समानुपातिक सांसदमा यस पटक पनि देखियो नातावाद
सारांश
- राजनीतिक दलहरूले समानुपातिकतर्फ सांसद बनाउन निर्वाचन आयोगमा सूची बुझाएका छन्।
- समानुपातिक सूचीमा नेताका परिवार र नातेदारलाई सिफारिस गरिएको भन्दै आलोचना भइरहेको छ।
- कांग्रेस, एमाले, नेकपा र राप्रपाले समानुपातिक सूचीमा परिवारका सदस्यलाई सिफारिस गरेका छन्।
काठमाडौँ । राजनीतिक दलहरूले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ पाएको मतका आधारमा सांसद बनाउनका लागि क्लस्टर मिलाएर निर्वाचन आयोगमा सूची बुझाएका छन् । आयोगले समानुपातिकतर्फ पार्टीले पाएको सिट उल्लेख गर्दै आइतबारसम्म क्लस्टर मिलाएर सूची बुझाउन पत्राचार गरेको थियो ।
आयोगको पत्राचार अनुसार समानुपातिकमा तोकिएको मापदण्ड पूरा गरेर सांसद पाएका ६ दलले आइतबार सूची बुझाएका थिए । समानुपातिकतर्फ विगतमा पार्टीकै प्रभावशाली नेता केन्द्रित नातावाद हावी हुने गरेको भन्दै आलोचना हुने गरेको थियो । यस पटक पनि ‘नातावाद’का केही उदाहरण देखिएका छन् ।
समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिस्ट पार्टीले ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४/४ जना सांसद पाएका छन् ।
ती सिटमा क्लस्टर अनुसार सिफारिस गर्दा ४ दलले नेताका परिवार र नातेदारलाई सिफारिस गरेको भन्दै आलोचना भइरहेको छ । कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक सूचीमा परिवार र नातेदारलाई सांसदमा सिफारिस गरेका हुन् ।
कांग्रेसबाट सिफारिस भएका ४ जना तथा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सिफारिस भएका १/१ जना नेताका नातेदार छन् ।
कांग्रेसको खसआर्य क्लस्टर पुरुषबाट सिफारिस भएका अर्जुननरसिंह केसी पार्टी सभापति गगन थापाका ससुरा हुन् । केसी यसअघि पटक–पटक सांसद र मन्त्री भइसकेका छन् । केसी समकालीन राजनीतिमा सबैभन्दा बढी चुनाव लडेका नेता पनि हुन् ।
७८ वर्षीय केसीले पुस्तान्तरणको मुद्दा झिकेर तत्कालीन सभापति देउवामाथि कटु आलोचना गर्ने गर्थे । पार्टीले उनलाई समानुपातिकतर्फ उम्मेदवार बनाउँदा देउवा नै पार्टी सभापति थिए । देउवाकै हस्ताक्षरसहित नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको थियो ।
केसी २०३८ सालमा राष्ट्रिय पञ्चायतको निर्वाचन लडेर निर्वाचित भई राज्यमन्त्री भएका थिए । २०४३ मा दोस्रो पटक राष्ट्रिय पञ्चायतको निर्वाचन लड्दा पराजित केसी २०४५ मा जिल्ला पञ्चायतका सभापति भए । २०४६ पछि कांग्रेसमा फर्किएका केसी २०४८, २०५१, २०७० र २०७९ मा नुवाकोटबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । अहिले ज्वाइँ पार्टी सभापति हुँदा समानुपातिकतर्फबाट सांसदमा सिफारिस भएपछि उनी आलोचित छन् ।
त्यस्तै कांग्रेसकै मधेसी क्लष्टरबाट सांसद सिफारिस भएका डा. चन्द्रमोहन यादव गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवका पुत्र हुन् । उनी यसअघि पनि प्रत्यक्ष जितेर प्रतिनिधि सभा सदस्य भएर काम गरिसकेका छन् ।
कांग्रेसबाटै खसआर्य महिलातर्फ सांसद सिफारिस भएकी रीना उप्रेती कांग्रेस नेता बलबहादुर केसीकी श्रीमती हुन् । उनी पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएकी थिइन् ।
मधेसी कोटामा सांसद सिफारिस भएकी निनुकुमारी कर्ण कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीकी भाञ्जी हुन् । कांग्रेस भ्रातृसंस्था महिला संघको राजनीतिबाट राजनीतिमा आएकी कर्ण यसअघि सांसद भएकी थिइनन् ।
यसैगरी, नेकपा एमालेले जनजाति क्लस्टरबाट सांसद बनाएकी भूमिका सुब्बा एमाले नेता वसन्त नेम्वाङकी श्रीमती हुन् । सुब्बाले एमालेको भ्रातृसंस्था जनसांस्कृतिक महासंघको राजनीति गरिरहेकी छिन् । उनी अहिले महासंघकी अध्यक्ष हुन् ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट खस आर्य क्लस्टरमा सांसद सिफारिस भएकी बलावती शर्मा नेता देवेन्द्र पौडेलकी श्रीमती हुन् । शर्मा पूर्वविधायक हुन् । उनले २०६३ सालमा अन्तरिम व्यवस्थापिका सदस्य भएर काम थिइन् ।
शर्माका श्रीमान् देवेन्द्र पौडेल पूर्वशिक्षामन्त्री पनि हुन् । तत्कालीन माओवादीले चलाएको जनयुद्धकालदेखि नै पार्टीमा सक्रिय रहेका उनीहरू माओवादी हुँदै नेकपाको राजनीतिमा सक्रिय छन् । बागलुङबाट निर्वाचन लड्दै आएका पौडेल यस पटक निर्वाचन क्षेत्र परिर्वतन गर्दै नवलपरासी–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेर पराजित भएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामालाई आदिवासी जनजाति महिला क्लस्टरबाट सांसद सिफारिस गरेको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा गृहमन्त्री र प्रजातन्त्रकालमा पटक–पटक मन्त्री र सांसद भएका तामाङले यो पटक श्रीमतीलाई सांसद बनाएका हुन् ।
दलहरूले सिफारिस गरेको नामावलीलाई निर्वाचन आयोगले आफूले निर्धारण गरेको क्लस्टरको संख्या अनुरुप मिले/नमिलेको निर्क्यौल गरेपछि मात्रै प्रमाणपत्र दिनेछ । कुनै दलले क्लस्टर नमिलाएर पठाएको भए आयोगले फेरि सच्याएर पठाउन निर्देशन दिन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण