‘स्ट्रेट अफ हर्मुज’ मा ‘पेट्रोडलर’को इतिश्री हुँदैछ
सारांश
- चीनले इरानमा अमेरिका-इजरायलको युद्धलाई सैन्य खतराको रूपमा हेर्दै नैतिक आलोचना गरेको छ।
- इरानले अमेरिकी डलरको सट्टा चिनियाँ मुद्रा युआनमा तेल व्यापार सुरु गरेको छ, जसले पेट्रोडलर प्रणालीलाई चुनौती दिन्छ।
- चीनले ब्रिक्स र एससीओ जस्ता संस्थाहरू मार्फत बहुपक्षीयता बढाउँदै नयाँ रेशम मार्ग र वैकल्पिक व्यापार प्रणालीमा लगानी गरेको छ।
‘एपस्टिन सिन्डिकेट’को नाममा पनि चिनिने अमेरिकी–इजरायली नेतृत्वले इरानमा सुरु गरेको युद्धलाई लिएर चीनले दुई समानन्तर ढङ्गले प्रतिक्रिया दिएको छ । उसले कूटनीतिक प्रवक्ता तथा सैन्य प्रवक्ताको माध्यमबाट आफ्नो जबाफ दिएको छ ।
त्यसको अर्थ हुन्छ– चीनले जारी युद्धलाई गहन राजनीतिक/कूटनीतिक तनावका रूपमा मात्रै नभएर सैन्य खतराका रूपमा पनि हेरिरहेको छ ।
चीनको जनमुक्ति सेना (पीएलए) का प्रवक्ता एवं कर्णेलले प्रतीकात्मक भाषामा अमेरिका ‘युद्धको कुलतमा फसेको’ बताएका छन् । जम्मा २५० वर्षको इतिहास भएको मुलुक मुस्किलले १६ वर्षमात्रै शान्त रहेको उनको तर्क छ ।
उनी अमेरिका विश्व खतराका रूपमा रहेको कुरा प्रस्ट भन्छन् । साथै स्पष्ट रूपमा नैतिक खतरा समेत भन्न छुटाउँदैनन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ मार्क्सवाद र कन्फ्युशियसवादमा दीर्घकालीन सम्बन्ध जोड्न दृढताका साथ लागेका छन् । राजनीतिक चिन्तनमा कफ्युशियसको मुख्य योगदानमध्ये एउटा भाषाको सटिक प्रयोग पनि हो । कन्फ्युशियसका अनुसार जसले सटिक विम्ब र नैतिक भारसहित बोल्न सक्छ, ऊमात्रै मुलुकमा शासन गर्न सक्षम हुन्छ ।
त्यसैले चीन अहिले इरानमा युद्ध गर्ने अमेरिकी छनोटको सावधानीपूर्वक नैतिक आलोचना तयार गर्दैछ । अहिलेको युद्ध नैतिक धरातल गुमाएको देशले गरेको आक्रमणका कारण चलेको हो भन्ने स्थापित गर्ने कुरामा चीनको जोड छ ।
‘ग्लोबल साउथ’ अर्थात् वैश्विक दक्षिणले उक्त आलोचनाले दिन खोजेको सन्देश राम्रोसँग बुझ्छ । अझ युद्धभूमिमा देखा परेका विविध तथ्यहरू हेर्दा चीनले कसरी इरानमा युद्धको नियम फेर्दैछ भन्ने देखिँदैछ ।
इरानको ‘ग्रीड’ प्रणाली अहिले पूर्ण रूपमा ‘बेदु’ उपग्रह प्रणालीसँग जोडिएको छ । इरानले आफ्नो निशानालाई कसरी ठ्याक्कै प्रहार गर्दैछ भन्ने यसैले बुझाउँछ । अमेरिका–इजरायलले चाल्ने प्रत्येक कदमले चिनियाँ प्रविधिको ‘डिजिटल पर्खाल’ सामना गर्नु परिरहेको छ । अन्तरिक्षमा ४० भन्दा बढी बेदु उपग्रह घुमिरहेका छन् । यसैका आधारमा इरानी क्षेप्यास्त्रको प्रभावकारिता तथा ‘जामिङ’मा प्रतिरोध बढेको छ ।
चीन र इरानबिच २५ वर्षे ‘विस्तृत रणनीतिक सहकार्य’ चलिरहेको छ । त्यसैको हिस्सा स्वरुप चीनले आफ्ना उपग्रह प्रणालीमा जोडिएका ‘लङ्ग रेन्ज राडार’हरू उपलब्ध गराएको छ । गत वर्ष चलेको ‘१२ दिने युद्ध’ को तुलनामा अहिले इरानको प्रतिक्रियाको समय धेरै छोटो भइसकेको छ ।
उता रुसले पनि अर्को उस्तै महत्त्वपूर्ण क्षेत्रमा सघाइरहेको छ । युक्रेन युद्धमा ‘प्याट्रिअट’ तथा ‘आईआरआईएस–टी’ जस्ता पश्चिमा प्रणालीसँग खेलेको रुसले आफ्नो अनुभवको पाठ व्यापक मात्रामा इरानसँग साझा गरिरहेको छ । अहिले इरानले केवल व्यापक मात्रामा हुने ड्रोन हमलालाई निष्फल पार्ने तरिकामात्रै सिकेको छैन, ब्यालेष्टिक मिसाइलको ‘भली’ सँग समन्वय गराएर ड्रोनहरूको व्यापक वर्षा गराउने तरिका पनि सिक्दैछ ।
पछिल्लो समय इरानले सुरु गरेको ‘अप्रेसन ट्रु प्रमिस–४’ ले इजरायल एवं अमेरिकी पक्षमा व्यापक क्षति गराउनुको पछाडि त्यही युद्ध तकनिकको हात छ । खेलको असली कथा ‘पेट्रोयुआन’मा छ ।
एकैछिन ‘स्ट्रेट अफ हर्मुज’ को लफडालाई नै हेरौँ । इरानले अहिले ‘स्ट्रेट अफ हर्मुज’ अर्थात हर्मुजको साँघुरो गल्छीबाट त्यस्ता तेल ट्याङ्करलाई मात्रै पार हुन दिँदैछ, जसको कारोबार पेट्रोयुआनमा भएको छ । डलरमा कारोबार हुने ट्याङ्करले त्यहाँबाट वारपार हुन पाएकै छैनन् । युरोमा कारोबार हुनेको हालत पनि त्यस्तै छ । केवल युआनमा कारोबार हुनेलाई मात्रै वारपार गर्न दिइएको छ ।
खासमा भन्ने हो भने चीनले सन् २०२२ को डिसेम्बरमै ‘ब्रेटन वुड्स एवं पेट्रोडलर प्रणाली’ को अन्त्यको थालनी गरिसकेको थियो । त्यसबेला बेइजिङले ‘गल्फ को–अप्रेसन काउन्सिल’ (जीसीसी) का पेट्रोलवाला–राजाहरूलाई ‘सांघाई स्टक एक्स्चेन्ज’ मा उनीहरूको तेल व्यापार गर्न निम्ता दिएको थियो ।
भर्खरै पारित भएको चीनको १५औँ पञ्चवर्षीय योजनामा पनि त्यसलाई समावेश गरिएको छ । अब धेरै विषय गहन र प्रणालीगत दृष्टिकोणको हिस्सा भइसकेका छन् ।
बेइजिङका योजनाकारहरूले कुल गार्हस्थ उत्पादन (जीडीपी) को वृद्धिलाई समग्रतामा ४ प्रतिशत हाराहारी राखेका छन् । ‘डिजिटल अर्थतन्त्र’ जीडीपीको १२ दशमल ५ प्रतिशत हाराहारी पुग्दैछ । हरित ऊर्जा क्षेत्रका उत्पादनको हिस्सा २५ प्रतिशत पुग्दैछ । सतहको पानीको गुणस्तर बढेर ८५ प्रतिशत हुँदैछ । उच्च मूल्यका ‘प्याटेन्ट’ हरूको बाढी लागेको छ । यी तमाम सफलता र सकरात्मकबिच सन् २०३० सम्म लक्ष्य हासिल गरेरै छाड्नका लागि प्रभावकारी सूचकहरू तयार पारिएका छन् ।
त्यसको अर्थ हो चिनियाँहरू अर्थतन्त्र, ऊर्जा सुरक्षा, पर्यावरण, शिक्षा तथा स्वास्थ्य सबैलाई स्वस्थ शरीरका विभिन्न अंग जसरी व्यवहार गरिरहेका छन् । यसरी नै शहरीकरणले उत्पादकत्व बढाउँदैछ । अनुसन्धान तथा विकासमा भएको लगानीले धेरैभन्दा धेरै प्याटेन्टहरू उत्पादन गर्दैछ । ती प्याटेन्टले डिजिटल अर्थतन्त्रलाई बढाइरहेका छन् । साथै हरित ऊर्जाले रणनीतिक स्वाधीनता बढाइरहेको छ ।
पछिल्लो पञ्चवर्षीय योजना हेर्दा चीन कसरी मसिनो तवरमा भविष्यको प्रविधिको अगुवा हुने बाटोमा छ भन्ने देख्न सकिन्छ । सन् २०३० बाट सुरु हुने त्यो यात्रा सन् २०५० वरपर आफ्नो पूर्ण सफलताको वरपर पुग्नेछ ।
पेट्रोडलरको खारेजीले अन्तर्राष्ट्रिय सम्बन्धको अहिलेको प्रणालीमा व्यापक परिवर्तन ल्याउन सक्छ । अहिले इरानले संसारकै सबैभन्दा समवेदनशील ‘चोक पोइन्ट’ तथा २० प्रतिशत तेल वारपार गर्ने गल्छीमा पेट्रोडलरलाई विस्थापन गर्दै पेट्रोयुआन किस्तीमा राखेर अघि सार्दैछ ।
यो इरानको सैन्य चाल होइन । वित्तीय दृष्टिमा आणविक हतियार स्तरको चाल हो । अझ राम्रो कुरा त इरानले ग्लोबल साउथका लागि उपयुक्त हुने ‘मोडेल’ पनि उपलब्ध गराइरहेको छ । अब ९० प्रतिशत हाराहारी इरानी कच्चा तेलको निर्यात ‘सीआईपीएस’ भुक्तानी प्रणालीमार्फत चिनियाँ मुद्रा युआनमा हुँदैछ ।
अब ग्लोबल साउथ सामान्य मोडेलमै समेटिन सक्छ । इरानले स्ट्रेट अफ हर्मुज बन्द भएको भनेको छैन । उसले इरान आक्रमणमा संलग्न ‘एपस्टेन सिन्डिकेट’ मा रहेको अमेरिका र पेट्रोडलरमा कारोबार गर्ने उसका चाटुकारहरूका लागि मात्रै बन्द गरेको हो । अहिले समुद्रका मार्गहरू यथार्थमै राजनीतिक ‘फिल्टर’ जस्ता भएका छन् । ग्लोबल साउथ पेट्रोयुआनमा सर्ना साथ सन् १९७४ देखि सुरु भएको वर्चश्वशाली पेट्रोडलरको इतिश्री हुने निश्चित छ ।
अहिले संसारका हरेक कारोबारीलाई पेट्रोडलरले कसरी काम गर्छ भन्ने राम्रोसँग थाहा छ । सन् १९७३ को ‘ओएल शक’ पश्चात ‘गल्फ कोअप्रेसन काउन्सिल’ र ‘ओपेक’ सन् १९७४मा अमेरिकी डलरमा मात्रै तेलको कारोबार गर्न सहमत भएका थिए ।
तेल निर्यातकर्ताहरूले आफ्नो फाइदाको डलरजति ‘अमेरिकी ट्रेजरी बन्ड’ र ‘स्टक’ मा अनिवार्य पुर्याउनै पर्छ । त्यसो गर्दा अमेरिकी डलर ‘रिजर्भ करेन्सी’ का रूपमा अझै सशक्त हुन्छ । अमेरिकी प्रविधि उद्योगमा लगानी हुन्छ । अमेरिकाको ‘मिलिटरी इन्डष्ट्रियल कम्प्लेक्स’ मा लगानी हुन्छ । घुमाई फिराई अमेरिकाले चलाइरहेको अनवरत युद्धमा लगानी हुन्छ । सबैभन्दा ठुलो कुरा त अमेरिकाको ऋणभार थेग्नका लागि प्रयोग हुन्छ ।
‘ब्रिक्स’ का सदस्य राष्ट्रहरू चीन, रुस र इरानले नयाँ र उन्नत भुक्तान प्रणाली बनाउन खोज्दैछन् । त्यसको एउटा महत्त्वपूर्ण पक्ष पेट्रोडलरलाई छल्नु पनि हो ।
ट्रम्पको भाषामा भन्दा उनी कुनै योजनाविहीन ‘एक्सकर्जन’ अर्थात मामुली अभियानमा गएका हुन्, तर जमिनी यथार्थ हेर्ने हो भने त्यहाँ उनलाई निकै ठुलो असफलता हात लाग्दैछ । अमेरिकाले उल्टै नयाँ स्तरको झट्का खाँदैछ ।
इरानी रिभोलुसनरी गार्डले ‘सुन जु’ को शैली अपनाउँदैछ ।
‘स्ट्रेट अफ हर्मुज’ लाई हतियारका रूपमा प्रयोग गर्नु भनेको ‘इरानी इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आईजीआरसी) ले प्राचिन चिनियाँ युद्धशास्त्री सुन जुको रणनीति प्रयोग गर्नु हो । अहिले स्ट्रेट अफ हर्मुजको साँघुरो बाटो र युआन मुद्रा नै साम्राज्य ध्वस्त पार्ने हतियार बनेका छन् । यति भएपछि आणविक बम किन चाहियो ?
अब वैश्विक वित्तीय प्रणालीको नियन्त्रण कस्तो हुने भन्ने ठाउँमा संसार आइपुगेको छ । हामी खुला आँखाले देखिरहेका छौँ, पर्सियालीहरू बहुत राम्रोसँग चेस खेलिरहेका छन् । यो खेल उनीहरूले राम्रोसँग जानेको खेल हो । तर खेलमा भने चिनियाँ खेल ‘वेइकी’ अर्थात ‘गो’ को अंश पनि मिसिएको देख्न सकिन्छ ।
‘गो’ खेल आफैँमा मौलिक छ । बोर्डमा भएका स–साना ढुंगाहरू आपसमा जोडिँदा सिङ्गै बोर्डभर लामो समय नियन्त्रण हुनसक्ने अवस्था बन्छ । अहिलेको हाम्रो सन्दर्भको भूराजनीतिक तथा भू–आर्थिक चेसबोर्डमा आफ्नो स्थान तय गर्ने, धैर्यता राख्ने, आफूलाई फाइदा हुने कुराहरू जम्मा गर्दै जाने र रणनीति व्यवस्थापन गर्दै जाने कदम महत्त्वपूर्ण छन् ।
इरानमा थोपरिएको युद्धले अहिले चीनलाई निर्णायक चालको अवसर दिलाएको ‘रहस्य’ पनि त्यही हो । बेइजिङले धेरै समयदेखि अनन्त धैर्यतासहित चेसबोर्ड तय गरिरहेको छ । उसले बहुपक्षीय संस्थाहरूको समूह नै तयार गरेको छ । ‘ब्रिक्स’ र ‘एससीओ’ मा महत्त्वपूर्ण भूमिका खेलेको छ ।
‘बीआरआई’ का रूपमा नया रेशम मार्ग निर्माण गरेको छ । वैकल्पिक कारोबार प्रणाली निर्माणमा ठुलो लगानी गरेको छ । उसले पछिल्लो समय आफ्नो कूटनीतिक क्षमतामा ज्यादै ठुलो वृद्धि गरेको छ ।
‘गो’ खेल आफैँमा ज्यादै विवेकपूर्ण खेल हो । यदि तपाईंले बोर्डलाई सही ढंगले आकार दिन सक्नुभयो भने असफल हुनु पर्दैन । बिस्तारै खेल आफैँ खेलिन थाल्छ । हामी अहिले ठ्याक्कै त्यही मोडमा उभिएका छौँ । साम्राज्यवादी पिसाच एवं उसका चाटुकारहरू, सहयोगीहरू तथा दासहरू स्तब्ध र भयभित छन् । आफ्नै घमण्डको दलदलमा थुनिएर बन्दी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण