मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मतपरिणाम

एमालेको ‘लालकिल्ला’ कास्की २ मा रास्वपाको सानदार उदय

शनिबार, २३ फागुन २०८२, ०६ : ३३
शनिबार, २३ फागुन २०८२

सारांश

  • कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एमालेको गढ भत्काउँदै ऐतिहासिक जित हासिल गर्यो।
  • रास्वपाका उत्तमप्रसाद पौडेलले ३१ हजार ९११ मत ल्याएर विजयी हुँदा एमालेका रश्मि आचार्यले ७ हजार ४९३ मत मात्रै प्राप्त गरे।
  • यस निर्वाचनमा राप्रपा तेस्रो स्थानमा रहँदा स्वतन्त्र उम्मेदवारहरूको उपस्थिति प्रभावकारी देखिएन।

पोखरा । नेकपा एमालेको अभेद्य गढ मानिँदै आएको कास्की क्षेत्र नम्बर २ मा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हात पारेको छ। २०६४ सालको प्रचण्ड लहरमा समेत कसैले भत्काउन नसकेको एमालेको यो विरासतलाई रास्वपाका उम्मेदवार उत्तमप्रसाद पौडेलले निकै फराकिलो मतान्तरले ध्वस्त पारिदिएका छन्।

भर्खरै सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पौडेल ३१ हजार ९११ मत प्राप्त गर्दै विजयी बनेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले जम्मा ७ हजार ४९३ मत मात्रै पाए। यो नतिजाले एमालेलाई आफ्नै गढमा स्तब्ध बनाएको छ। विजयी पौडेल र आचार्यबीचको मतान्तर २४ हजार ४१८ रहेको छ, जुन कास्कीको चुनावी इतिहासमा निकै ठूलो मानिन्छ।

यो क्षेत्रमा काँग्रेसमा माधवप्रसाद बाँस्तोला (मधु) तेस्रो भए । उनले ६ हजार ५ सय मत प्राप्त गरेका छन् ।

यसअघि २०७९ सालको निर्वाचनमा रास्वपा यो क्षेत्रमा ४ हजार ५ सय मतले पछाडि परेको थियो। यद्यपि, त्यतिबेला समानुपातिकतर्फ रास्वपा नै पहिलो दल बनेको थियो। यसपटक नेपाली कांग्रेस त्यागेर रास्वपा प्रवेश गरेका उत्तमले एमालेको गढमा धावा मात्रै बोलेनन्, मुख्य प्रतिस्पर्धीलाई चार गुणाभन्दा बढी मतले पराजित गरिदिए।

चुनावी प्रतिस्पर्धामा परम्परागत शक्तिहरूको अवस्था निकै नाजुक देखिएको छ। यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीलाई पछाडि पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तेस्रो स्थानमा आएको छ। राप्रपाका हेमजंग गुरुङले १ हजार ६४३ मत ल्याउँदा नेकपाका हेमबहादुर थापा (किरण) १ हजार २७६ मतसहित पाँचौँ स्थानमा खुम्चिएका छन्। उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २०१ मत प्राप्त गरे।

दलहरूपछि स्वतन्त्र उम्मेदवारहरूको उपस्थिति पनि खासै प्रभावकारी देखिएन। स्वतन्त्र उम्मेदवार बसन्त राज घिमिरेले १३१ र विष्णुप्रसाद तिवारीले १३० मत पाए। मंगोल नेशनल अर्गनाइजेसनका ओलबहादुर गुरुङले ११९ मत ल्याएर सयको आँकडा पार गरे पनि अन्य ८ जना उम्मेदवारले भने दोहोरो अंकमा नै चित्त बुझाउनु पर्यो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप