अरू दलबाट बलियो ‘ट्याकल’ नहुँदा रास्वपालाई हुनसक्छ सहज
सारांश
- चितवन-१ मा आगामी निर्वाचनको लागि मतदाताहरूमाझ पुरानै दल र नयाँ शक्तिबीचको प्रतिस्पर्धा छ।
- कतिपय मतदाता हरि ढकालको कार्यशैलीप्रति असन्तुष्ट भए पनि अन्य दलले भरपर्दो विकल्प दिन नसक्दा रास्वपाप्रति झुकाव राखेका छन्।
- उम्मेदवारको उमेर र पुस्ताको बहसले प्राथमिकता पाएको छ, तर मतदाताहरूले स्थानीय समस्याहरूभन्दा राष्ट्रिय लहरलाई ध्यान दिइरहेका छन्।
भण्डारा । पूर्वी चितवनको राप्ती नगरपालिका–५, भण्डारा । पूर्व–पश्चिम राजमार्गबाट थोरैभित्र पसेपछि भेटिने बस्तीमा ८२ वर्षीया नानुमाया उप्रेतीको घर छ । क्यान्सर जस्तो जटिल रोगलाई जितेकी नानुमायाको पछिल्लो दिनचर्या फेरिएको छ ।
पहिले आफ्नै घरको दैलो र पिँढीमा सीमित भएर दिन कटाउने उनी अहिले सडकमा गुन्जिने चुनावी कोलाहल र राजनीतिक दलका गतिविधिलाई बडो चासोका साथ नियालिरहेकी छिन् । उनको यो चासोमा केवल रमिता हेर्ने रहर मात्र छैन, एउटा गम्भीर राजनीतिक द्विविधा र निर्णयको सकस पनि लुकेको छ ।
नानुमाया नेपाली कांग्रेसकी परम्परागत मतदाता हुन् । जीवनको लामो कालखण्ड उनले रुख चिह्नमै मत खसालेर बिताइन् । उमेरले आठ दशक काटेकी उनले प्रजातन्त्र पुनर्स्थापनादेखि गणतन्त्रसम्मका धेरै चुनाव देखिन् । तर गत निर्वाचनमा उनको त्यो परम्परागत लय भङ्ग भयो । उनले प्रत्यक्षतर्फको मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाललाई दिइन् ।
अहिले चुनावको सरगर्मी उत्कर्षमा पुग्दै गर्दा पनि नानुमायाको मनको द्विविधा हटेको छैन । कसलाई भोट दिने भन्ने विषयमा उनले अहिलेसम्म ठोस निर्णय गर्न सकेकी छैनन् । ‘अहिले पनि धेरैले घन्टी घन्टी नै भनिरहेका छन् । छोराहरू पनि त्यही भनिरहेका छन्,’ उनी भन्छिन्, ‘पहिला पनि एउटा भोट त त्यसैमा दिएको हो, अहिले के हाल्ने हो थाहा छैन ।’
नानुमाया यस क्षेत्रकी एक प्रतिनिधि पात्र मात्र हुन् । चितवनको मुख्य सहर भरतपुरबाट टिकौली जंगल काटेपछि सुरु हुने निर्वाचन क्षेत्र नम्बर १ मा अहिले यस्तै मनोविज्ञान व्याप्त छ । रत्ननगर, राप्ती र खैरहनी गरी तीनवटा नगरपालिका समेटिएको यो क्षेत्रको चुनावी सरगर्मी भरतपुरको भन्दा कम छैन । यहाँका मतदाताले विभिन्न दल तथा उम्मेदवार र उनीहरूको चुनावी गतिविधिलाई नजिकबाट नियालिरहेका छन् ।
तीनतिर जंगल र उत्तरतर्फ महाभारत पर्वत शृङ्खलाको बिचमा पर्ने यो क्षेत्र सहरीकरणको हिसाबले पश्चिम चितवन जस्तो समृद्ध मानिँदैन । अथाह सम्भावना भएपनि यहाँका आफ्नै मौलिक समस्या छन्, जसले मतदाताको निर्णयलाई प्रभावित पार्ने क्षमता राख्छन् ।
हरि ढकाललाई रोक्ने चुनौती र विकल्पहीनता
चितवन–१ को स्थलगत भ्रमणका क्रममा भेटिएका धेरै मतदातामा अहिले पनि घन्टीको जबरजस्त प्रभाव देखिन्छ । अघिल्लोपटक भारी मतले जिताए पनि सांसद हरि ढकालले खासै केही गर्न नसकेको गुनासो मतदातामा नभएको होइन । तर त्यो असन्तुष्टिका बाबजुद बहुसंख्यक मतदाता पुनः रास्वपाकै पक्षमा खुलेका छन् ।
यसको मुख्य कारण हरि ढकालको लोकप्रियताभन्दा पनि अन्य राजनीतिक दलले भरोसायोग्य विकल्प दिन नसक्नु रहेको पाइएको छ । प्रतिस्पर्धी दलहरूले मतदातालाई आकर्षित गर्ने खालको नयाँ अनुहार र प्रभावकारी चुनावी शैली अपनाउन सकेका छैनन् ।
पुराना दलहरूको परम्परागत शैली र उस्तै अनुहार दोहोरिँदा मतदाताहरूले विकल्प खोज्न नसकेको स्पष्ट देखिन्छ । विपक्षीहरूबाट बलियो ट्याकल नहुँदा हरि ढकाललाई यो चुनाव पहिलेभन्दा सहज हुने विश्लेषण गर्न थालिएको छ ।
उमेरको राजनीति र पुस्ताको लडाइँ
अहिलेको चुनावमा एजेन्डाभन्दा पनि उम्मेदवारको उमेर र पुस्ताको बहसले बढी चर्चा पाएको छ । रास्वपाले कांग्रेस, एमाले र माओवादीलाई ‘पुराना दल’ र आफूलाई ‘नयाँ शक्ति’को रूपमा स्थापित गर्न खोजेको भाष्यलाई चितवन–१ का मतदाताको उमेर र मनोविज्ञानले पनि साथ दिएको देखिन्छ । राष्ट्रिय रूपमा चलेको नयाँ र पुरानाको यो द्वन्द्व यहाँको उम्मेदवारी चयनमा पनि प्रष्टै झल्किन्छ ।
यस क्षेत्रमा कांग्रेसबाट राजेन्द्र बुर्लाकोटी उम्मेदवार छन्, जो ६६ वर्षका भए । त्यस्तै, एमालेका तर्फबाट उम्मेदवार बनेका दावा लामा पनि ६६ वर्षकै हाराहारीमा छन् । उता नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का डा. कृष्णराज पन्त ६१ वर्ष उमेर समूहका छन् । यी पुराना र पाका उम्मेदवारहरूको बिचमा रास्वपाका हरि ढकाल ४२ वर्षका मात्र छन् । झण्डै साढे दुई दशकको यो उमेर अन्तरले मतदाताको मनोविज्ञानमा ठुलो प्रभाव पारेको देखिन्छ ।
उनीहरूका लागि राजेन्द्र बुर्लाकोटी वा दावा लामाको विगतको योगदान भन्दा हरि ढकालको युवा जोसले बढी आकर्षण गरेको छ । यद्यपि, सर्वेक्षणमा सहभागी केही मतदाताले बुर्लाकोटीको व्यक्तित्व र लामो राजनीतिक योगदानको चर्चा गरेको पाइएको छ ।
एमालेको जातीय समीकरण र माओवादीको विद्धता
एमालेले भने आफ्नो कोर क्याडर मतलाई सुरक्षित राख्दै जातीय समीकरणको फाइदा उठाउने रणनीति लिएको देखिन्छ । खासगरी यो क्षेत्रको माथिल्लो बेल्ट अर्थात् महाभारत शृङ्खलासँग जोडिएका वडाहरूमा तामाङ समुदायको उल्लेख्य बसोबास छ ।
तथ्यांकअनुसार यो क्षेत्रमा १२ प्रतिशत जनसंख्या तामाङ समुदायको छ । यही भोट बैंकलाई आकर्षित गर्न एमालेले तामाङ समुदायकै दावा लामालाई अघि सारेको छ । तर सुरेन्द्र पाण्डेजस्ता प्रभावशाली नेताले टिकट नपाउँदा एमालेभित्रको एउटा तप्का असन्तुष्ट देखिन्छ, यसले एमालेलाई धक्का पुग्ने अवस्था देखिएको छ ।
अर्कोतर्फ, नेकपा उम्मेदवार डा. कृष्णराज पन्त आफ्नो बौद्धिक व्यक्तित्वको आधारमा चुनाव जित्ने दाउमा छन् । अर्थशास्त्रमा विद्यावारिधि गरेका उनले आफूलाई अर्थशास्त्री र विकास योजनाकारको रूपमा चिनाउँदै आएका छन् । नातामा एमाले नेता सुरेन्द्र पाण्डेका भान्जा पर्ने पन्तले मामाले टिकट नपाउँदा रुष्ट बनेका एमालेका भोटहरू आफूतिर तान्न सकिने आशामा उनी छन् ।
तर सतहमा भने यो अवस्था देखिँदैन । विगतमा सुरेन्द्र पाण्डेदेखि डा. विश्व पौडेललाई पराजित गरेर पठाएको यो क्षेत्रमा डा. पन्तको बौद्धिक व्यक्तित्वको प्रभाव देखिएको छैन । पहिलेदेखि नै माओवादीलाई भोट हाल्दै आएका सीमित मतदाता बाहेक अन्य स्वतन्त्र मतदाताहरूले रास्वपा र कांग्रेसलाई नै विकल्पका रूपमा हेरेका छन् ।
यसैबिच, जेनजी मतदातालाई रिझाउन अर्का युवा उम्मेदवार विकास कामी ‘स्नेही’ पनि मैदानमा छन् । उनको प्रचार शैली भिन्न भएकाले लचिलो स्वभावका नयाँ मतदाता उनीप्रति आकर्षित भइरहेको देखिन्छ ।
उम्मेदवारका एजेन्डा र मतदाताको बेवास्ता
स्थलगत सर्वेक्षणका क्रममा हामीले यस क्षेत्रका प्रमुख सबै राजनीतिक दलका उम्मेदवारहरूसँग कुराकानी गरेका थियौं । उनीहरू सबैले यो क्षेत्रको विशिष्ट भौगोलिक र सामाजिक समस्याबारे समाधानबारे एजेन्डा प्रस्तुत गरेका छन् ।
खासगरी कृषि, बिउबिजन र मलखादको आपूर्तिमा सुधार, बजार व्यवस्थापन तथा मानव–वन्यजन्तु द्वन्द्व जस्ता गम्भीर समस्या समाधान गर्ने उम्मेदवारहरूको मुख्य एजेन्डा छ । तर मतदातामा भने कुनै पनि उम्मेदवारको एजेन्डाबारे खासै ध्यान दिएको पाइएन ।
यो क्षेत्र अन्तर्गत पर्ने तीनवटै नगरपालिकाहरू कृषिप्रधान क्षेत्र हुन् । चुरेभन्दा उत्तरी भेगमा पर्ने भएकाले यहाँ सिँचाइको चरम अभाव छ । राजमार्ग क्षेत्रमा ट्युबवेल र चापाकलमा पानी आए पनि माथिल्लो भागमा पानीको सतह निकै गहिरो छ । यसले गर्दा किसानहरू आकाशे पानीको भर पर्नुपर्ने बाध्यतामा छन् । त्यस्तै, खेतीको समयमा मल नपाउने र उत्पादन भएको बालीले बजार नपाउने समस्या पनि उत्तिकै पेचिलो छ ।
यी सबभन्दा ठुलो र डरलाग्दो समस्या भनेको मानव–वन्यजन्तु द्वन्द्वको हो । खासगरी दक्षिणी भूभाग चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । निकुञ्जबाट निस्कने हात्ती, गैंडा र बँदेलले बालीनाली सखाप पार्ने मात्र होइन, मानवीय क्षति समेत पुर्याउने गरेका छन् । स्थानीय बासिन्दाले वर्षौंदेखि निकुञ्जको सिमानामा बलियो कङ्क्रिट पर्खाल लगाउनुपर्ने माग गर्दै आएका छन् । उम्मेदवारहरूले शिक्षा र स्वास्थ्यजस्ता पूर्वाधार बाहेक यी समस्यालाई प्राथमिकतामा राखेर भोट मागिरहेका छन् ।
तर मतदाताहरू भने समस्या समाधानको ठोस खाकाभन्दा पनि परम्परागत भोट, राष्ट्रिय रूपमा चलेको लहर र उम्मेदवारको बाहिरी आवरण वा व्यक्तित्वमा बढी केन्द्रित देखिएका छन् । उनीहरू स्थानीय आवश्यकता भन्दा राष्ट्रिय लहरकै आधारमा निर्णय लिने अवस्था देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण