प्रतिनिधिसभा निर्वाचन २०७९ र २०८२ः कसले कति पाए र कति गुमाए ?
सारांश
- प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणना सम्पन्न भयो, जसमा ६ वटा पार्टीले राष्ट्रिय दलको मान्यता पाए।
- राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै सिट जित्यो भने कांग्रेस र एमालेको सिट संख्या घट्यो।
- अघिल्लो निर्वाचनको तुलनामा यसपटक रास्वपाले धेरै सिट थप्यो, भने अन्य दलको सिट घट्यो।
विराटनगर । प्रतिनिधि सभाको फागुन २१ गते सम्पन्न निर्वाचनको समानुपातिकतर्फको पनि मतगणना सम्पन्न भइसकेको छ । निर्वाचन आयोगका अनुसार खसेको मतमध्ये १ करोड ७ लाख ६९ हजार ५४३ मत सदर हुँदा ६ वटा पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गर्दै समानुपातिक सिट हात पारेका छन् ।
जम्मा सदर मतको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५१ लाख ५४ हजार ९४८ मत अर्थात् ४७.८ प्रतिशत पाएको छ । यस्तै नेपाली कांग्रेसले १७ लाख ५५ हजार ४७९ अर्थात् १६.२ प्रतिशत, नेकपा एमालेले १४ लाख ५२ हजार ६३७ अर्थात् १३.४ प्रतिशत, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ८ लाख ९ हजार ५३० अर्थात् ७.५ प्रतिशत, श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७०८ अर्थात् ३.५ प्रतिशत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ लाख ३० हजार २२७ अर्थात् ३ प्रतिशत मत पाएका छन् ।
थ्रेस होल्डको गणनामा आएका ६ वटा पार्टीको जम्मा मतलाई आधार मानेर ११० सिट छुट्ट्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले मात्रै ५२ प्रतिशत सिट अर्थात् ५७ सिट पाउने देखिएको छ । यस्तै कांग्रेसले १७.७५ प्रतिशत अर्थात् २० सिट, नेकपा एमालेले १४.७ प्रतिशत अर्थात् १६ सिट, नेपाली कम्युनिस्ट पार्टीले ८ प्रतिशत अर्थात् ९ सिट, श्रम संस्कृति पार्टीले ३.८ प्रतिशत अर्थात् ४ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.३ प्रतिशत अर्थात् ४ सिट पाउने देखिएको छ ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले समानुपातिकतर्फ सबैभन्दा बढी २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरी ३४ सिट जितेको थियो । यो पटक एमालेले ४९ प्रतिशत (१३ लाख ९३ हजार ६८५) मत गुमाएएको छ भने ५२ प्रतिशत सिट गुमाएको छ । एमालेले यस पटक समानुपातिकमा १६ सिट पाउने देखिएको छ ।
गत निर्वाचनमा २७ लाख १५ हजार २२५ मत प्राप्त गरी ३२ सिट जितेको कांग्रेसले ३५.५६ प्रतिशत (९ लाख ६० हजार ८३०) मत गुमाएको छ भने ३७.५ प्रतिशत सिट संख्या पनि गुमाएको छ । यो पटक कांग्रेसले समानुपातिक तर्फ २० सिट पाएको छ ।
नेपाली कम्युनिस्ट पार्टीले गत निर्वाचनमा ११ लाख ७५ हजार ६८४ (३ लाख ६६ हजार ६१३) मत प्राप्त गरी १४ सिट जितेकोमा ३३.४६ प्रतिशत मत गुमाएको छ भने ३५.७ प्रतिशत सिट गुमाउँदै ९ सिटमा कायम भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले गत निर्वाचनमा ५ लाख ८८ हजार ८४९ (२ लाख ५८ हजार ७६७) मत प्राप्त गरी ७ सिट जितेकोमा यस पटक ४४ प्रतिशत मत गुमाएको छ भने ४२.८ प्रतिशत सिट गुमाउँदै ४ सिटमा कायम भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गत निर्वाचनमा ११ लाख ३० हजार ३४४ मत प्राप्त गर्दै १३ वटा समानुपातिक जितेकोमा यस पटक ३५४ प्रतिशत अर्थात् ४० लाख १७ हजार ८७३ मत थपेर सिट संख्या ५७ पुर्याएको छ । यस पटक उसले ४४ सिट थपेको छ ।
अघिल्लो निर्वाचनमा ४ लाख २१ हजार ३१४ समानुपातिक मत प्राप्त गरी ५ सिट जितेको जनता समाजवादी पार्टी, ३ लाख ९४ हजार ६५५ मत प्राप्त गरी ५ सिट प्राप्त गरेको जनमत पार्टीले यस पटक थ्रेस होल्ड पार गर्न सकेनन् ।
यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फभन्दा प्रत्यक्षतर्फ अझै उत्कृष्ट नतिजा ल्याएको छ । अघिल्लो निर्वाचनमा सो पार्टीले प्रत्यक्षमा जम्मा ७ सिट जितेको थियो । यो पटक १६८६ प्रतिशत अर्थात् ११८ सिट थपेर प्रत्यक्षतर्फ नै १२५ वटा सिट जितेको छ । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ सबैभन्दा धेरै ५७ सिट जितेको नेपाली कांग्रेसले यस पटक ६८ प्रतिशत अर्थात् ३९ सिट गुमाएर १८ सिटमा सीमित भएको छ ।
यस्तै प्रत्यक्षतर्फ अघिल्लो पटक ४४ सिट जितेको नेकपा एमालेले यस पटक करिब ८० प्रतिशत सिट गुमाएको छ । एमालेले ३५ सिट गुमाएर ९ सिटमा सीमित भएको छ । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ १८ सिट जितेको नेकपाले ५५ प्रतिशत सिट अर्थात् १० सिट गुमाएर ८ सिटमा सीमित भएको छ ।
यस्तै अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपाले यस पटक ६ सिट गुमाएर जम्मा १ सिट प्रत्यक्षतर्फ जितेको छ । यो निर्वाचन अघि खुलेको नयाँ दल श्रम संस्कृति पार्टीले प्रत्यक्षमा ३ सिट जित्दा अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ सिट जितेका जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले कुनै पनि सिट जित्न सकेनन् ।
समानुपातिक तर्फको समेत मतगणना सम्पन्न हुँदा २७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीले २ तिहाइ भन्दा २ सिट कम जित निकालेको छ । प्रत्यक्षतर्फ १२५ र समानुपातिक तर्फ ५७ सिट जितेर १८२ सिट जितेको रास्वपालाई दुई तिहाई अर्थात् १८४ सिट पुग्न २ सिट अपुग भएको छ । यो निर्वाचनबाट दोस्रो ठुलो भएको नेपाली कांग्रेसले प्रत्यक्ष र समानुपातिकबाट जम्मा ३८ सिट जितेको छ । अघिल्लो निर्वाचनमा कांग्रेसले जम्मा ८९ सिट जितेको थियो । यस्तै नेकपा एमालेले प्रत्यक्ष र समानुपातिकतर्फ गरी २५ सिट जितेको छ । अघिल्लो निर्वाचनमा एमालेले ७९ सिट जितेको थियो ।
अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी ३२ सिट जितेको तत्कालीन माओवादी अर्थात् हालको नेकपाले प्रत्यक्ष र समानुपातिक गरी १७ सिट जितेको छ । अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी १४ सिट जितेको राप्रपा यस पटक जम्मा ५ सिटमा सीमित भएको छ । नयाँ खुलेको दल श्रम संस्कृति पार्टीले प्रत्यक्ष र समानुपातिक गरी यो निर्वाचनमा ७ सिट जित्दा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन प्रतिनिधि सभामा प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण