सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
राष्ट्र बैंक

राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर रिक्त हुँदै, कसको सम्भावना बढी ?

बुधबार, २० फागुन २०८२, १८ : ३०
बुधबार, २० फागुन २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नरको पद एक साताभित्र रिक्त हुँदैछ, र नयाँ सरकार गठनको अन्योलले गर्दा नियुक्तिबारे चासो कम छ।
  • डेपुटी गभर्नरको नियुक्ति प्रक्रियामा गभर्नरले कार्यकारी निर्देशकहरूमध्येबाट चार जनाको नाम सिफारिस गर्नेछन्, जसमध्ये दुई जनालाई मन्त्रिपरिषद्ले नियुक्त गर्नेछ।
  • आकांक्षीहरूले दौडधुप नगर्दा राष्ट्र बैंकभित्र डेपुटी गभर्नरको नियुक्तिको विषयमा पहिलेजस्तो चर्चा पनि छैन।

काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नरको पद एक साताभित्र रिक्त हुँदैछ । यही फागुन २४ गतेदेखि गभर्नरद्वय नीलम ढुंगाना र बमबहादुर मिश्रले नियमित अवकाश पाउन लागेका हुन् । दुवै डेपुटी गभर्नरहरूले २०७७ फागुन २५ गते नियुक्ति पाएका थिए । राष्ट्र बैंकमा डेपुटी गभर्नरको कार्यावधि पाँच वर्षको हुने व्यवस्था छ । 

राष्ट्र बैंकमा डेपुटी गभर्नर हुन नियुक्ति हुँदाको बखत कार्यकारी निर्देशक हुनुपर्छ । यस अनुसार राष्ट्र बैंकका सबै १८ जना कार्यकारी निर्देशकहरू डेपुटी गभर्नरका प्रत्यासी हुन् । 

अहिले ती प्रत्यासीहरूमध्ये को–को डेपुटी गभर्नर बन्ला भन्ने चासो सुरु भएको छ । व्यक्तिको क्षमता, व्यक्तित्व र सम्बन्धका आधारमा विभिन्न अड्कलबाजी समेत सुरु भएका छन् । यद्यपि अघिल्लो पटकजस्तो दौडधुप भने यसपटक नदेखिएको राष्ट्र बैंक कर्मचारीहरू बताउँछन् । 

किन कम छ डेपुटी गभर्नर नियुक्तिको चर्चा ?

डेपुटी गभर्नरका आकांक्षीहरूबिच विगतको जस्तो दौडधुप नहुनुको मुख्य कारण भनेको डेपुटी गभर्नरको नियुक्ति कुन सरकारले गर्छ भन्ने अन्योल हो ।   

बिहीबार प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । यो निर्वाचनबाट बन्ने प्रतिनिधिसभाले केन्द्रमा नयाँ सरकार निर्माण गर्नेछ । निर्वाचन आयोगले मतदान सकिएको २४ घण्टाभित्र प्रत्यक्षतर्फ र ७२ घण्टाभित्र समानुपातिकतर्फको नतिजा समेत सार्वजनिक गर्ने लक्ष्यसहित तयारी गरिरहेको जनाएको छ । 

आयोगले भनेअनुसार निर्वाचन प्रक्रिया अघि बढ्ने एक/डेढ सातामा नयाँ सरकार बन्न सक्छ । यो अवस्थामा अहिलेको सरकारले राष्ट्र बैंकमा नियुक्ति गर्छ भन्ने विश्वासमा आकांक्षीहरू देखिँदैनन् । 

अर्कोतिर अब आउने सरकार कसको नेतृत्वमा बन्छ र कस्तो बन्छ र कोसँग अप्रोच गर्ने भन्ने अन्योल हुँदा डेपुटी गभर्नरका आकांक्षीले यसपटक खासै दौडधुप नगरेको राष्ट्र बैंकका कर्मचारीहरू बताउँछन् । 

‘कसको सरकार बन्छ भन्ने निश्चित नभएर पनि हुन सक्छ, विगतमा जस्तो दौडधुप यसपटक देखिएको छैन,’ राष्ट्र बैंकका एकजना कर्मचारी भन्छन्, ‘चुनावमा कुन पार्टीको कस्तो पोजिसन होला भन्ने मोटामोटी अनुमान त छ, तर ठुलो दल हुँदैमा त्यसैले सरकार नै बन्छ भन्ने पनि होइन, पार्टीका नेताहरू चुनावमा व्यस्त भएकाले पनि यसपालि दौडधुप भएको जानकारी छैन ।’

आकांक्षीहरूले दौडधुप नगर्दा राष्ट्र बैंकभित्र डेपुटी गभर्नरको नियुक्तिको विषयमा पहिलेजस्तो चर्चा पनि छैन । धेरैजसो छलफल कुन पार्टीले जित्ला र कस्तो सरकार बन्ला भन्नेमै केन्द्रित रहेकाले पनि राष्ट्र बैंकभित्रको नियुक्तिको चर्चा कम भएको ती कर्मचारी बताउँछन् । 

यस्तो छ नियुक्ति प्रक्रिया

डेपुटी गभर्नर नियुक्तिका लागि गभर्नरले कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम सिफारिस गरेर पठाउँछन् । त्यसमध्ये २ जनालाई मन्त्रिपरिषद्ले नियुक्ति गर्ने व्यवस्था छ ।

राष्ट्र बैंकबाट हुने सिफारिसमा  यसपटक गभर्नर बढी स्वतन्त्र हुनसक्ने कार्यकारी निर्देशकहरूको विश्लेषण छ । यो अवस्थामा गभर्नरले राष्ट्र बैंकको आवश्यकता हेरेर डेपुटी गभर्नरको सिफारिस हुनुपर्ने बताउँछन् ।  

‘विगतमा प्रभावका आधारमा डेपुटी गभर्नर नियुक्ति हुँदा राष्ट्र बैंकको इमेजमा कस्तो क्षति पुग्यो भन्ने गभर्नर साबलाई राम्रोसँग थाहा छ,’ एकजना कार्यकारी निर्देशक भन्छन्, ‘यसपटक राष्ट्र बैंक सिफारिसमा स्वतन्त्र हुन्छ भन्ने लाग्छ । गभर्नर साबलाई हामी सबैको बारेमा राम्रोसँग थाहा छ, राष्ट्र बैंकको आवश्यकता हेरेर निर्णय गर्नुहुन्छ भन्ने अपेक्षा छ ।’

केही कर्मचारीहरूले भने डेपुटी गभर्नरको सिफारिस गर्दा क्षेत्रगत सन्तुलन मिलाउन गभर्नरलाई सुझाव दिइरहेका छन् । खासगरी आर्थिक तथा मौद्रिक क्षेत्र र वित्तीय प्रणालीसँग सम्बन्धित विज्ञबाट एक एक जना डेपुटी गभर्नर नियुक्ति हुनुपर्नेमा उनीहरूको जोड छ । 

विगतमा यसलाई ध्यान नदिँदा एकपक्षीय नीति आएको र यसले बैंकिङ क्षेत्रको नियमन, सुपरीवेक्षणदेखि आर्थिक क्षेत्रको मूल्यांकनसम्म प्रभाव परेको रिपोर्टिङ कर्मचारीहरूको छ । 

को-को छन् प्रतिस्पर्धी, गभर्नरको रोजाइमा को पर्लान् ?

राष्ट्र बैंकका १८ कार्यकारी निर्देशकहरूमा नरेश शाक्य, रेवती नेपाल, रामु पौडेल, विश्रुत थापा, दयाराम शर्मा, गुरुप्रसाद पौडेल, किरण पण्डित, डा. सत्येन्द्र तिमल्सिना तथा चेतप्रसाद उप्रेती छन् । 

त्यस्तै, रोशनकुमार सिग्देल, डा. रामशरण खरेल, डा. डिल्लीराम पोखरेल, दीर्घबहादुर रावल, निश्चल अधिकारी, अनुज दाहाल, दीपकराज लामिछाने, राजनविक्रम थापा र राजेन्द्र भट्टराई कार्यकारी निर्देशकको रुपमा रहेका छन् । 

उनीहरूमध्ये सत्येन्द्र तिमल्सिना, रामशरण खरेल, डिल्लीराम पोखरेल, रोशन सिग्देल लगायतलाई मौद्रिक तथा आर्थिक क्षेत्रका जानकार मानिन्छ । अर्थशास्त्रको राम्रो ज्ञान हुने व्यक्ति नहुँदा समस्या भएको भन्ने गुनासोबिच उनीहरूमध्येबाट सिफारिस हुने सम्भावना देखिन्छ । 

उल्लेखित उम्मेदवारमध्ये सत्येन्द्र तिमल्सिना गभर्नर पौडेलसँग पुरानो चिनजानका व्यक्ति हुन् । अमृत साइन्स क्याम्पसमा हुँदा उनीहरू एउटै संगठनमा रहेको बताइन्छ । 

दीर्घ रावल गभर्नर पौडेलका विद्यार्थी हुन् । काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (कुसुम) मा पौडेलले रावललाई अध्यापन गराएका थिए, सोही कारणले गभर्नरको रोजाइमा उनी पर्न सक्छन् कि भन्ने विश्लेषण राष्ट्र बैंकभित्र हुने गरेको छ । 

गुरू पौडेल र रामु पौडेलले पछिल्लो समयमा गभर्नरलाई विश्वासमा राख्न सफल व्यक्ति मानिन्छन् । नियमन तथा सुपरीवेक्षणको अनुभव र सक्रियताको आधारमा उनी पनि गभर्नरको रोजाइमा पर्नसक्ने विश्लेषण हुने गरेको छ ।

वरीयताक्रमका आधारमा नियुक्ति भएको अवस्थामा नरेश शाक्य, रेवती नेपाल समेत रोजाइमा पर्ने सम्भावना रहेको राष्ट्र बैंकभित्र चर्चा हुने गरेको छ । 

यद्यपि डेपुटी गभर्नर नियुक्तिमा यसअघि हुने गरेको सरकारी चासोका कारण जोकोही पनि सिफारिसको सम्भावनाबाट बाहिर भने छैनन् । नयाँ सरकारको समीकरणले यसलाई निर्धारण गर्नसक्ने राष्ट्र बैंकका कर्मचारीहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप