शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

दाङ–१ मा भाइ योगेन्द्रलाई प्रत्यक्षतर्फ हराएका दाइ सुरेन्द्र रास्वपाको समानुपातिकबाट सांसद

सोमबार, ०२ चैत २०८२, १४ : ३३
सोमबार, ०२ चैत २०८२

सारांश

  • नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र चौधरीलाई उनका दाजु सुरेन्द्रले हराउन रास्वपा उम्मेदवार देवराज पाठकलाई सघाए।
  • सुरेन्द्रको प्रयासले पाठकले चुनाव जिते, भने योगेन्द्र पराजित भए।
  • योगेन्द्रले फेसबुकमा दाइको कार्यको आलोचना गर्दै, राजनीतिक बहस एजेन्डामा हुनुपर्ने बताए।

काठमाडौँ । नेपाली कांग्रेसबाट दाङ–१ का प्रत्यक्षतर्फ उम्मेदवार थिए सहमहामन्त्री योगेन्द्र चौधरी । तर, उनका सहोदर दाइ सुरेन्द्र चौधरी भने उनको विरुद्धमा थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सूचीमा समेटिएका सुरेन्द्रले भाइलाई हराएर त्यो क्षेत्रका रास्वपा उम्मेदवार देवराज पाठकलाई जिताउन भरमग्दुर प्रयास गरे ।

सुरेन्द्रको प्रयासले सार्थकता पायो । योगेन्द्र रास्वपा उम्मेदवार पाठकसँग पराजित भए । पाठक ४२ हजार ६०२ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी बनेका योगेन्द्रले १५ हजार २८० मत ल्याए ।  

आफ्नो विरुद्ध आफ्नै दाइले सार्वजनिक धारणा व्यक्त गरेको योगेन्द्रले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

‘तपाईंको भाइ हुनु मेरो दोष होइन र थिएन  । त्यसै पनि राजनीति कसैको दाइ र भाइको नाताले गरिने विषय पनि होइन । तपाईंलाई राजनीतिक दल चुन्ने तपाईंको स्वतन्त्रताको कुरा हो । यही स्वतन्त्रताको वकालत गर्ने दल नेपाली कांग्रेसको एउटा सिपाही हुँ । तर तपाईंले निर्वाचनको बेला मेरो सहोदर भाइ योगेन्द्र चौधरीको विरुद्धमा छु भन्ने  भाषण गरेर भाइरल हुने माध्यम बनाउनुभयो । जब कि निर्वाचनमा दाइ र भाइको विषय नै थिएन । बहस त एजेन्डाको हुनुपर्थ्यो  विचारको हुनुपर्थ्यो,’ योगेन्द्रले फेसबुकमा लेखेका छन् ।

रास्वपाले आइतबार समानुपातिक सांसद बनाउनका लागि बनाएको अन्तिम सूचीमा थारु क्लस्टरमा सुरेन्द्रको नाम परेको छ । आफूलाई हराउन लागेका दाइ समानुपातिक सांसदमा पर्ने भएपछि भाइ योगेन्द्रले बधाइ पनि दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप