सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
असन्तुष्टि

मोर्चाले बालेनलाई समर्थन गरेपछि मधेसकेन्द्रित दलभित्रै विवाद

जसपा नेपाल उत्रियो विरोधमा, तीव्र असन्तोष
मङ्गलबार, ०३ चैत २०८२, १७ : १०
मङ्गलबार, ०३ चैत २०८२

जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा शुभकामना तथा समर्थन व्यक्त गरेपछि मोर्चामा आबद्ध दलहरूभित्रै तीव्र असन्तोष देखिएको छ । 

विशेषगरी जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का नेताहरूले उक्त निर्णयप्रति सार्वजनिक रूपमा आपत्ति जनाएका हुन् । उनीहरूले मोर्चाको निर्णयलाई ‘राजनीतिक लाचारी’ र हार ढाकछोप गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन् । 

हालै सम्पन्न आमनिर्वाचनपछि मधेसकेन्द्रित दलहरूले अपेक्षित सफलता हासिल गर्न सकेनन् । यसबिच संघीय लोकतान्त्रिक मोर्चाले विज्ञप्ति जारी गर्दै बालेन्द्र शाह लाई प्रधानमन्त्रीका रूपमा हेर्न पाउनु मधेसी, थारू तथा आदिवासी जनजाति समुदायका लागि गौरवको विषय भएको उल्लेख गरेको थियो । तर मोर्चाकै प्रभावशाली घटक जसपा नेपालका नेताहरूले यसलाई अस्वीकार गर्दै कडा प्रतिक्रिया दिएका छन् । 

जसपा नेपालका वरिष्ठ नेता महन्थ ठाकुरको अध्यक्षतामा बसेको मोर्चाको बैठकबाट बालेनलाई बधाई तथा समर्थन दिने निर्णय भएको बताइएको थियो । तर उक्त निर्णयपछि जसपा नेपालका केही प्रभावशाली नेताहरूले सामाजिक सञ्जाल र सार्वजनिक अभिव्यक्तिमार्फत आलोचना गरेका छन् । 

जसपा नेपालका नेता सुरेन्द्रकुमार झाले ले मोर्चाको निर्णयप्रति तीव्र असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै हालै सम्पन्न निर्वाचनमा पार्टीहरूले बेहोरेको हारको समीक्षा गर्नुको सट्टा बालेनको समर्थनमा लाग्नु राजनीतिक जिम्मेवारीबाट भाग्ने प्रयास भएको बताएका छन् । निर्वाचनमा मोर्चामा आबद्ध दलहरूले छुट्टाछुट्टै प्रतिस्पर्धा गरेका थिए र धेरै नेताहरूको जमानतसमेत जफत भएको थियो । यस्तो अवस्थामा हारको समीक्षा नगरी अर्को नेताको समर्थनमा लाग्नु राजनीतिक इमानदारीविपरीत भएको उनले टिप्पणी गरेका छन् । 

झाले विगतमा बालेनलाई ‘मधेसी होइन’ भन्दै आलोचना गर्ने नेताहरू अहिले उनलाई ‘मधेसी सपुत’ भनेर सम्बोधन गरिरहेको विषयप्रति पनि प्रश्न उठाएका छन् । ‘बालेन मधेसी होइन भन्दै घाँटीको नसा फुट्ने गरी चिच्याउनेहरूले आज कुन मुखले उनलाई मधेसी सपुत भनेका होलान् ?’ उनले प्रश्न गरेका छन् । उनले यस्तो व्यवहारलाई ‘घर जलाई खरानी बनाएर बधाई र शुभकामनाको निकृष्ट खेल खेल्नु’जस्तै भएको बताए । साथै उनले ६५ वर्षभन्दा माथिका नेताहरूलाई सक्रिय राजनीति छाडेर विश्राम लिन र परिवारसँग समय बिताउन सुझावसमेत दिए । 

जसपा नेपालकै अर्का नेता शैलेन्द्र साहले संघीय लोकतान्त्रिक मोर्चालाई जनताको आन्दोलनको मञ्च नभई नेताहरूको स्वार्थ मिलाउने ‘क्लब’को संज्ञा दिएका छन् । उनका अनुसार मोर्चाले चुनावअघि कुनै साझा रणनीति बनाउन सकेन र दलहरूबिच सहकार्यसमेत भएन । उनले मोर्चाको गतिविधि केवल औपचारिक बैठक बस्ने, फोटो खिच्ने र विज्ञप्ति जारी गर्ने कार्यमा सीमित रहेको आरोप लगाए । यस्तो अवस्थामा मोर्चाको औचित्य समाप्त भइसकेको भन्दै उनले यसलाई विघटन गर्नु नै उपयुक्त हुने बताएका छन् । 

जसपा नेता पूर्ण बस्नेतले पनि मोर्चाको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनका अनुसार बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाका मेयर हुँदा कवाडी व्यवसायी तथा सुकुमबासी बस्तीमाथि डोजर चलाउँदा विरोध गर्ने तिनै मधेसवादी दलहरू अहिले बालेनकै समर्थनमा उभिनु विरोधाभासपूर्ण छ । 

त्यस्तै, जसपा नेपालकी नेतृ बबी सिंहले पनि मोर्चालाई केवल औपचारिक बैठक बस्न बनाइएको संरचना भएको टिप्पणी गरेकी छन् । उनका अनुसार मोर्चा गठन भएपछि पनि दलहरूबिच कुनै साझा कार्यक्रम वा रणनीति निर्माण हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप