एनआरएनएको वरिष्ठ उपाध्यक्ष बने रोविन शेरचन
सारांश
- एनआरएनएको १२औँ महाधिवेशनमा रोविन शेरचन वरिष्ठ उपाध्यक्षमा चयन भएका छन्, जसले एकताका लागि अध्यक्षको दाबी छाडे।
- शेरचनले आगामी कार्यकालमा नेतृत्व लिने सहमतिसहित वरिष्ठ उपाध्यक्ष पद स्वीकार गरेका हुन्, र उनले नागरिकता र मताधिकारका मुद्दालाई प्राथमिकता दिएका थिए।
- उनले एनआरएनए डेभलपमेन्ट फन्डलाई २५ अर्ब पुर्याउने र आगामी ६ महिनाभित्र विधान अधिवेशन गर्ने वाचा गरेका थिए।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनबाट रोविन शेरचन सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्ष चयन भएका छन् । संस्थालाई एकताबद्ध बनाउनका लागि त्याग गर्दै उनी अध्यक्षको दाबीबाट पछि हट्दै वरिष्ठ उपाध्यक्षमै बस्न राजी भएका हुन् ।
अध्यक्ष पदका बलिया दाबेदार मानिएका जापान निवासी सफल व्यवसायी शेरचनले संस्थाको बृहत्तर हित र एकताका लागि आफ्नो उम्मेदवारी फिर्ता लिँदै वरिष्ठ उपाध्यक्ष पद स्वीकार गरेको बताए ।
शनिबारदेखि सुरु भई मंगलबार नयाँ कार्यसमिति घोषणा गर्दै सम्पन्न भएको महाधिवेशन अघि शेरचनले १३औँ महाधिवेशनमा संघको नेतृत्व गर्ने सहमति समेत भएको दाबी गरिएको छ । महाधिवेशनका दौरान निवर्तमान अध्यक्षद्वय बद्री केसी र महेश श्रेष्ठसहितका सरोकारवालासँगको छलफलमा शेरचनले राखेको विभिन्न प्रस्तावमा सहमति भएसँगै सहमतिमै नेतृत्व चयनको बाटो खुलेको थियो ।
सहमतिको एउटा बुँदामा शेरचनले वर्तमान कार्यकालमा वरिष्ठ उपाध्यक्ष पद सम्हाल्ने र आगामी कार्यकालमा नेतृत्व लिने स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको थियो । सोही सहमतिअनुसार विधानमा आवश्यक व्यवस्था गरेर उनी वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।
यसअघि सन् २०२५–२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दा शेरचनले सुरुमा ‘सुदृढ सङ्गठन, दरिलो एकता : हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आफ्नो १५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका थिए। लामो समयदेखि जापानलाई कर्मभूमि बनाएर संघका विभिन्न जिम्मेवारीमा रहेका उनले ‘एक मन, एक सङ्गठन’ को अवधारणा अघि सार्दै संस्थाभित्रको आन्तरिक कलह अन्त्य गरी सबै गैरआवासीय नेपालीलाई एउटै छानामुनि ल्याउने संकल्प गरेका थिए।
उनका एजेन्डामा गैरआवासीय नेपालीहरूको नागरिकता र मताधिकारको मुद्दाले विशेष प्राथमिकता पाएको थियो। संविधानले प्रदत्त गरेको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखिएका जटिलता हटाउन र प्रवासमा रहेका नेपालीले मतदान गर्न पाउने सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गराउन उनले जोड दिएका थिए।
साथै, भूतपूर्व गोर्खाहरूको समान पेन्सन र अधिकार, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा तथा ‘श्रम डेस्क’ को प्रभावकारिता पनि उनका प्रमुख एजेन्डा थिए।
आर्थिक एजेन्डाअन्तर्गत ‘एनआरएनए डेभलपमेन्ट फन्ड’ लाई २५ अर्ब रुपैयाँको बनाएर साना लगानीकर्ता र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई आईपीओमार्फत जोड्ने उनको लक्ष्य थियो।
निर्वाचित भएको ६ महिनाभित्र विधान अधिवेशन गरी सदस्यता वितरण र निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्ने वाचा पनि उनले गरेका थिए। यी सबै एजेन्डालाई ग्रहण गरी अब नवनिर्वाचित अध्यक्ष हेमराज शर्माले अघि बढाउने बताइएको छ ।
मुस्ताङमा जन्मिएर पोखरा हुँदै उच्च शिक्षाका लागि काठमाडौँ आएका शेरचन करिब ३५ वर्षअघि जापान पुगेका थिए। अहिले उनी जापानका एक सफल नेपाल व्यवसायी हुन्। एनआरएनएमा उनको करिब १५ वर्षभन्दा बढी समय योगदान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण