देशले अब नालायकहरूको मात्र होइन, लफङ्गाहरूको शासन भोग्नुपर्छ : घनश्याम भुसाल
सारांश
- घनश्याम भुसालले केपी ओली र प्रचण्डलाई कम्युनिस्ट आन्दोलनको संकटको दोषी ठहराए।
- उनले दुई नेताको सत्तालिप्साका कारण देशले लफङ्गाहरूको शासन भोग्नुपर्ने चेतावनी दिए।
- भुसालले ओली र प्रचण्डलाई सत्ता हस्तान्तरण गर्न र नयाँ पुस्तालाई नेतृत्व सुम्पन आग्रह गरे।
काठमाडौँ । नेकपा( संयुक्त ) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कम्युनिस्ट आन्दोलनको वर्तमान सङ्कटका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख दोषी ठहर गरेका छन् ।
सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै भुसालले यी दुई नेताको नालायकीपन र सत्तालिप्साका कारण देशले अब नालायकहरूको मात्र होइन, लफङ्गाहरूको शासन भोग्नुपर्ने गम्भीर चेतावनी दिए ।
भुसालले बितेका १० वर्षमा कम्युनिस्ट पार्टीले प्राप्त गरेका दुई ठुला र ऐतिहासिक अवसर गुमाएको बताए । २०७४ सालको निर्वाचनपछि प्राप्त अकल्पनीय संसदीय शक्ति र लोकतान्त्रिक स्थिरताको अवसर केपी ओलीको अप्राकृतिक र व्यक्तिवादी महत्त्वाकाङ्क्षाका कारण गुमेको उनको निष्कर्ष छ ।
इतिहासमै पहिलोपटक कम्युनिस्टहरूले प्राप्त गरेको राजनीतिक स्थिरता र समृद्धिको बाटो ओलीकै कारण भत्किएको भुसालले दाबी गरे । त्यस्तै, कम्युनिस्ट पार्टीको विभाजन र त्यसपछिको विध्वंसबाट पाठ सिकेर नेतृत्वबाट बिदा लिनुपर्नेमा ओली र प्रचण्ड दुवैले सत्ताको कुण्ठा मात्र प्रदर्शन गरेको उनले बताए । आफ्ना शृङ्खलाबद्ध प्रयोगहरू असफल भइसक्दा पनि यी दुई नेताले सत्ता नछाड्नुलाई भुसालले कम्युनिस्ट आन्दोलनमाथिको दोस्रो ठुलो घात मानेका छन् ।
एमाले अध्यक्ष ओलीको आलोचना गर्दै भुसालले उनलाई नालायकीपनको कुण्ठा प्रदर्शन गर्ने नेताको रूपमा चित्रित गरे । महाधिवेशनमा ओलीले देखाएको दम्भलाई कसले के गर्न सक्छ भन्ने हठको संज्ञा दिँदै भुसालले एमालेलाई अजिङ्गरले खरायो समातेजस्तो र उल्टिँदै गरेको जमिनदारजस्तो अवस्थामा पुर्याइएको टिप्पणी गरे । हिजोको वैभव भत्किँदै गएको र त्यसको अवसादबाट उब्जिएको दुश्चिन्तामा एमाले नेतृत्व फसेको उनको भनाइ छ ।
माओवादी अध्यक्ष प्रचण्डको आलोचनामा पनि भुसाल उत्तिकै आक्रामक सुनिए । प्रचण्डले जनयुद्धलाई एउटा कम्पनीको रूपमा मात्र प्रयोग गरेको र नाफा जति नयाँ कम्पनी नेकपामा सारेर ऋण र दायित्व जति पुरानै माओवादी कम्पनीमा छाडिदिएको आरोप उनले लगाए ।
जनयुद्धका आँसु, रगत र मर्मको ऋण तिर्नबाट प्रचण्डले आफूलाई मुक्त गरिसकेको भन्दै भुसालले अब उनी सत्ताको वरिपरि घुम्ने म्याजिक नम्बरको खेलमा मात्र सीमित भएको बताए । यति धेरै घेराबन्दीका बिच पनि आफूले चुनाव जित्नु वा सत्तामा रहनुलाई नै प्रचण्डले जनयुद्धको सबैभन्दा ठुलो उपलब्धि ठान्ने गरेको भन्दै भुसालले व्यङ्ग्य गरे ।
यही नालायक नेतृत्वका कारण आसन्न निर्वाचनको नतिजा कम्युनिस्ट आन्दोलनका लागि तेस्रो र सबैभन्दा घातक धक्का हुने भुसालको विश्लेषण छ । यो मुलुकले नालायकहरूको शासन त भोगिसकेको तर अब नसुध्रिने हो भने लफङ्गाहरूको शासन भोग्नुपर्ने दुर्दिन आउँदै गरेको उनले स्पष्ट पारे । उनले महाभारतको कथासँग तुलना गर्दै ओली र प्रचण्डको नेतृत्वमा रहिरहनु भनेको पाण्डवहरूले जुवाको खालमा द्रौपदीलाई दाउमा राखेजस्तै सत्ताको कुलतमा सिङ्गो कम्युनिस्ट आन्दोलनलाई दाउमा राख्नु भएको बताए ।
अब कम्युनिस्ट आन्दोलनलाई बचाउने एउटै मात्र विकल्प ओली र प्रचण्डले सत्ता हस्तान्तरण गर्नु रहेको भुसालको ठहर छ । उनले यी दुवै नेतालाई आफूले आजसम्म गरेको योगदानको दाबी गर्दै नयाँ पुस्तालाई नेतृत्व सुम्पन र आफ्ना कमजोरी सुधार्ने हिम्मत देखाउन सार्वजनिक अपिल गरेका छन् ।
कम्युनिस्ट पार्टीभित्र र बाहिर रहेका तमाम वामपन्थी समर्थक, बुद्धिजीवी र कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै भुसालले पार्टी र आन्दोलनको पुनर्गठनका लागि नयाँ संवाद र पुनर्जागरणको अभियानमा जोडिन आह्वान गरेका छन् । नेतृत्वको कुलतले ल्याएको यो सङ्कटलाई चिर्न तत्कालै वैचारिक बहस सुरु नगरे कम्युनिस्ट आन्दोलनले थप ठुलो क्षति व्यहोर्ने उनको चेतावनी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण