मत परिणामसँगै किसान खेततिर, तस्बिरहरू
सारांश
- सप्तरीका किसानहरू नयाँ सरकारले मल, सिँचाइ र बिजुली दिने आशामा चैते धान रोप्न थालेका छन्।
- चैते धान छोटो समयमै तयार हुने र बर्खे धानको तुलनामा उत्पादन दोब्बर हुने भए पनि यसको खेती खर्चिलो छ।
- सिँचाइको अभावका कारण किसानहरू मर्कामा परेका छन्, जसले गर्दा निःशुल्क सिँचाइको माग गरेका छन्।
सप्तरी । प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै निर्वाचित जनप्रतिनिधिहरू संसद् भवन छिर्ने तयारीमा छन्। यता भोट दिएर जिताउने सप्तरीका किसानहरू भने नयाँ सरकारले समयमै मलखाद, सिँचाइ र विद्युत् उपलब्ध गराउने आशा बोकेर चैते धान रोप्न खेततिर लागेका छन्। सप्तरीका विभिन्न पालिकामा अहिले चैते धान रोप्ने चटारो सुरु भएको छ।

सामान्यतया फागुनमा बीउ राखेर चैतको सुरुमा रोपेपछि जेठ १५ गतेदेखि भित्र्याउन सकिने यो धान ८० देखि ९० दिनको छोटो अवधिमै तयार हुन्छ। मङ्सिरमा भित्र्याइने बर्खे धानको तुलनामा चैते धानको उत्पादन दोब्बर हुने भए पनि यो खेती निकै खर्चिलो रहेको किसानहरूको अनुभव छ।

बीउ उखेल्ने, खेत जोत्ने र गोडमेल गर्ने खर्चभन्दा सिँचाइमा हुने खर्चले किसानलाई मर्कामा पारेको छ। बिजुलीबाट बोरिङ चलाउँदा प्रतिकठ्ठा दुई सय र डिजेल प्रयोग गर्दा तीन सय रुपैयाँसम्म खर्च हुने भएपछि किसानहरूले सिँचाइको निःशुल्क व्यवस्था मिलाउन माग गरेका छन्।

सुख्खा मौसम भएकाले हरेक चार दिनमा सिँचाइ गर्नुपर्ने बाध्यताका कारण लागत बढेको स्थानीय किसानहरू बताउँछन्। कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार यस वर्ष जिल्लाका विष्णुपुर, छिन्नमस्ता, राजगढ, तिलाठी कोइलाडी, महदेवा, रूपनी लगायतका १८ वटा पालिकामध्ये अधिकांश स्थानमा गरी करिब २ हजार ५ सय हेक्टर जग्गामा चैते धान लगाइँदै छ। धेरै घाम लाग्ने समयमा हुने भएकाले यो धानको उत्पादन क्षमता बर्खे धानको तुलनामा बढी हुने गरेको विज्ञहरूको भनाइ छ।

कृषि मन्त्रालयको तथ्याङ्कले पनि नेपालमा असारे धानको तुलनामा चैते धानको उत्पादकत्व बढी देखाउँछ। नेपालमा असारे धान प्रतिहेक्टर ३.७४ टन फल्दा चैते धान भने ४.९८ टनसम्म उत्पादन हुने गरेको छ। देशभर १ लाख ८ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा चैते धान खेती हुने गरे पनि सिँचाइको अभाव मुख्य समस्याको रूपमा रहेको छ। नयाँ बन्ने सरकारले सिँचाइ र मलको सुनिश्चितता गर्न सके धान उत्पादन बढाएर मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिने देखिन्छ।











तस्बिर : विजेन अमात्य/ नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण