आफूले टिकट नपाए पनि पार्टीको किल्ला जोगाएका कांग्रेस नेताहरू
सारांश
- निर्वाचनमा टिकट नपाएका कांग्रेस नेताहरूले पनि पार्टीका उम्मेदवारलाई जिताउन महत्वपूर्ण भूमिका खेले।
- तेह्रथुममा सीता गुरुङ, मुगुमा ऐनबहादुर शाही र बाजुरामा बद्री पाण्डेले पार्टीका लागि योगदान गरे।
- राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभावका बाबजुद, रसुवा, मनाङ र मुस्ताङमा कांग्रेस नेताहरूले आफ्नो सिट जोगाए।
काठमाडौँ । २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिट जित्यो । त्यसमध्ये एक महिलाले मात्रै प्रत्यक्षतर्फ जितेकी थिइन् । तेह्रथुमबाट त्यो बेला प्रत्यक्षमा निर्वाचित एक्ली कांग्रेस महिला सीता गुरुङ २०८२ मा पनि प्रत्यक्षतर्फ नै उम्मेदवार बन्न चाहन्थिन् । उनले उम्मेदवारीका लागि सिफारिस गरिदिन जिल्ला कार्यसमितिमा निवेदन दिइन् ।
उनको त्यो निवेदन जिल्ला समितिले कार्यान्वयन गरेन । जिल्ला समितिको सिफारिसमा कांग्रेसको कोशी प्रदेश समितिले गुरुङको नाम थपेर पठायो । तर, टिकट वितरण हुने बेलामा विशेष महाधिवेशनबाट पार्टी नेतृत्व नै फेरियो । १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा निकट मानिएकी गुरुङलाई विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापाले टिकट दिएनन् । सन्तोष सुब्बाले सो क्षेत्रका लागि पार्टीको टिकट पाए ।
आफूले टिकट नपाएपछि निर्वाचन प्रचारमा गुरुङ खुलेर नलाग्ने धेरैको आकलन थियो । तर, उनी सुब्बाले टिकट लिएर गएपछि सँगसँगै तेह्रथुम पुगिन् र जिताउन लागिन् । परिणाम पनि सोचेजस्तै आयो ।
सुब्बा एमाले उम्मेदवार भानुभक्त ढकाललाई हराउँदै निर्वाचित भए । सुब्बा ११ हजार ५६१ मत ल्याएर निर्वाचित हुँदा ढकालले १० हजार ६८२ मतमात्र पाए ।
गुरुङले पार्टीका उम्मेदवारलाई जिताउनु आफ्नो दायित्व सम्झेर भरमग्दुर प्रयास गरी जिताएको बताइन् । उनले भनिन्, ‘म टिकटको दाबेदार थिएँ । उहाँ (सुब्बा) पनि दाबेदार हुनुहुन्थ्यो । पार्टीले उहाँलाई टिकट दियो । त्यसपछि पार्टीका उम्मेदवारलाई जिताउनुपर्छ भन्नेमा म लागेँ । भरमग्दुर प्रयास गरियो । परिणाम पनि सोचेजस्तै आयो ।’
पार्टीको किल्ला जोगाउनका लागि पार्टीभित्रको गुटलाई वास्ता नगरी लागेको गुरुङको भनाइ थियो । ‘निर्वाचनमा होमिँदैगर्दा पार्टीभित्र किचलो थियो । तर, त्यो किचलो भन्दा ठुलो कुरा पार्टीको किल्ला बचाउने थियो । प्रयास गरेर बचाउन सफल भयौँ,’ गुरुङले भनिन् ।
मुगुका ऐनबहादुर शाही पनि यस्तै अर्का नेतामा पर्छन् । कांग्रेस मुगुका सभापतिसमेत रहेका ऐनबहादुरले ०७९ मा मुगुबाट प्रत्यक्षतर्फ जितेका थिए । उनी यो पटक पनि टिकटका दाबेदार थिए । सभापति थापाले एक पटक उनलाई टिकट दिएर पनि खोसे । अन्तिम समयमा खड्ग शाहीलाई कांग्रेसले उम्मेदवार बनायो । आफूले पाउनुपर्ने टिकट अर्काले पाए पनि ऐनबहादुर आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन लागे । ऐनबहादुरको साथ पाएपछि खड्गले निर्वाचन जिते ।
खड्ग ७ हजार ९१४ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार पूर्णबहादुर रोकायाले ६ हजार ७१८ मत ल्याए ।
आफ्नो किल्ला जोगाउन गरेको भरमग्दुर प्रयास सफल भएको एनेबहादुरले प्रतिक्रिया दिए । ‘आफूले टिकट नपाउने भन्दा पनि पार्टीको किल्ला जोगाउनुपर्छ भन्ने मेरो मान्यता हो । त्यही मान्यताअनुसार काम गरेँ,’ शाहीले रातोपाटीसँग भने, ‘परिश्रम अनुसारको नतिजा आएकोमा खुसी छु ।’
बाजुराबाट ०७९ मा प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित भएका निवर्तमान सहमहामन्त्री बद्री पाण्डे पनि आफूले पाउनुपर्ने टिकट लिन्नँ, निर्वाचन लड्दिनँ भनेर पार्टीका उम्मेदवारलाई जिताएर कांग्रेसको किल्ला बचाउने नेतामा पर्छन् । पाण्डेले यो पटक निर्वाचन नलड्ने घोषणा निर्वाचन अगाडि नै रातोपाटीसँग गरेका थिए । आफू निर्वाचन नलडे पनि पार्टीले टिकट दिएका जनकराज गिरीलाई साथ दिएर उनले जिताए ।
गिरी १७ हजार १७३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी बनेका एमालेका उम्मेदवार लालबहादुर थापाले १६ हजार ६३३ मत ल्याए ।
आफूले निर्वाचन नलड्ने घोषणा गर्दा पार्टीको उम्मेदवारलाई जिताउँछु भन्ने प्रतिबद्धता जनाएको र त्यो प्रतिबद्धता पूरा गरेर छाडेको पाण्डेले बताए । उनले रातोपाटीसँग भने, ‘निर्वाचन आयोगले प्रचारप्रसारका लागि दिएको समयको सुरुवातदेखि जनताको घरघरमा पुगेर मत माग्यौँ । अन्तिमसम्म लाग्यौँ । परिणाम भनेअनुरुप नै आयो । खुसी लागेको छ ।’
यी नेताहरुले जस्तै अन्यत्र पनि टिकट नपाएका नेताहरु पार्टीको उम्मेदवार जिताउन खटिएका भए केही उम्मेदवारले पनि जित्न सक्ने बताइन्छ l
३ नेताले आफैँ जोगाए आफ्नो किल्ला
देशैभरि राष्ट्रिय स्वतन्त्र पार्टीको माहोल आउँदा पनि कांग्रेसका ३ नेता आफ्नो पुरानो किल्ला जोगाउन सफल भएका छन् । आफ्नो किल्ला जोगाउन सफल हुनेमा रसुवाका मोहन आचार्य, मनाङका टेकबहादुर गुरुङ र मुस्ताङका योगेश गौचन थकाली छन् ।
रसुवामा आचार्यले १० हजार ६५६ मत ल्याएर निर्वाचित हुँदै आफ्नो किल्लाको रक्षा गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका बसन्त भट्टले ५ हजार ५७१ मत ल्याए ।
मुस्ताङमा थकालीले ३ हजार ३०७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार इन्द्रधारा विष्टले १ हजार ८०१ मत ल्याए ।
मनाङमा गुरुङले २ हजार ४१५ मत ल्याएर आफ्नो किल्ला रक्षा गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार यशोदा गुरुङ (सुवेदी)ले ४५४ मतमात्रै ल्याउन सकिन् ।
जसले आफ्नो किल्ला जोगाउन सकेनन्
कांग्रेसका केही नेताले आफ्नो पुरानो किल्ला जोगाउन सकेनन् । मोरङ–३ मा डा. सुनिल शर्मा, मोरङ–६ मा डा. शेखर कोइराला, सुनसरी–४ मा ज्ञानेन्द्रबहादुर कार्की, सप्तरी–३ मा दिनेश यादव, सप्तरी–४ मा तेजुलाल चौधरी, महोत्तरी–४ मा महेन्द्रकुमार राय, रौतहट–४ मा देवप्रसाद तिमल्सेना, पर्सा–२ मा अजय चौरसिया अघिल्लो निर्वाचन जितेर पनि यो पटक पराजित भए ।
यस्तै, पर्सा–४ मा रमेश रिजाल, काठमाडौँ–५ मा प्रदीप पौडेल, ललितपुर–१ मा उदय शमशेर राणा, तनहुँ–२ मा शंकर भण्डारी, गुल्मी–१ मा डा. चन्द्रकान्त भण्डारी, कपिलवस्तु–२ मा सुरेन्द्रराज आचार्य, दाङ–३ मा दीपक गिरी, नवलपरासी–१ मा विनोद चौधरी, दैलेख–२ मा दिक्पाल शाही, अछाम–२ मा पुष्पबहादुर शाह र कञ्चनपुर–२ मा उम्मेदवार एनपी साउदले आफ्नो किल्ला जोगाउन सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
-
दुई दशकदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउन पहल
-
बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?
-
रास्वपा प्रथम महाधिवेशन : राेकिएकाे बन्दसत्र आज, प्रतिनिधि परिचयपत्र वितरण सुरु
-
हालान्डको दोस्रो गोल, सेनेगलविरुद्ध नर्वे ३–१ गोलले अगाडि
-
सेनेगलले फर्कायो एक गोल, नर्वे अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण