शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
अन्तर्वार्ता

मानवशास्त्री सुरेश ढकालको विश्लेषण : अबको चुनाव भूगोलबाट एल्गोरिदममा सरेको छ

‘रास्वपाका समर्थक विश्वासी जमातजस्ता छन्, त्यहाँ प्रश्न हुँदैन विश्वास मात्र हुन्छ’
मङ्गलबार, २६ फागुन २०८२, ०९ : ४३
मङ्गलबार, २६ फागुन २०८२

सारांश

  • मानवशास्त्री सुरेश ढकालले हालैको चुनावी नतिजालाई रोचक मानेका छन्, जसले भावी नेपालको चित्र प्रस्तुत गर्दछ।
  • उनका अनुसार, सामाजिक सञ्जालको प्रभाव र डिजिटल प्लेटफर्मको प्रयोगले निर्वाचनमा ठूलो भूमिका खेलेको देखिन्छ।
  • ढकालले रास्वपाको उदयलाई 'नयाँ धर्म' को रूपमा व्याख्या गर्दै, पुराना राजनीतिक दलहरूको अक्षमतालाई औंल्याए।

‘ल्याण्ड एण्ड एग्रेरियन क्वेस्चन्सस् एसेज अन ल्याण्ड टेन्योर, एग्रेरियन रिलेसन्स एण्ड पिजेन्ट मुभमेन्ट्स इन नेपाल’, ‘नेपालमा भूस्वामित्व र भूमिसुधार’ तथा ‘इतिहासअघिको इतिहासः सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त’, द एग्रेरियन हिस्ट्री अफ नेपालस् द पोलिटिकल इकोनोमी अफ एग्रो–इकोलोजिकल चेन्ज' लगायत आधा दर्जन पुस्तकका लेखक तथा मानवशास्त्री सुरेश ढकाल त्रिभुवन विश्वविद्यालयमा झन्डै दुई दशकदेखि मानवशास्त्र अध्यापनमा सक्रिय छन् । उनै ढकालसँग चुनावको समाजशास्त्रमा केन्द्रित रहेर रातोपाटीका लागि नरेश ज्ञवालीले गरेको कुराकानीः

  • अहिलेको चुनावी परिणामलाई कसरी हेर्नुभएको छ, साथै यसले भावी नेपालको कस्तो चित्र प्रस्तुत गरिरहेको देख्नुहुन्छ ?

शास्त्रीय रूपमा मैले यसलाई ‘इन्ट्रेस्टिङ’ अर्थात् रुचिकर परिणाम आयो भन्ने गरेको छु । यो मत परिणामलाई ‘अपेक्षित’ वा ‘अनपेक्षित’ भनियो भने आफूलाई एउटा पक्षमा उभ्याउन पुगिन्छ । अपेक्षित भनेको तपाईंले चाहेको जस्तो र अनपेक्षित भनेको तपाईंले नचाहेको जस्तो हुन्छ । त्यसैले म यो निर्वाचन परिणामको विश्लेषण गर्दै गर्दा म कुनै पनि पक्षमा उभिन चाहन्नँ ।

मानवशास्त्रीय दृष्टिकोणबाट यो निकै अभिरुचिपूर्ण परिघटना हो । राजनीतिलाई कहिल्यै पनि सामाजिक, आर्थिक, सांस्कृतिक र वैदेशिक सम्बन्धहरूबाट छुट्याएर हेर्न मिल्दैन । त्यस अर्थमा मैले यसलाई रुचिकर ढङ्गले हेरेको छु । तथापि पूर्वको झापादेखि पश्चिमको डडेलधुरासम्मका आम मतदाताले एउटै पार्टीलाई कसरी मतदान गरे त भनेर हेर्नु झनै रुचिकर छ ।

Suresh Dhakal (4)

एउटा कुरा, मैले लामो समयदेखि भन्दै आएको छु– अबको चुनाव पार्टी सङ्गठन वा कार्यकर्ताको जुलुसबाट भन्दा पनि सामाजिक सञ्जालसहितको डिजिटल प्लेटफर्मको उपयोग गरेर लडिँदै छ । त्यसको उपयोग जसले राम्ररी गर्‍यो, उसैले मत परिणामलाई प्रभावित पार्न सकेको देखियो । अघिल्लो चुनावमा मेटाले नेपालबाट कति पैसा कमायो भन्ने रिपोर्टहरू सार्वजनिक भएका थिए । आजका दिनसम्म त्यस्तो रिपोर्ट त सार्वजनिक भएको छैन, तर पक्कै पनि यसपटकको निर्वाचनमा त्यो रकम पहिलेको तुलनामा बढी भएको अनुमान गर्न सकिन्छ ।

सरसर्ती अहिलेको निर्वाचनको मत परिणाम हेर्दा के लाग्छ भने पुराना राजनीतिक दलहरूको अक्षमता, प्रभावहीनता, उनीहरू नसुध्रेको अवस्था, अनि नयाँप्रति अपेक्षा र सँगसँगै जेनजी आन्दोलनपछिको अपेक्षालाई मतदाताहरूले एउटा राजनीतिक दलमा जाहेर गरेका छन् ।

अहिले त झन् सोसल इम्याजिनेसनमार्फत रास्वपालाई नयाँ धर्मजस्तो बनाइएको छ । यसले रास्वपालाई नयाँ धर्मका रूपमा स्थापित गर्ने काम गर्‍यो । धर्म कस्तो हुन्छ भने त्यहाँ प्रश्न हुँदैन, त्यहाँ विश्वास हुन्छ ।

जेनजी आन्दोलनप्रति को संवेदनशील भए र को भएनन् भन्ने कुराहरू डिजिटल संसारमा सबै डेटाहरू हुन् । त्यो डेटालाई स्पष्ट कथ्यका रूपमा रूपान्तरण गरियो । त्यो कथ्य वा भाष्यका माध्यमबाट आम मानिसमा ‘कलेक्टिभ इम्याजिनेसन’को निर्माण गरियो । उदाहरणका रूपमा– ‘हामीले जेनजीहरूको सपना साकार पार्नुपर्छ, जेनजी विरोधी शक्तिहरूलाई निर्वाचनमा सखाप पार्नुपर्छ वा जेनजी आन्दोलनमा गोली चलाउनेहरूलाई देखाइदिनुपर्छ, पुरानाहरूलाई सक्नुपर्छ र नयाँलाई ल्याउनुपर्छ ।’ यस्ता विभिन्न डेटाहरू र सानासाना कथ्यहरूलाई जोडेर एउटा बृहत्तर कथ्य निर्माण गरिएको हुन्छ । जसले त्यस्तो गर्न सक्यो परिणाम उसैको पक्षमा आयो ।

Suresh Dhakal (5)

  • हिजोका दिनमा चुनावको ‘ब्याटल फिल्ड’ भूगोल हुन्थ्यो भने आजका दिनमा त्यो परिवर्तन भएर सामाजिक सञ्जालको ‘अल्गोरिदम’ र त्यसको ‘इकोच्याम्बर’ हुन गयो भन्न खोज्नुभएको ? अर्थात् यो ‘डिजिटल वारफेयर’ थियो ?

यसलाई म ‘वारफेयर’ वा ‘ब्याटल फिल्ड’ जस्तो ठूलो शब्दमा भन्न चाहन्नँ । त्यस्तो पनि नभनौँ । सजिलो शब्दमा भन्दा डिजिटल युगमा जति सक्षमताका साथ त्यसलाई प्रयोग गर्न सक्नुहुन्छ, त्यसले तपाईंलाई त्यस्तै परिणाम दिन्छ । एउटा बृहत्तर चित्र, कथाको निर्माण, जसले आम मानिसलाई जोड्न सकोस् । यसका साथै आम मानिसको ‘इमोसनल आइडेन्टिफिकेसन’, जसले तपाईंलाई आफ्नो कथा– ‘यत्रो युवा मार्‍यो’, ‘स्कुले केटाकेटीको हत्या गर्‍यो’, ‘अब जेनजीले सरकार चलाउनुपर्छ’ जस्ता भाष्यलाई स्थापित गर्न सकोस् ।

आम मानिसको सोचलाई के कुराले प्रभाव पार्‍यो ? सबैले एउटै खाले कुरा कसरी सोचे ? त्यसको निर्माण कसरी भयो भनेर हामीले हेर्नुपर्छ ।

आफ्नो कुरालाई जनताले बुझ्ने भाषामा कथामार्फत उनीहरूको घरघरमा, कानकानमा पुर्‍याउन सक्नु र त्यस्तो भाष्य निर्माण गर्नु नै अहिलेको मत परिणामको पृष्ठभूमि हो भन्न सकिन्छ । मैले यति भन्दै गर्दा यो सबै हुनुको मूल कारण पुराना राजनीतिक शक्तिहरूको नालायकीपन, अकर्मण्यता र अक्षमताकै परिणाम हो भन्नेमा कुनै शङ्का छैन । तथापि नयाँ भनिएको राजनीतिक दल रास्वपाप्रति अभूतपूर्व मत कसरी आयो त भन्दा यसको पृष्ठभूमिमा मैले भनेको इन्जिनियरिङले काम गरेको छ ।

अहिले त झन् सोसल इम्याजिनेसनमार्फत रास्वपालाई नयाँ धर्मजस्तो बनाइएको छ । यसले रास्वपालाई नयाँ धर्मका रूपमा स्थापित गर्ने काम गर्‍यो । धर्म कस्तो हुन्छ भने त्यहाँ प्रश्न हुँदैन, त्यहाँ विश्वास हुन्छ । रास्वपाका समर्थकहरू विश्वासी जमातजस्ता लाग्छन् । लाखौँलाख विश्वासीको जमात । आम नेपाली जनता, जसले ठूलो विश्वासका साथ सोचीविचारी रास्वपालाई भोट दिने निर्णय गरेका छन्, त्यसको हामीले अवमूल्यन गर्न मिल्दैन । यो रास्वपाका लागि भयङ्कर महत्त्वपूर्ण सफलता हो । यही यथार्थ हो । त्यसैले सबैले यसलाई स्वीकार्नैपर्छ ।

Suresh Dhakal (6)

तर आम मानिसको सोचलाई के कुराले प्रभाव पार्‍यो ? सबैले एउटै खाले कुरा कसरी सोचे ? त्यसको निर्माण कसरी भयो भनेर हामीले हेर्नुपर्छ । किनभने निर्णय गर्ने प्रक्रिया विशुद्ध व्यक्तिगत मामिला होइन । त्यो तपाईंको सांस्कृतिक चिन्तन प्रणाली, अनुभव, भूगोल र वस्तुगत परिस्थितिबाट निर्माण हुन्छ । त्यसैले यो विशुद्ध राजनीतिक कुरा मात्र होइन । सामान्य कुरा नै हेर्नुस् न, मानिसहरूको सोच निर्माणका लागि सूचना चाहियो । त्यो सूचना कसले, कसरी प्रभावकारी रूपले आम मानिससम्म पुर्‍याइरहेको छ भन्नेबाटै त्यसको आधारमा सोच निर्माण हुन्छ ।

  • कलेक्टिभ इम्याजिनेसन निर्माणमा अन्य राजनीतिक दलहरू कसरी चुके त ?

पहिलो कुरा त बृहत्तर भाष्य निर्माणका लागि सानासाना, टुक्राटुक्रा स्टोरी चाहिन्छन् । साना टुक्राहरूमा छरिएका कथाहरू बृहत्तर भाष्यका कच्चा पदार्थ हुन् । ‘पुरानाले सबै खतम गरे’, ‘अब सबै ठीक हुन्छ’, ‘नेपाल देशलाई नयाँले मात्र बनाउन सक्छन्’ जस्ता कथ्यको ‘क्राफ्टिङ’ गर्ने काम रास्वपाले जति कुशलतापूर्वक गर्‍यो, त्यस्तो गर्न अरूले सकेनन् ।

उहाँले बालेनलाई प्रत्यक्ष रूपमा भोट हाल्ने पनि होइन, तर एउटा ‘इम्याजिनरी हिरो’ निर्माणका त्यस्ता कथाहरूमार्फत उहाँजस्तै मतदातालाई देशैभर प्रभावित पारियो । ‘कलेक्टिभ इम्याजिनेसन’का लागि यस्तो सिम्बोलिक हिरो चाहिन्छ नै ।

तर प्रश्न उठ्छ किन सकेनन् त ? किनभने पुराना भनिएका राजनीतिक दलहरूसँग सपना नै बाँकी रहेनन् । उनीहरूले आम नागरिकलाई यो मेरो पनि सपना हो भनेर देखाउनै सकेनन् र उनीहरूको सपनाले आम मानिसलाई भावनात्मक रूपमा जोड्नै सकेन । यसका साथै कुरा के हो भने, जुन भाष्यको निर्माण गरिन्छ त्यसलाई ‘मल्टिपल टाइम्स’, ‘मल्टिपल वे’ बाट प्रसार गर्नुपर्ने हुन्छ । तर, फेरि पनि निर्वाचनबाट विजयी भएर आएका केही पात्रहरूले संसद्‌को गरिमा र ओजलाई कायम राख्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न छँदै छ ।

  • ‘सिम्बोलिक हिरो’को ‘फेस भ्यालु’ले निर्वाचनलाई कत्तिको प्रभावित पारेको देख्नुहुन्छ ?

तपाईंको प्रश्नलाई एउटा रमाइलो कथामार्फत भन्छु– मेरो घरमा साग बेच्न आउने दिदी धेरै दिनपछि आउनुभयो । यतिका दिन कहाँ जानुभएको थियो भन्दा ‘म भोट हाल्न गएकी थिएँ, जिताएर आएँ’ भन्नुभयो । कसलाई जिताउनुभयो भन्दा– ‘म त बालेनलाई जिताउन गएकी थिएँ, बालेनलाई जिताएर आएँ’ भन्नुभयो । अब हेर्नुस्, उहाँले बालेनलाई प्रत्यक्ष रूपमा भोट हाल्ने पनि होइन, तर एउटा ‘इम्याजिनरी हिरो’ निर्माणका त्यस्ता कथाहरूमार्फत उहाँजस्तै मतदातालाई देशैभर प्रभावित पारियो । ‘कलेक्टिभ इम्याजिनेसन’का लागि यस्तो सिम्बोलिक हिरो चाहिन्छ नै ।

Suresh Dhakal (7)

  • आधिकारिक रूपमा जेनजी आन्दोलनमा रास्वपा सहभागी थिएन तर त्यसको सम्पूर्ण फाइदा रास्वपाले नै लिएको देखियो, यसलाई कसरी हेर्ने ?

जेनजी आन्दोलनका सुरुका अभियानकर्ता वा अवधारणा बनाउनेहरू अहिले पनि बाहिरै छन् । उनीहरू प्रत्यक्ष राजनीतिमा छैनन् । तर त्यो आन्दोलनलाई एउटा महत्त्वपूर्ण अवयव बनाएर रास्वपामा जुन खालको फिक्सनल स्टोरी निर्माण गर्न सक्ने क्षमता छ, त्यसलाई विशेष क्षमता नै मान्नुपर्ने हुन्छ । यसका लागि टिम चाहिन्छ र त्यो टिमले सक्षमतापूर्वक काम गर्‍यो ।

भविष्य कहिल्यै अन्धकार हुँदैन । तर, ती कर्ताहरूले आगामी दिनमा कसरी काम गर्छन् भन्नेमा भर पर्छ । कुनै पनि मुद्दाको एउटा निश्चित जीवन हुन्छ ।

मैले पक्ष-विपक्ष लिएर भनेको होइन, तर जेनजी आन्दोलनका प्रमुख तीनवटा प्रश्नहरू छन् । पहिलो, आन्दोलन हिंसात्मक हुन सक्छ भनेर आयोजकले फर्कौँ भन्दाभन्दै कसले त्यसलाई संसद् भवनसम्म पुर्‍यायो ? दोस्रो, त्यहाँ पुगेका युवायुवतीलाई गोली ठोक्ने आदेश कसले दियो ? तेस्रो, भोलिपल्ट निजी सम्पत्ति, अदालत र सिंहदरबार जलाउने को थिए ? राज्यले गरेको आतङ्क र राज्यविरुद्ध भएको आतङ्क– दुवैका पछाडि को थिए ?

ती घटनाहरूलाई आफ्नो पक्षमा पारेर कथा भन्न सक्नुपर्थ्यो । विद्यालयका बालबालिकालाई त्यस्तो हिंसामा संलग्न गराउनु त अपराध मानिन्छ नि । यो स्टोरीलाई कसले राम्रोसँग भन्न सक्यो, कसको स्टोरी टेलिङ राम्रो छ, कसले इमोसनल्ली कनेक्ट गरायो भन्ने नै प्रमुख कुरा हो । मैले अहिले यो कुरा किन गरिरहेको भने– चुनाव भइसक्यो, जनता खुसी छन्, जित्नेहरू खुसी छन् । तर, यस पछाडिको सामाजिक मनोविज्ञानले कसरी काम गर्छ भन्ने पृष्ठभूमिबारे हामीले धेरै लामो समयसम्म अध्ययन गर्नुपर्ने हुन सक्छ ।

  • यो चुनावमा वामपन्थीहरूको ०४८ सालदेखिको गढ मानिएको भक्तपुरमा नेमकिपाले र बागलुङमा जनमोर्चाले पराजय भोग्नुपर्‍यो, के यसलाई नेपालमा वामपन्थीहरूको अन्त्यतर्फको महत्त्वपूर्ण पानीढलो मान्ने हो ?

भविष्य कहिल्यै अन्धकार हुँदैन । तर, ती कर्ताहरूले आगामी दिनमा कसरी काम गर्छन् भन्नेमा भर पर्छ । कुनै पनि मुद्दाको एउटा निश्चित जीवन हुन्छ । त्यसलाई जीवित राख्न कर्ताहरूको कर्म चाहिन्छ । काम नगरेपछि हुने त्यही हो । भक्तपुरको परिणाम मेरो लागि निकै रुचिकर विषय रह्यो यो निर्वाचनमा । भक्तपुर नगरपालिकाको अध्ययन गर्दा मैले देखेको, त्यहाँ न भ्रष्टाचार छ, न कुशासन, न विकासमा समस्या छ । नेतृत्व पनि संवाद गर्न चाहने खालको छ । तर यो सुनामीले सबैलाई एकै पटक बगाइदियो । भनिन्छ नि, सुनामीले टेस्लाको कारखाना बगाउँदा सानो रिक्साको कारखाना पनि बगाइदिन्छ ।

Suresh Dhakal (1)

वामपन्थीहरूको हकमा जनतासँग उनीहरूको लामो समयदेखि संवादहीनता थियो । यसको सबैभन्दा बलियो उदाहरण प्रचण्ड हुन् । हिजोका दिनमा उनी जहाँबाट पनि जित्न सक्ने उम्मेदवार थिए तर आज जित्नैका लागि शरणार्थीका रूपमा रुकुम जानुपर्‍यो । हिजोका दिन माओवादीले सपना देखाउन सकेको थियो, त्यसैले आम मानिसले पनि ज्यान दिन तयार भए । तर आजका दिन त्यही सपना देखाउन नसक्दा प्रचण्डलाई पनि गाह्रो परेको बुझ्न सहज छ । एमाले र अन्य वाम पार्टीहरूको हकमा पनि त्यही भएको हो । सत्तामा बस्दा उनीहरू शासकजस्ता देखिए ।

म राजनीतिलाई घटना र प्रक्रिया दुवैका रूपमा बुझ्छु । यो परिणाम नआएको भए पनि वाम आन्दोलन ओरालो लागिरहेकै थियो । यो एउटा ‘मार्कर’ मात्र हो । मानवशास्त्रमा ‘कल्चरल थ्योरी’ भन्ने एउटा सिद्धान्त छ । माथि चढ्न नसकेपछि त्यसलाई पिँधबाटै सुरु गर्नुपर्छ । बीचबाट त्यसले गति लिन सकिँदैन । त्यसैले नेपालको वाम आन्दोलन सायद झनै पिँधमा पुग्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेश ज्ञवाली
नरेश ज्ञवाली

 @GyawaliNaresh 

लेखकबाट थप