सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
अन्तर्वार्ता

'मध्यपूर्व तनावले ट्रान्जिटमा असर परे पर्यटनमा गम्भीर संकट पर्छ'

मङ्गलबार, १९ फागुन २०८२, २१ : १५
मङ्गलबार, १९ फागुन २०८२

सारांश

  • मध्यपूर्वको तनावले नेपालको हवाई सम्पर्कमा संकट आएको छ, विशेष गरी ट्रान्जिट हबहरू प्रभावित भएका छन्।
  • हवाई भाडा बढेको र पदयात्रा सिजनमा असर परेको छ, जसले पर्यटन क्षेत्रमा गम्भीर असर पार्ने देखिएको छ।
  • नाटा अध्यक्षका अनुसार, सरकारले टर्किस एयरलाइन्सको उडान बढाउन र वैकल्पिक मार्गहरू खोज्न पहल गर्नुपर्छ।

मध्यपूर्वमा चुलिएको तनावका कारण नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्कको ‘लाइफलाइन’ नै संकटमा परेको छ । कतार र दुबईजस्ता मुख्य ट्रान्जिट हबहरू प्रभावित हुँदा पर्यटक आगमन ठप्प हुने, हवाई भाडा अकासिने र पदयात्राको मुख्य सिजन नै ध्वस्त हुने जोखिम बढेको छ । 

यसै सन्दर्भमा नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टका (नाटा) का अध्यक्ष कुमारमणि थपलियासँग रातोपाटीका अमृत चिमरियाले गरेको कुराकानीः 

हाल मध्यपूर्वमा देखिएको तनावले विश्वलाई नै चिन्तित बनाएको छ । नेपालको पर्यटन र हवाई क्षेत्रमा यसको प्रारम्भिक असर कस्तो देख्नुहुन्छ ?

वास्तवमा भन्नुपर्दा, हामी अहिले एउटा निकै गम्भीर र अनपेक्षित संकट (बिग क्राइसिस) को सामना गरिरहेका छौँ । नेपाल एउटा भूपरिवेष्ठित देश हो र हाम्रो अन्तर्राष्ट्रिय सम्पर्कको ९० प्रतिशतभन्दा बढी हिस्सा हवाई मार्गमा निर्भर छ । त्यसमा पनि मध्यपूर्वका देशहरू हाम्रा लागि ‘लाइफलाइन’ वा मुख्य ‘ट्रान्जिट हब’ हुन् । अहिले त्यहाँ देखिएको तनावले गर्दा हवाई मार्ग असुरक्षित हुनु र उडानहरू रद्द हुनु भनेको नेपालको बाँकी विश्वसँगको ढोका बन्द हुनु जस्तै हो । 

अहिले हामी सबै ‘पर्ख र हेर’ (वेट एन्ड वाच) को स्थितिमा छौँ । यो संकट केवल पर्यटकीय दृष्टिकोणले मात्र होइन, मानवीय र आर्थिक दृष्टिकोणले पनि भयावह छ । नेपाल आउने विदेशी पर्यटक मात्र होइन, यहाँबाट बाहिर जाने नेपाली विद्यार्थी, श्रमिक र व्यवसायीहरू सबै उत्तिकै प्रभावित भएका छन् । विशेषगरी ती यात्रुहरू जो मध्यपूर्वी देशहरूमा ट्रान्जिट भएर युरोप वा अमेरिका जानु पर्ने थियो, उनीहरू अहिले अन्योलमा छन् । धेरैको भिसाको म्याद सकिन लागेको छ, धेरैको महत्त्वपूर्ण कामहरू छुटेका छन् । त्यसैले यो प्रारम्भिक असर मात्र होइन, यदि स्थिति छिट्टै सामान्य भएन भने यसले नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन क्षेत्रलाई निकै गहिरो र दीर्घकालीन चोट पुर्‍याउने निश्चित छ । 

नेपालसँगको हवाई सम्पर्कमा मध्यपूर्वी एयरलाइन्सहरूको भूमिका निर्णायक छ । अहिले कुन–कुन एयरलाइन्सका उडानहरू बढी प्रभावित भएका छन् र त्यसले यात्रुको आवागमनमा कस्तो चाप पारेको छ ?
नेपालको अन्तर्राष्ट्रिय उडानमा कतार एयरवेज, फ्लाई दुबई र एमिरेट्सको बजार हिस्सा निकै ठुलो छ । तथ्याङ्कलाई नै हेर्ने हो भने, कतार एयरवेजले दैनिक तीनवटा उडान भर्दै आएको थियो भने फ्लाई दुबईले दैनिक चारवटा सम्म उडान भर्दै आएको थियो । यी दुई एयरलाइन्सले मात्रै दैनिक झन्डै दुई हजार यात्रुहरूलाई सेवा दिइरहेका थिए । युरोप र अमेरिकाबाट नेपाल आउने अधिकांश पर्यटकहरूले यिनै एयरलाइन्सहरूलाई आफ्नो पहिलो रोजाइ बनाउँछन् किनभने यिनको कनेक्टिभिटी निकै राम्रो छ । 

अहिले ती उडानहरू प्रभावित हुँदा वा रद्द हुँदा हजारौँ यात्रुहरू बिचल्लीमा परेका छन् । हाल हामीसँग भरपर्दो विकल्पको रूपमा केवल टर्किस एयरलाइन्स मात्र बाँकी छ । तर एउटा मात्र एयरलाइन्सले सबै चाप धान्न सक्ने अवस्था छैन । यसले गर्दा माग र आपूर्तिको सन्तुलन बिग्रेको छ । जति पनि यात्रुहरू आज वा भोलि नै गन्तव्यमा पुग्नैपर्ने बाध्यतामा हुनुहुन्छ, उनीहरूले अन्य रुटहरूबाट प्रयास गरिरहनुभएको छ, तर ती रुटहरू पनि अहिले निकै महँगा र झन्झटिला भएका छन् । 

ट्रान्जिटमा वा नेपालमै रोकिएका यात्रुहरूको संख्या र उनीहरूको व्यवस्थापनको अवस्था कस्तो छ ?

हामीसँग भएको अनौपचारिक तथ्याङ्क अनुसार, यो रुटबाट दैनिक करिब २ हजार ५ सय देखि ३ हजारको हाराहारीमा यात्रुहरू प्रभावित भइरहेका छन् । यो सानो संख्या होइन । जो यात्रुहरू दुबई, कतार वा अन्य ट्रान्जिटमा रोकिएका छन्, उनीहरूको अवस्था झनै चिन्ताजनक छ । एउटा सकारात्मक कुरा के सुनिएको छ भने, दुबई सरकारले त्यहाँका होटलहरूलाई सर्कुलर जारी गर्दै त्यहाँ रोकिएका यात्रुहरूको होटल र खानाको बिल सरकारलाई बुझाउन भनेको छ । यो एउटा जिम्मेवार सरकारले गर्ने काम हो । 

तर नेपालको सन्दर्भमा भने त्यस्तो कुनै व्यवस्था हुन सकेको छैन । जो पर्यटक नेपाल आउनु भएको थियो र अहिले उडान रद्द भएर रोकिनु भएको छ, उनीहरूले आफ्नै व्यक्तिगत खर्चमा होटलमा बस्नु परिरहेको छ । धेरै यात्रुहरू एयरपोर्ट पुगेर पनि उडान नभएपछि निराश भएर फर्किनु भएको छ । एयरलाइन्सहरूले स्पष्ट सूचना नभई एयरपोर्ट नआउनु भनेर सूचना जारी गरेका छन्, तर कतिपय यात्रुहरू होटलको म्याद सकिएर वा खर्च अभावले गर्दा पनि छटपटाइरहनु भएको छ । नाटाको तर्फबाट हामीले व्यवसायी साथीहरूलाई यात्रुहरूलाई सकेसम्म सहुलियत दरमा सेवा दिन आग्रह गरेका छौँ, तर यो समस्याको समाधान व्यक्तिगत प्रयासले मात्र सम्भव छैन । यसमा राज्यको ठोस नीति र पहलको खाँचो छ । 

नेपालमा पदयात्रा र पर्वतारोहणको यो सिजनको मुखैमा आएको यो संकटले पर्यटन व्यवसायी र लगानीकर्ताहरूलाई कत्तिको त्रसित बनाएको छ ?

यो सिजन हाम्रो लागि ‘पिक सिजन’ हो । विशेष गरी पदयात्रा (ट्रेकिङ) र पर्वतारोहण (माउन्टेनियरिङ) का लागि विश्वभरका पर्यटकहरू यही समयमा नेपाल आउने गर्छन् । अहिले भर्खरै निर्वाचन सम्पन्न भएर एउटा नयाँ उत्साहका साथ पर्यटक आगमन बढ्ने हाम्रो अपेक्षा थियो । तर, मध्यपूर्वको तनावले त्यो उत्साहलाई ठुलो धक्का दिएको छ । धेरै विदेशी पर्यटकहरूले आफ्नो बुकिङ रद्द (क्यान्सिल) गर्न थालिसकेका छन् ।

पर्यटन भनेको यस्तो व्यवसाय हो जहाँ पर्यटकको विश्वास र सुरक्षा सबैभन्दा महत्त्वपूर्ण हुन्छ । यदि उनीहरूलाई नेपाल पुग्नै कठिन हुन्छ वा पुगेपछि फर्किन सकिँदैन भन्ने डर भयो भने उनीहरू आउँदैनन् । अहिले युरोप र अमेरिकाका कतिपय देशहरूले आफ्ना नागरिकलाई मध्यपूर्व हुँदै यात्रा नगर्न ट्राभल एड्भाइजरी जारी गरेका छन् । यसले गर्दा हाम्रो पदयात्रा सिजन नै संकटमा परेको छ । होटल, ट्राभल एजेन्सी, एयरलाइन्स र साना व्यवसायीहरू जसले यो सिजनका लागि ठुलो लगानी गरेका थिए, उनीहरू अहिले निकै चिन्तित छन् । यदि यो स्थिति अझै १५–२० दिन लम्बियो भने हाम्रो वसन्त ऋतुको पुरै सिजन नै ध्वस्त हुने सम्भावना छ, जुन हाम्रो पर्यटन अर्थतन्त्रका लागि अपूरणीय क्षति हुनेछ । 

नेपालमा इजरायलका पर्यटकहरू विशेष गरी ट्रेकिङमा देखिन्छन्  । यो युद्ध र तनावले इजरायली बजारमा कस्तो असर पारेको छ र त्यसको प्रभाव नेपालमा कस्तो देखिँदैछ ? 

इजरायली पर्यटकहरू नेपालका लागि निकै पुराना र भरपर्दो पर्यटक हुन् । इजरायलमा युवाहरूले सैन्य तालिम (मिलिटरी ट्रेनिङ) पुरा गरेपछि उनीहरूलाई सरकारले लामो बिदा र निश्चित रकम दिने गर्छ । त्यो बिदा मनाउन इजरायली युवाहरूको पहिलो रोजाइ नेपाल हुने गरेको छ । उनीहरू अन्नपूर्ण बेस क्याम्प, एभरेष्ट बेस क्याम्प जस्ता रुटहरूमा ठुलो संख्यामा देखिन्छन् । यो एउटा २०औँ वर्षदेखि चल्दै आएको परम्परा जस्तै थियो । 

तर, अहिले इजरायल आफैँ युद्धको केन्द्रमा छ । त्यहाँका युवाहरू अहिले बिदा मनाउन निस्कने अवस्थामा छैनन् । धेरैजसो उनीहरूका नागरिकहरूलाई सैन्य सेवामा फिर्ता बोलाइएको छ । यसले गर्दा इजरायली बजारबाट आउने पर्यटकको संख्या अहिले शून्य प्रायः छ । इजरायल मात्र होइन, समग्र मध्यपूर्व एउटा ट्रान्जिट हब भएकाले त्यहाँबाट आउने र त्यहाँ ट्रान्जिट बनाएर आउने सबै बजार प्रभावित भएका छन् । हाम्रो पर्यटनको एउटा ठुलो हिस्सा इजरायली र युरोपेली पर्यटकहरू हुन्, र यो दुवै समूह अहिले अन्योलमा छन् । 

kumarmani2

हवाई टिकटको मूल्य अकासिएको गुनासो छ । यो संकटको बेला एयरलाइन्सहरूले मौका छोपेका हुन् वा यसको पछाडि अन्य प्राविधिक कारणहरू छन् ? 

यो बजारको सामान्य नियम हो–माग बढी र आपूर्ति कम भएपछि मूल्य बढ्छ । तर, अहिलेको सन्दर्भमा यो केवल नियम मात्र नभएर एउटा गम्भीर समस्या बनेको छ । जब मुख्य रुटहरू बन्द हुन्छन् र केही सीमित एयरलाइन्सहरूले मात्र उडान भर्छन्, तब सिट पाउनै मुस्किल हुन्छ । एउटा उडान रद्द हुँदा त्यहाँका तीन–चार सय यात्रुहरू अर्को उडानमा जान खोज्छन्, जसले गर्दा उपलब्ध सिटहरूको मूल्य आकासिन्छ । 

कतिपय अवस्थामा टिकटको मूल्य साविकको भन्दा दोब्बर वा तेब्बरसम्म पुगेको पाइएको छ । यसले पर्यटकहरूलाई नेपाल आउनै निरुत्साहित गरिरहेको छ । कसैले नेपाल घुम्नका लागि निश्चित बजेट बनाएको हुन्छ, तर हवाई टिकटमै त्यो बजेट सकिने भएपछि उनीहरूले आफ्नो यात्रा स्थगित गर्छन् । यो केवल व्यवसायीहरूको हातमा मात्र छैन, यो अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य, रुट परिवर्तन गर्दा लाग्ने अतिरिक्त खर्च र विमानहरूको उपलब्धतामा पनि भर पर्छ । तर, यस्तो संकटको बेला नियामक निकायले अनुगमन गरी कृत्रिम अभाव र अत्याधिक मूल्य वृद्धिलाई नियन्त्रण गर्न जरुरी छ ।

नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणले यो संकट समाधान गर्न के–कस्ता कूटनीतिक र प्राविधिक पहल गर्नुपर्छ भन्ने नाटाको सुझाव छ ?

हामीले पटक–पटक भन्दै आएका छौँ कि सरकार यस्तो संकटको बेला अलि बढी सक्रिय हुनुपर्छ । अहिले सरकार निर्वाचन र मौन अवधि जस्ता आन्तरिक कुरामा अल्झिएको देखिन्छ, तर अन्तर्राष्ट्रिय संकटले हाम्रो घर दैलोमा ढकढक्याइरहेको छ । हाम्रो पहिलो सुझाव के छ भने, अहिले टर्किस एयरलाइन्स मात्र एउटा भरपर्दो विकल्प हो । टर्किसको उडान संख्या अहिले हप्ताको पाँचवटा मात्र छ । सरकारले तत्काल कूटनीतिक पहल गरेर यसलाई दैनिक दुई वा तीनवटा सम्म पुर्‍याउन आग्रह गर्नुपर्छ । उडान संख्या बढ्ने बित्तिकै यात्रुको चाप घट्छ र मूल्य पनि केही हदसम्म नियन्त्रणमा आउँछ ।

दोस्रो कुरा, भारतका विभिन्न सहरहरू (दिल्ली, मुम्बई) हुँदै हुने कनेक्टिभिटीलाई अझ प्रभावकारी बनाउनु पर्छ । र, सबैभन्दा महत्त्वपूर्ण कुरा, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई यस्तो संकटको बेला प्रभावकारी रूपमा परिचालन गर्न सक्नुपर्छ । यदि हाम्रो आफ्नै बलियो राष्ट्रिय ध्वजावाहक हुन्थ्यो र त्यसले युरोप वा अन्य प्रमुख गन्तव्यमा सिधा उडान भथ्र्यो भने हामी यसरी अरूको ट्रान्जिटमा मात्र भर पर्नु पर्ने थिएन । सरकारले दीर्घकालीन रूपमा सोच्ने बेला यही हो । 

पर्यटन क्षेत्रमा आबद्ध हजारौँ गाइड, पोर्टर र कर्मचारीहरूको रोजगारी यो संकटले कत्तिको जोखिममा पारेको छ ? 

पर्यटन भनेको धेरै मानिसलाई प्रत्यक्ष रोजगारी दिने क्षेत्र हो । नेपालमा ४ हजारभन्दा बढी ट्राभल एजेन्सीहरू छन् र ३ हजारभन्दा बढी ट्रेकिङ कम्पनीहरू छन् । समग्रमा यो क्षेत्रले लाखौँ मानिसलाई रोजगारी दिएको छ । तीमध्ये धेरैजसो दैनिक ज्यालादारीमा काम गर्ने गाइड र पोर्टरहरू हुन् । उनीहरूले वर्षभरिको खर्च यही सिजनमा काम गरेर जुटाउने गर्छन् । 

kumarmani3

यदि पर्यटक नै आएनन् भने ती गाइड र पोर्टरहरूले काम पाउँदैनन् । होटलहरू खाली भएपछि त्यहाँका कर्मचारीहरूको तलबमा समस्या आउँछ । यसले एउटा चेन इफेक्ट  सिर्जना गर्छ । व्यवसायीहरूले बैंकको ऋण तिर्न सक्दैनन्, जसले गर्दा समग्र बैंकिङ क्षेत्रमा पनि असर पर्न सक्छ । त्यसैले यो केवल एउटा ट्राभल एजेन्सीको समस्या होइन, यो एउटा सामाजिक र आर्थिक संकट हो । हामीले बल्ल–बल्ल कोरोनाको महामारीबाट उठेर पुनर्जीवन पाउन खोज्दै थियौँ, तर यो मध्यपूर्वको तनावले फेरि अर्को गहिरो संकट निम्त्याएको छ । 

यो संकटले नेपालको पर्यटन रणनीतिको कमजोरीलाई पनि उजागर गरेको छ । हामीले अब कसरी नयाँ रणनीति बनाउनुपर्छ ताकि भविष्यमा यस्ता बाह्य संकटबाट जोगिन सकियोस् ?

एकदमै सान्दर्भिक प्रश्न । यो संकटले हामीलाई एउटा ठुलो पाठ सिकाएको छ–हामीले आफ्ना सबै अण्डा एउटै टोकरीमा राख्नु हुँदैन । अर्थात्, हामी केवल मध्यपूर्वी ट्रान्जिटमा मात्र निर्भर रहनु हुँदैन । हामीले चीन, भारत र अन्य दक्षिणपूर्वी एसियाली देशहरूसँगको हवाई सम्पर्कलाई अझ बलियो र सिधा बनाउनुपर्छ ।

साथै, हामीले युरोप र अमेरिकाबाट सीधा उडान भर्ने एयरलाइन्सहरूलाई नेपाल ल्याउन विशेष सहुलियत र कूटनीतिक पहल गर्नुपर्छ । भैरहवा र पोखराका अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकेको भए आज काठमाडौँमा मात्र यो चाप हुने थिएन । हामीले पर्यटकका लागि नयाँ र विविध बजारहरू खोज्नुपर्छ । केवल ट्रेकिङमा मात्र भर नपरी धार्मिक, सांस्कृतिक र सम्मेलन पर्यटनलाई पनि बढावा दिनुपर्छ ताकि एउटा क्षेत्र प्रभावित हुँदा अर्कोले धान्न सकोस् । 

सरकारबाट अन्तिम अपेक्षा के राख्नुहुन्छ ?

सरकारसँग मेरो अपेक्षा भनेको–पर्यटनलाई केवल भाषणमा मात्र होइन, व्यवहारमा पनि प्राथमिकताको क्षेत्र मानियोस् । कूटनीतिक नियोगहरूलाई सक्रिय बनाइयोस् र हवाई भाडा नियन्त्रण तथा उडान थप गर्न तत्काल कदम चालियोस् । यदि अहिले सरकारले साहस र विवेकपूर्ण निर्णय लिन सकेन भने हाम्रो पर्यटन क्षेत्रले पुनः लय समात्न धेरै वर्ष लाग्न सक्छ । नाटाको तर्फबाट हामी जस्तोसुकै सहयोग गर्न तयार छौँ, तर नेतृत्व राज्यले नै लिनुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप