सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कम्बोडियाका ‘स्क्यामिङ सेन्टर’ बाट ५१ नेपालीको उद्धार

बुधबार, ११ चैत २०८२, १० : ५६
बुधबार, ११ चैत २०८२

सारांश

  • कम्बोडियाका अवैध अनलाइन स्क्यामिङ्ग केन्द्रमा बन्धक बनाइएका ५१ नेपालीको उद्धार गरिएको छ।
  • उद्धार गरिएका नेपालीलाई गैरकानुनी काममा लगाइएको थियो र उनीहरू बिना भिसा अलपत्र परेका थिए।
  • राजदूतासले रोजगारीको प्रलोभनमा कम्बोडिया नजान चेतावनी दिँदै, भ्रमण भिसामा जानेको संख्या बढेको जनाएको छ।

काठमाडौँ । विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेर त्यहाँका अवैध अनलाइन स्क्यामिङ्ग केन्द्रहरूमा बन्धक बनाइएका ५१ जना नेपाली नागरिकहरूको उद्धार गरिएको छ ।  बैंककस्थित नेपाली राजदूतावासको विशेष पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरिएका उनीहरू बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको समेत सहजीकरणमा उद्धार गरिएका ती नेपालीहरू चैत १० गते कम्बोडियाबाट स्वदेशका लागि उडेका थिए ।  दूतावासका अनुसार उनीहरूलाई त्यहाँका अवैध अनलाइन ठगी केन्द्र र क्यासिनोहरूमा गैरकानुनी काममा लगाइएको थियो । धेरैजसो नेपालीहरू बिना भिसा वा भिसाको अवधि सकिएर अलपत्र अवस्थामा फेला परेका थिए ।

पछिल्लो समय कम्बोडियामा सञ्चालित स्क्यामिङ्ग केन्द्रहरूमा काम गर्ने नेपालीहरूको राहदानी कम्पनीले जफत गरिदिने वा ट्रान्सफर हुने क्रममा हराउने गरेको गुनासो बढ्दो छ । यस्तो अवस्थामा राहदानी नभएर अलपत्र परेका नेपालीहरूलाई स्वदेश फर्काउन राजदूतावासले बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरेर सहयोग गरिरहेको छ । अझै पनि कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूलाई उद्धार गरी नेपाल फर्काउने पहल जारी रहेको दूतावासले जनाएको छ ।

दूतावासले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भ्रमण भिसामा कम्बोडिया जाने नेपालीहरूको संख्या विगत पाँच वर्षमा अस्वाभाविक रूपमा बढेको पाइएको छ ।  सन् २०२१ मा जम्मा १०१ जना नेपाली कम्बोडिया गएकोमा सन् २०२४ मा ६ हजार ४०४ र सन् २०२५ मा यो संख्या बढेर ९ हजार ६७६ पुगेको छ । धेरैजसो नेपालीहरू छिटो र धेरै पैसा कमाउने लोभमा परी असुरक्षित बाटोबाट त्यहाँ पुग्ने गरेको देखिएको छ ।

यसैबीच, नेपाली राजदूतावास बैंककले एक विज्ञप्ति जारी गर्दै रोजगारीको प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता मुलुकहरूमा भ्रमण भिसाको बहानामा नआउन सर्वसाधारणमा कडा चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप