सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

आसपासका क्षेत्रमा पनि मत बटुल्न एमालेले उठाएका चक्रेकै जमानत जफत

मङ्गलबार, २६ फागुन २०८२, २२ : १२
मङ्गलबार, २६ फागुन २०८२

सारांश

  • नेकपा एमालेले गोरखा २ बाट चुनाव लड्न अब्दुस मियाँलाई उठाएको थियो, उनले थोरै मत ल्याए।
  • माओवादी अध्यक्ष प्रचण्डले जितेपछि प्रधानमन्त्री बने, तर एमालेले चक्रे मिलनलाई टिकट दिएर हार बेहोर्यो।
  • चक्रेले जम्मा ३ हजार ८७ मत प्राप्त गरे, प्रतिस्पर्धीको १० प्रतिशत मत नपुग्दा जमानत जफत भयो।

पोखरा । नेकपा एमालेले २०७९ को निर्वाचनमा गोरखा २ बाट चुनाव लड्न युवा नेता अब्दुस मियाँलाई उठाएको थियो, उनले मुस्किलले ७ हजार भोट ल्याएका थिए ।

नेकपा माओवादीका तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले २६ हजारभन्दा बढी मत ल्याएर यहाँबाट चुनाव जितेका थिए । गोरखाबाट निर्वाचित भएपछि उनी प्रधानमन्त्री नियुक्त भए । त्यसबेला एमालेले मिलन गुरुङ उर्फ 'चक्रे मिलन'लाई उठाउने तयारी गरेको थियो । तर, प्राविधिक कारण देखाएर उनलाई एमालेले रोकेको पनि थियो ।

तत्कालीन संसद् ५ वर्ष टिकेन र निर्वाचन भयो । यद्यपि चक्रेलाई टिकट दिइँदा गोरखा–२ मा चुनाव जित्न सकिने एमालेले रिपोर्टिङ गरेको थियो । यहाँबाट उनले चुनाव जित्ने मात्र होइन, बरु गोरखा–१ र लमजुङसम्म प्रभाव पारी मत बटुल्ने आकलन एमालेको थियो । तर नतिजा ठीक उल्टो भयो, एमालेले आसपासका कुनै ठाउँमा पनि जित निकाल्न सकेन, चक्रे आफैँले शर्मनाक हार बेहोरे ।

अघिल्लो चुनावमा अब्दुसले ल्याएको भन्दा ४ हजार कम मत चक्रेले पाए । यहाँबाट रास्वपाका उम्मेदवार कविन्द्र बुर्लाकोटी विजयी हुँदा चक्रेले जम्मा ३ हजार ८७ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी उम्मेदवारले कुल सदर मतको १० प्रतिशत मत नल्याए उनको जमानत जफत हुने निर्वाचन कानुन छ । जसअनुसार चक्रेको पनि जमानत जफत भएको हो । गुण्डा नाइके भनेर चिनिने चक्रेलाई टिकट दिएपछि पार्टीभित्रै असन्तुष्टि र विरोध बढेको थियो । तर, ओलीले उनलाई टिकट थमाएर पठाएका थिए । 

‘रिपोर्टिङमा नेकपा कमजोर भएको, रास्वपाले केही मत अरू दलहरूको काट्ने र एमालेको पुरानो मत जोगिँदै चक्रेले थप मत प्रभावित पार्न सक्ने भनिएको थियो,’ एक नेताले भने, ‘चक्रेलाई टिकट दिएपछि गोरखा–२ जित्ने, त्यसको प्रभावले लमजुङ पनि राम्रो हुने र गोरखा–१ मा पनि केही मत थपिने अनुमान गरिएको थियो । सबै फेल खायो ।’

निर्वाचित बुर्लाकोटीको मत चक्रेले ल्याएको भन्दा झण्डै साढे ८ गुणा बढी हो । गोरखा–२ मा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले भन‍े जमानत जोगाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप