपायबारे प्रकाश पार्दै आफू समग्र देशको नेता बन्न चाहेको बताए।
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिएर गृहजिल्ला दाङ–२ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले नेकपा एमालेका महासचिव शंकर पोख्रेल, नेपाली कांग्रेसका किरण किशोर घिमिरे, नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्य लगायतका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् ।
निर्वाचन प्रचारप्रसार अभियान अन्तिम चरणमा पुगेकै समयमा रास्वपाका उम्मेदवार आचार्यसँग रातोपाटीका लागि गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–
- दाङ–२ का मतदाताहरूले तपाईंलाई विश्वास गरेर किन मत दिने ?
आम नागरिकहरूले विपिन आचार्यलाई किन विश्वास गर्ने भन्नेमा तीन वटा मेजर कुरा होजस्तो लाग्छ । पहिलो कुरा, राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक एउटा आर्किटेक्टका हिसाबले पार्टी निर्माणमा मैले पुर्याएको भूमिका र पार्टीका सांसदहरूले प्रतिनिधित्वका हिसाबले संसदमा निर्वाह गरेको भूमिकाप्रतिको भरोसा पनि एउटा कारण हो ।
दोस्रो भनेको, हाम्रो बालेन्द्र (बालेन) शाहजी काठमाडौँ महानगरपालिकाको मेयर हुँदै गर्दा देशभरिका नागरिकले एउटा मेयर इमानदार, भिजनरी भयो भने उसले सोसाइटीमा कति धेरै परिवर्तन ल्याउन सक्छ भन्ने बुझ्नुभएको छ । पार्टीका हाम्रा शीर्ष पात्रहरूले आफ्नो क्षेत्रबाट देखाएको भूमिका पनि एउटा पाटो हो ।
तेस्रो, व्यक्तिगत रूपमा मलाई पार्टीको एउटा संस्थापकका रूपमा र मैले पार्टीको आधार निर्माणमा पुर्याएको योगदान र त्योसँगसँगै मेरो पृष्ठभूमिका कुराहरू— मेरो बायो–टेक्नोलोजी इन्जिनियरिङको पृष्ठभूमि होला, एमबीएको पृष्ठभूमि होला अथवा म आफैँ दाङ–२ मै जन्मेको, हुर्केको र अहिलेको सोसाइटल चेन्जलाई प्रतिनिधित्व गर्ने र भाषणमा भन्दा पनि भिजनमा बढी काम गर्ने व्यक्तिका रूपमा नागरिकले मलाई ग्रहण गर्नेमा विश्वस्त छु ।
- दाङ–२ मा कहिले कांग्रेस र कहिले कम्युनिस्टले जित्दै आएका छन्, तपाईं भर्खर जनतासँग सम्बन्ध विस्तार गर्दै हुनुहुन्छ । चुनाव जित्ने आधार रास्वपाप्रति देखिएको जनलहर हो कि खास एजेन्डा पनि छ ?
मैले फागुन ४ गते दाङ–२ को प्रतिनिधि सभा सदस्यका रूपमा के–के गर्छु अथवा के कुराहरू गर्दै छु भन्ने हिसाबले २१–२२ मिनेटको एउटा भिडियो नै बनाएर बाचापत्र प्रस्तुत गरेको थिएँ । त्यो बाचापत्रमार्फत मैले तीन वटा कुरामा बढी फोकस गरेको थिएँ ।
दाङ–२ का आम नागरिकहरूसँग घरदैलोमा अथवा बाचापत्र बुझाउने सन्दर्भमा जाँदै गर्दाखेरि उहाँहरूले मसँग दुई वटा अपेक्षा राख्नुभएको थियो । अहिलेसम्म दाङको राजनीतिमा उम्मेदवारहरू चुनावमा नागरिककहाँ आइपुग्ने, चुनाव जितेर गइसकेपछि नागरिकलाई भेट्न पनि नआउने प्रवृत्ति तपाईंले अन्त्य गर्नुहोला भनेर मतदाताले भनेका छन् । त्यसका आधारमा यहाँका नागरिकले चुनाव अगाडिमात्र होइन, चुनाव पछाडि पनि आफ्नो सुख–दुःखमा साथ दिने नेता खोजेका छन् जस्तो मलाई लाग्छ, जुन कुरा मैले आफ्नो बाचापत्रमा प्रस्टसँग प्रस्तुत गरेको छु ।
दोस्रो, उहाँहरूले भनेको सबैभन्दा महत्त्वपूर्ण कुरा— हामी यो देशको स्रोतको सीमितता बुझ्छौँ, तपाईंहरूले थिति स्थापना गर्नुहोला र पूरा गर्न सक्ने बाचामात्रै गर्नुहोला भन्नुभएको छ । हामीले यो ३६ वर्षमा बाचाहरू गर्ने, भोट बैंक हामीलाई बनाउने र बाचाहरूमा इमानदार नहुने व्यक्तिहरू देखेका छौँ भनेर मतदाताले भन्दै गर्दा मैले बाचापत्रमा एउटा प्रतिनिधि सभा सदस्यका रूपमा मेरो दायराले गर्न सक्ने कुरा राखेको छु ।
दाङमा जे समस्या छ, ९० प्रतिशत समस्या समग्र देशको पनि समस्या हो । दाङ–२ लाईमात्र होइन कि समग्र देशलाई नै प्रभाव पार्ने परिवर्तनका आधार के–के हुन सक्छन् र के–के कुरामा म गजबले पहल गर्छु भन्ने प्रस्टसँग बाचापत्रमा बुझाएको छु ।
तेस्रो, दाङ–२ मात्र होइन दाङ–३, दाङ–१ लाई सही तरिकाले कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरालाई मिहिन ढङ्गले अध्ययन गरेको आधारमा मैले मजाले बुझाएको छु । एउटा प्रतिनिधि सभा सदस्यले के गर्न सक्छ ? मैले प्रतिनिधि सभा सदस्यका रूपमा के–के कुरा गर्न गर्छु ? समग्र राष्ट्रिय राजनीतिका सूचकहरू परिवर्तन गर्ने सन्दर्भमा दाङ–२ लाई समृद्ध बनाउने कुराहरू के–के हुन सक्छ भनेर प्रस्टसँग बुझाएको छु ।
मैले घरदैलो कार्यक्रमको क्रममा भनेको छु ‘म दाङ–२ कोमात्रै नेता हुन आएको होइन, म दाङको मात्रै नेता हुन आएको होइन, म लुम्बिनीको पनि नेता हुन आएको होइन, म समग्र राज्यको, देशको नेता हुन आएको हो ।’ समृद्ध नेपालको नेतृत्व गर्न सक्छु भन्ने कुराहरू बाचापत्रमा मतदाताले बुझ्ने भाषामा राखेको छु । अहिलेको सन्दर्भमा नागरिकले बुझ्ने शैलीमा प्रस्ट पारिएन भने त्यसको खासै अर्थ नहुने देखिन्छ ।
हामी एक महिना जति यस निर्वाचन क्षेत्र अन्तर्गत २७ वटा वडाका हरेक टोलबस्तीमा पुगेर उहाँहरूको अनुभव, अपेक्षा, सुझावका आधारमा बनाएको बाचापत्र भएकाले ती मेरा एजेन्डाभन्दा पनि दाङ–२ का समग्र बासिन्दाको एजेन्डा हो । उहाँहरूकै एजेन्डा बोकेर म अगाडि बढिरहेको छु ।
- हरेक क्रान्तिपछि आम नागरिकको परिवर्तनप्रति उच्च अपेक्षा हुन्छ । तर नेतृत्वकर्ताले ती अपेक्षा सम्बोधन गर्न नसक्दा ठुला दुर्घटना भएको इतिहास छ । भदौमा जेनजी आन्दोलनले भ्रष्टाचार र बेथितिका विरुद्ध उठाएका मागलाई सरकारमा पुगेपछि कसरी सम्बोधन गर्नुहुन्छ ?
मैले विशेषगरी नागरिकहरूलाई दुई वटा कुरा भन्ने गरेको छु । पहिलो– यो देशमा यति धेरै बिग्रिएको छ कि हामी सरकारमा गएको ६ महिनामा सबै कुराहरू ठिक हुँदैन भन्ने कुरा मैले सबै ठाउँमा बुझाउन खोजेको छु । हामीले पहिलो ६–८ महिनामा यो देशमा परिवर्तन सम्भव छ, सही नेतृत्व भयो भने परिवर्तन हुन सक्छ भन्ने कुराको अनुभूति गराउँछौँ भनेको छु । त्यो अनुभूतिको आधारमा तपाईंहरूले हामीलाई समय दिनुपर्छ भनेको छु ।
किनकि यति धेरै जर्जर भएको स्थिति ६ महिनामा सामान्य बनाउने सम्भावना नै हुँदैन, तर ६ महिनामा हामीले राम्रो हुँदैछ है भन्ने सङ्केत जनतालाई दिन सक्नुपर्छ र त्यो कुरामा म एकदमै बढी सचेत छु । कुनै कुराको प्रतिबद्धता जनाउँदै गर्दा त्यसलाई कार्यान्वयन गर्ने योजना हामीसँग छ कि छैन भन्ने कुरा एकदमै महत्त्वपूर्ण पाटो हो । त्यो पाटोमा म सचेत पनि छु ।
सबै कुरा अमुक र अमूर्तभन्दा पनि कतिपय कुरा ठ्याक्कै जनताले महसुस गर्नेगरी हामीले हाम्रो बाचापत्रको एउटा क्रिटिकल कम्पोनेन्ट बनाएका पनि छौँ । अहिलेसम्मको नेपाली राजनीतिको दुःखद् पक्ष भनेको धेरैजसो राजनीतिक नेतृत्वकर्ताहरूलाई कुनै आन्दोलन कसरी गर्ने अथवा चुनाव कसरी जित्ने भन्नेसम्मको ज्ञान भयो, तर चुनाव जितिसकेपछि, राज्य सञ्चालनमा पुगिसकेपछि डेलिभरी कसरी दिने भन्ने कुराको कहिल्यै ज्ञान भएन र त्यसको योजना पनि भएन ।
त्यहाँ पुगिसकेर सिक्दासिक्दै वा नसिक्ने कुराहरूको बोझले उहाँहरू थिचिनुभयो । त्यसैले हामी अहिले चुनाव जित्नेमात्र होइन, चुनाव जितिसकेपछि के गर्ने भन्ने कुराको पूर्वतयारीमा पनि बढी लागिरहेका कारणले हामी ती दुर्घटनाहरूबाट पाठ सिकेर काम गर्दैछौँ । हामी डेलिभरीमा कति गर्छौं, कति गर्दैनौँ भन्ने कुराका लागि सरकार गठन पछाडिका केही महिना दिनुपर्छ होला । मिडियाकर्मीका हिसाबले पुराना उदाहरणहरू देखाएर तपाईंहरूले हामीलाई सचेत बनाइराख्नुपर्छ ।
- एक महिनादेखि दाङ–२ का हरेक गौँडा, चोक, गल्ली–गल्ली र मतदाताको घरघर पुगिरहँदा मतदाताका समस्या समस्या के रहेछन् ?
मैले दाङ–२ को समस्या अन्य भूगोलको समस्याभन्दा त्यति फरक पाएको छैन । किनकि म एउटा किसानको घरमा पुग्दै गर्दा किसानले मलाई ‘म मेरै आफ्नै पैसा तिर्छु तर मलाई मल समयमा देऊ’ भन्नुहुन्छ । कसैले ‘म आफ्नै पैसा खर्च गर्छु, मलाई भनेको बेला सिँचाइ उपलब्ध गराइदेऊ’ भन्छन् । कुनै व्यापारीले ‘म मज्जाले ट्याक्स तिर्छु तर मलाई व्यापार गर्ने वातावरण बनाइदेऊ’ भन्छन् । कसैले ‘मेरो छोराछोरी बिरामी हुँदाखेरि एउटा सुलभ अस्पताल होस्, जहाँ म ढुक्क भएर उपचार गराउन पाउँ’ भन्छन् ।
समग्रमा बिहान उठेदेखि राति सुत्दासम्मका जति पनि आधारभूत जनजीविकाका समस्या छन्, ती समस्या नै उहाँहरूले उठाएको पाएँ । बाटो पिच भएन, ढल चाहियो, नाला चाहियो, मल चाहियो, आफूले उत्पादन गरेका वस्तुका लागि बजार चाहियो भन्ने माग छन् ।
दोस्रो, एकदम अप्ठ्यारो लाग्ने पाटो भनेको हाम्रा छोराछोरीहरूलाई देश फर्काउने वातावरण बनाइदेऊ भन्नुभएको छ । वर्षौंदेखि हाम्रा छोराछोरी घरमा बस्न पाएका छैनन् र हामीसँग छोराछोरीलाई यो देशमा फर्केर आऊ है भन्न सक्ने केही पनि कुरा छैन भन्ने कतिपयको गुनासो छ । विदेश गएकाहरूलाई यो देशमा रोकिने एउटा आधार तय गरिदेऊ भन्ने खालको अपेक्षा मैले बढी पाएको छु ।
- चुनावी सभाहरूमा रास्वपाका उम्मेदवारहरू जनप्रतिनिधिको काम भनेको कानुन बनाउने हो, कानुन बनाएपछि विकास आफैँ हुन्छ भनिरहेका छन् । विकास नभएको कानुन नभएर हो कि भएका मौजुदा कानुन पनि कार्यान्वयन नभए र हो ?
यसमा म एकदमै सजग छु । हामी जति पनि कानुन बनाउँछौँ, ती सबै नीति निर्माणको अन्तिम लक्ष्य भनेको देशमा विकास गर्ने नै हो, सुशासनै ल्याउने हो र एउटा नागरिकले आफ्नो जीवनलाई डिग्निटीका साथ अगाडि बढाउने नै हो ।
विकासको जिम्मेवारी लिँदैन भनेर कसैले भनेको जस्तो लाग्दैन । अहिलेसम्म नेपाली समाजमा विकास कसरी हुने भयो भने तपाईंको नेतासँगको आत्मीयता कति छ, कति नजिक हुनुहुन्छ, नेताको पावर कति छ भन्ने हिसाबले बजेट विनियोजन हुने भयो, न कि वैज्ञानिक एउटा विधिको आधारमा ।
एउट उदाहरण दिन्छु– म कुनै एउटा टोलमा जाँदै गर्दाखेरि एउटा चोकबाट दुई वटा बाटो दुईतिर गएको थियो । एउटा बाटोमा २० जति घरधुरी थिए, अर्को बाटोमा २०० घरधुरी थिए । २०० घरधुरी जाने बाटो ग्राभेल थियो । २० वटा घरधुरी भएको बाटो पिच भएको थियो । यसबारे त्यहाँका नागरिकसँग सोध्दैगर्दा यो पिच बाटो सांसदको घर जाने बाटो हो भन्नुभएको थियो । अहिलेसम्म नेपालमा जति पनि थोरै विकास भएको छ, ती विकास पहुँचको आधारमा भएको देखिन्छ । त्यो विकासको दिगोपनामा ठुलो समस्या छ । रास्वपाले यस्तो विधि, थिति स्थापना गर्ने हो, जहाँ सिस्टमले सबै काम गरोस् ।
तपाईंलाई म अर्को उदाहरण दिन्छु– घोराही उपमहानगरपालिकाको वडा नम्बर १९ कर्णालीजस्तै विकट छ । त्यस्तो वडा जहाँ बाटो राम्ररी पुगेको छैन, बत्ती पुगेको छैन, इन्टरनेट पुगेको छैन, तर त्यहाँका नागरिकहरूसँग उपमहानगरपालिकाले कर लिन्छ । यी साना–साना कुराहरू, विधिमा भएका कमजोरीलाई ठिक गर्ने र ती विधिहरूको कडा नियमन गर्ने परिपाटी बसाल्न सकियो भने अघि भनेका विकासका कुराहरू अटोमेटेड मोडमा गएर हुन्छन् ।
यो देश सम्भावनाले भरिएको छ, समस्या के हो भने सम्भावनाहरू रियालिटी नबनेर समस्या बने । त्यसलाई चिन्ने भनेको त्यसरी पोलिसी लेभलको नै हस्तक्षेप गर्ने हो । नीति ठिक भयो भने थिति ठिक हुन्छ, थिति ठिक भयो भने सबै कुरा ठिक हुन्छ भन्छु म ।
- जनप्रतिनिधि नै मन्त्री प्रधानमन्त्री बन्ने संसदीय प्रणालीमा आमनागरिकका समस्या र विकासको एजेन्डाबाट जनप्रतिनिधि तर्किन मिल्छ ?
एउटा पार्टीका रूपमा हामीले यो देश सञ्चालन गर्ने, नीति निर्माण गर्ने जिम्मेवारी पायौँ भने देशमा जति पनि समस्याहरू सिर्जित भएका छन्, त्यसको रुट कजमै गएर काम गर्ने हो । मेरो र हाम्रो टिमको सिम्पल अब्जेक्टिभ के हो भने म नेता नबन्दै पनि मैले बनाएको विधिले काम गर्नुपर्छ भन्ने हो । किनकि नेताका रूपमा म आज हुन सक्छु, भोलि नहुन पनि सक्छु, तर त्यो विधि कुनै पार्टी विशेषका लागि होइन कि समग्र नागरिकका लागि हुनुपर्यो भन्ने मान्यता हो नि ।
दोस्रो भनेको साँच्चिकै कतिपय कुरा सिस्टमको एलिमेन्टहरूमा अथवा ‘रोल्स एन्ड रेस्पोन्सिबिलिटी’को ‘डाइलुसन’का कारणले आएको समस्या हो । जिम्मेवार तहमा पुग्ने व्यक्तिहरूसँग भिजन नभएका कारणले, एबिलिटी नभएका कारणले त्यो गोलगोल घुमाउने प्रवृत्ति पनि हो । त्यसैले यसलाई ‘डाइसेक्ट’ नै गरेर कुन कुरा तत्काल गर्न सकिन्छ र कुन कुरा पोलिसी लेभलमा काम गरेर गर्न सकिन्छ भन्ने एकदमै मसिनो ढङ्गले काम गर्नुपर्ने छ । यस्ता कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी सचेत पनि छ । यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी क्विक फिक्स गर्ने होइन कि लङ टर्म फिक्स गर्ने भन्नेमा बढी सचेत छ । त्यसको अनुभूति तपाईंले चाँडै नै देख्नु हुनेछ ।
- सरकार र नागरिक, नेता र कार्यकर्ताबिचको सम्बन्धमा देखिएको खाडलको समाधान हुन नस्कदा आक्रोस बढेको देखिन्छ । जितेर आएको खण्डमा तपाईंका हकमा पनि त्यस्तै हुने हो कि ?
एउटा नेता जहिले पनि नागरिकको माया र विश्वासको जगमा बन्ने हो । नेताले यस्तो वैज्ञानिक बाटो पहिल्याउनुपर्छ जुन बाटोले नागरिकसँगको सम्बन्ध कहिल्यै पनि नटुटोस् । जस्तो दाङ–२ कै कुरा गरौँ, यहाँ लगभग १ लाख ४० हजार मतदाता हुनुहुन्छ । यी सबै मतदातासँग चुनाव पछाडि पनि हरेक दिन फोन सम्पर्कमा रहने कुरा व्यावहारिक रूपमा सम्भव हुँदैन र नागरिकहरूले त्यो खोज्या पनि होइन । आफ्ना समस्याहरूको सही निरूपण गरिदियो भने नागरिकलाई नेतासँग नजिक हुनै पर्दैन । मैले धेरै ठाउँमा बुवाआमाहरूसँग नागरिकसँग नेता किन नजिक हुनुपर्यो भन्दै गर्दा ‘नेतासँग सोर्सफोर्स लाउनुपर्यो, नत्र हाम्रा काम कसरी हुन्छन् ?’ भन्ने उहाँहरूको बुझाइ छ ।
तपाईंहरूले राखेका अपेक्षा पूरा भयो भने तपाईंलाई नेता चाहिन्छ कि चाहिँदैन भनेर सोध्दा ‘त्यसो भए हामीलाई भोट हाल्ने बेलामात्रै नेता भए पुग्छ’ भन्नुभएको छ । त्यसकारण पहिलो कुरा नेतासम्मको सम्बन्ध देखाउनुपर्ने बाध्यता, नेतासँग नजिक हुनुपर्ने बाध्यता हटाउन सकियो भने यी कुरा बिस्तारै घट्दै जान्छन् ।
दोस्रो कुरा, नागरिक र नेतासम्मको सम्बन्ध, मिडियाको नेताहरूसँगको सम्बन्धको खाडल कहिल्यै पनि ठुलो हुनुहुँदैन र त्यसलाई कसरी सही बनाउने भन्ने पाटोमा राष्ट्रिय स्वतन्त्र पार्टी एकदमै सचेत पनि छ । चुनाव अगाडि नेतामा जति विनम्रता हुन्छ, चुनाव पछाडि अझ बढी हुनुपर्छ भन्ने कुरामा म आफैँ पनि व्यक्तिगत रूपमा क्लियर छु ।
- चुनाव जित्नेमा तपाईं आफैँ कत्तिको विश्वस्त हुनुहुन्छ ?
म व्यक्तिगत रूपमा सुपर कन्फिडेन्ट मान्छे हो । आफ्नो क्षमतामाथि कन्फिडेन्ट नहुने व्यक्ति भएको भए समानुपातिकको बन्दसूचीको एक नम्बरको नाम निकालेर आफू जन्मेको, हुर्केको ठाउँबाट म सांसद पदका लागि लड्थिनँ होला । मलाई मेरो क्षमतामा गजबको विश्वास छ ।
कुनै एउटा नेताको कद भनेको ऊ कति वर्ष राजनीतिमा छ भन्ने कुराले डिसाइड हुँदैन । उसले त्यो समाजलाई अथवा त्यो देशलाई इम्प्याक्ट पार्ने कति वटा कुरा गर्यो भन्ने कुराले नागरिकको कद डिसाइड हुन्छ जस्तो लाग्छ । कहिलेकाहीँ हामी हाम्रा नागरिकको चेतनालाई उपेक्षा गर्दिन्छौँ । मैले दाङ–२ को नागरिकको चेतना स्तर यति अब्बल पाएको छु नि, उहाँहरू सही निर्णय गर्नुहुन्छ भन्ने कुरामा म ढुक्क पनि छु । चुनावमा अन्तिम फैसला मतपेटिकाबाट नै हुन्छ ।
म आफूलाई एउटा बलियो प्रतिस्पर्धी पनि मान्छु, माटो बुझेको, माटो महसुस गरेको र दाङ–२ को मात्रै नेतृत्व गर्ने ल्याकत होइन कि समग्र देशको नेतृत्व गर्न सक्ने भिजन भएको व्यक्तिका रूपमा दाङ–२ का नागरिकहरूले मलाई बुझ्नुभएको छ भन्ने मलाई लाग्छ । उहाँहरूले मलाई माया गर्दै गर्दाखेरि दाङ–२ कोमात्रै सांसद होइन कि समग्र देशलाई नै ड्राइभ गर्ने एउटा अब्बल व्यक्ति पनि पाउँदै हुनुहुन्छ भन्ने मेरो त्यो कन्फिडेन्स छ । त्यही कन्फिडेन्सको आधारमा सबै कुरा राम्रो हुन्छ भन्ने विश्वास लिएर म अगाडि बढेको छु ।
- मतदाता तपाईंको व्यक्तित्वले बढी प्रभावित भएका छन् कि घन्टीप्रति देशव्यापी रिदमले प्रभाव पारेको छ ?
पहिलो कुरा घन्टीको रिदम जति बलियो हुन्छ, त्यहाँ कहीँ न कहीँ मैले आफूलाई नै देख्छु । पार्टी स्थापना गरेका व्यक्तिका हिसाबले होला अथवा पार्टीको नाम, चुनाव चिह्न सबैमा आफ्नो एउटा महत्त्वपूर्ण भूमिका भएको कारणले जति ठाउँमा घन्टी बज्छ, त्यो घन्टीमा म आफूलाई देखिराखेको हुन्छु । त्यसैले त्यो घन्टीको रिदम जति गजब हुँदै जान्छ, त्यहाँ कहीँ न कहीँ मेरो थोरै भए पनि योगदान छ जस्तो लाग्छ । त्यो त एउटा प्रस्थान बिन्दु हो जस्तो लाग्छ ।
आजको नागरिकले त्यो रिदमसँगसँगै जुन व्यक्तिलाई भोट हाल्न खोज्दै छ, त्यो व्यक्तिको ब्याकग्राउन्ड के हो ? त्यो व्यक्तिमा नागरिकका समस्या समाधान गर्न सक्ने ल्याकत छ कि छैन, भिजनमा काम गर्ने मान्छे हो कि भाषणमा काम गर्ने मान्छे भन्ने कुरा उहाँहरूले विश्लेषण गर्ने ल्याकत राख्नुहुन्छ । त्यसैले लोकतन्त्रमा एउटा पार्टी सर्वोच्च हुन्छ, सो पार्टीको नेसनल ट्रेड, पार्टीप्रतिको नागरिकहरूको अपेक्षा र त्यो अपेक्षामा विपिन कुमार आचार्यको ब्याकग्राउन्ड, उसको भिजन र उसले दाङ–२ मात्र होइन, समग्र राज्यको अगाडिको बाटोमा पार्न सक्ने इम्प्याक्ट यी कुराहरूको फ्युजन हो जस्तो लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण