सप्तरी–२ मा दोहोरिएन इतिहास
सारांश
- सप्तरी क्षेत्र नम्बर २ मा अहिलेसम्म कुनै पनि सांसदले निरन्तरता पाउन सकेका छैनन्, यो पटक पनि सोही इतिहास कायम रह्यो।
- निर्वाचनमा रास्वपाका रामजी यादव विजयी भए भने सीके राउत तेस्रो स्थानमा रहे।
- यस क्षेत्रका मतदाताले मन्त्री र सत्तामा पुगेका नेताहरूलाई पटक-पटक अस्वीकार गर्दै आएका छन्।
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत सप्तरीको क्षेत्र नम्बर २ मा अहिलेसम्म कसैले सांसदमा निरन्तरता पाएको इतिहास छैन । यसपटक पनि सोही इतिहासले निरन्तरता पाएको छ ।
०७९ को निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सो क्षेत्रबाट निर्वाचित भएका थिए । उनले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अघिल्लो निर्वाचनमा पराजित गरेका थिए ।
यसपटक पनि सप्तरी–२ मा सीके राउतले उम्मेदवारी दिएका थिए । सो क्षेत्रबाट सांसदका रूपमा दोहोरिन चाहेका राउत तेस्रो नम्बरमा गएर थन्किए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादव सो क्षेत्रबाट निर्वाचित हुँदा जनता समाजवादी पार्टी नेपालका नेता उमेश यादव दोस्रो भए ।
सप्तरी–२ बाट ०७४ को निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए । २०७९ मा उनी सोही क्षेत्रबाट उम्मेदवार बन्दै सांसदका रूपमा दोहोरिन चाहेका थिए । उक्त चुनावमा यादव पराजित भए । यादवलाई जनमत पार्टीका अध्यक्ष राउतले पराजित गरेका थिए ।
सप्तरी–२ स्व.गजेन्द्रनारायण सिंहको क्षेत्र हो । त्यो रामराजा प्रसाद सिंहको पनि क्षेत्र हो । त्यो क्षेत्र कांग्रेसका रामेश्वर प्रसाद सिंह र सशस्त्र आन्दोलनमा लागेका जयकृष्ण गोइतको पनि हो । यस्ता ऐतिहासिक पुरुषहरूको सो क्षेत्रबाट कुनै पनि नेताले एक पटकभन्दा बढी चुनाव जितेका छैनन् ।
हुन त स्व.गजेन्द्रनारायण सिंहले २०३८ (जनमत संग्रह) २०४३ (राष्ट्रिय पञ्चायत), २०४८ (संसदीय चुनाव) र २०५१ (मध्यावधि) चुनाव जितेका थिए । २०५६ को निर्वाचनमा सिंह सो क्षेत्रमा पराजित भएका थिए । त्यहाँ कांग्रेसका रामकुमार चौधरी १७ मतको अन्तरले निर्वाचित भएका थिए ।
त्यतिबेला गजेन्द्रनारायण सिंहसँग काम गरेका शैलेश चौधरीका अनुसार गजेन्द्रनारायण सिंहलाई ‘षड्यन्त्रपूर्वक’ पराजित गरिएको थियो । ‘उहाँको विरुद्धमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय शक्ति पनि लागेको थियो,’ चौधरीले भने ।
२०६४ मा भएको संविधान सभा चुनावमा सो क्षेत्रमा गजेन्द्रनारायण सिंहकै पार्टी नेपाल सद्भावना पार्टीबाट महेश यादव निर्वाचित भए । त्यसपछि २०७० मा भएको दोस्रो संविधान सभा चुनावमा तत्कालीन माओवादी केन्द्रका नेता उमेश यादव निर्वाचित भए ।
२०७४ मा भएको प्रतिनिधि सभा चुनावमा भने उपेन्द्र यादवसँग सो क्षेत्रमा उमेश यादव पराजित भए । अर्थात् उमेश यादव पनि सो क्षे त्रबाट दोहोरिन सफल भएनन् ।
२०७९ मा चुनाव जितेका अध्यक्ष राउत हौसिएर यसपटक पनि सप्तरी–२ बाट उम्मेदवारी दिएका थिए, तर नौ हजार ८८० मत ल्याएर उनी तेस्रो स्थानमा थन्किए ।
अहिले रास्वपाका रामजी यादव २८ हजार ४०४ मत ल्याएर विजयी भएका छन् । २०५६ को चुनावमा जसरी गजेन्द्रनारायण सिंह चुनाव हारेका थिए, यस क्षेत्रबाट दोहोरिन चाहने अन्यले पनि त्यस्तै अवस्था झेलेका छन् ।
२०५६ मा गजेन्द्रनारायण सिंह स्थानीय विकासमन्त्री थिए । यसका बाबजुद उनी पराजित भएका थिए । गजेन्द्रनारायण सिंहसँग लामो समय काम गरेका विकास तिवारीका अनुसार सप्तरी–२ यस्तो ठाउँ हो, जहाँका जनताले यहाँका नेतासँग पटक पटक परीक्षा लिएका छन् । जो मन्त्री भए, सरकारमा गए, सत्ताको नजिक गए, उनीहरूलाई त्यो क्षेत्रका जनताले कहिल्यै नपत्याएको उनको ठहर छ ।
सप्तरीमा विकासका साथै मधेसको पहिचानका लागि पनि लडेका उपेन्द्र यादवलाई समेत यस क्षेत्रका मतदाताले दोहो¥याउन चाहेनन् । जसपा नेपालका अध्यक्ष यादवले राजविराजमा अस्पताल, कलेज, मेडिकल कलेज, सडक सञ्जाललगायत थुप्रै क्षेत्रमा काम गरे पनि सत्तामा लामो समय अल्झेका कारण मतदाताको विश्वास जित्न असफल भए ।
२०७० मा चुनाव जितेका तत्कालीन माओवादी नेता उमेश यादव पनि मन्त्री भएका थिए । सिँचाइमन्त्री भएर उनले सप्तरीमा थुप्रै काम गरे । यद्यपि २०७४ को चुनावमा उनी सो क्षेत्रमा पराजित हुनु प¥यो ।
२०७९ मा चुनाव जितेका जनमत पार्टीका अध्यक्ष राउतले आफू सरकारमा नगए पनि आफ्नो पार्टीलाई सत्ताभन्दा टाढा राखेनन् । सत्ता र सरकारबाट सप्तरीमा उनले निकै महत्त्वपूर्ण काम गरे । विभिन्न योजना सुरुवात गरे, तर चुनावमा त्यहाँका जनताले उनीमाथि विश्वास देखाएनन् ।
गजेन्द्रनारायण सिंह संघीयतावादी, गणतन्त्रवादी, मधेसको मुक्तिका लागि जतिखेर पनि संघर्ष गरिरहने, नागरिकता तथा भाषाको कुरा उठाइरहने नेतामा पर्छन् । उनकै पथमा उपेन्द्र यादव, सीके राउत, उमेश यादवहरू पनि हिँडे । तर सप्तरी–२ का मतदाताले कुनै पनि नेतालाई लगातार दोहोरिनबाट रोक्दै आएका छन् । यो क्रमले अहिले पनि निरन्तरता पाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण