शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वीरगञ्ज महानगरमा करको दायरा बढाउँदै घरजग्गा बहाल कर सङ्कलन व्यवस्थित गरिने

सोमबार, ०२ चैत २०८२, २१ : ३४
सोमबार, ०२ चैत २०८२

पर्सा । वीरगञ्ज महानगरले करको दायरा बढाउँदै घरजग्गा बहाल कर सङ्कलन व्यवस्थित गर्ने भएको छ।

साेमबार वीरगञ्ज महानगरद्वारा आयोजित कार्यक्रममा सरोकारवाला निकायले प्यान नम्बर स्थानीय तहबाटै जारी गरेर कर सङ्कलन प्रणालीलाई व्यवस्थित गराउनुपर्ने बताएका छन्।

वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले घरजग्गा बहाल कर सङ्कलन गर्ने एकल अधिकार स्थानीय सरकारको भए पनि उक्त कर अहिले सङ्घ सरकारमातहत रहेको आन्तरिक राजस्व कार्यालयमा जम्मा हुने परिपाटीले ठुलो राजस्व गुमाउनुपरेको गुनासो गरे।

“संविधानले स्थानीय तहलाई दिएको अधिकारअनुसार बहाल कर महानगरपालिकामै बुझाउने व्यवस्था लागू गर्न सबै पक्षको सहयोग आवश्यक छ”, उनले भने।

आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रमुख कर अधिकृत टीकाराज चौलागाईँले महानगरपालिकाको कर सङ्कलन गर्ने अभियानमा सहयोग गर्न कार्यालय तयार रहेको प्रतिबद्धता व्यक्त गरे । “करदाता सेवा कार्यालय खारेज भएपछि स्थानीय तहबाटै प्यान नम्बर जारी गर्ने प्रक्रिया अघि बढिरहेको छ”, उनले भने, “कार्यालयले महानगरलाई आवश्यक पर्ने प्राविधिक सहयोग उपलब्ध गराउन पनि तयार रहेका छौँ ।”

सहभागीहरूले कर प्रणालीलाई सरल, पारदर्शी र सेवामैत्री बनाउन स्थानीय तह, कर कार्यालय र व्यवसायीबिच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्दै करसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप