बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
खेलकुद

राखेपले एन्फालाई तीन महिनाका लागि गर्‍याे निलम्बन

बुधबार, ११ चैत २०८२, २० : ०१
बुधबार, ११ चैत २०८२

सारांश

  • राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तीन महिनाका लागि निलम्बन गरेको छ।
  • एन्फाले निर्वाचन प्रक्रिया अघि बढाउँदा राखेपका निर्देशनहरू पालना नगरेको आरोप छ।
  • राखेपले एन्फालाई राष्ट्रिय कानुनको पालना नगरेको र अन्तर्राष्ट्रिय निर्देशनलाई प्राथमिकता दिएको आरोप लगाएको छ।

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।

राखेपको कार्यकारी समितिको मिति २०८२ चैत ११ गतेको निर्णयअनुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ (२) बमोजिम एन्फालाई तीन महिनाका लागि निलम्बन गरिएको हो ।

राखेपका अनुसार एन्फाले परिषदबाट पटक–पटक दिइएका निर्देशनको पालना नगरी आवधिक निर्वाचन सम्बन्धी प्रक्रिया अघि बढाएको आरोप लगाइएको छ । परिषद्ले अर्डिनरी कंग्रेस (साधारण सभा) तथा निर्वाचन सम्बन्धी कार्य अघि बढाउनुअघि स्वीकृति लिन र परिषद्को प्रतिनिधि उपलब्ध गराउन निर्देशन दिएको थियो ।

युवा तथा खेलकुद मन्त्रालयको समेत राय लिएर परिषद अध्यक्ष तथा मन्त्रीस्तरीय निर्णय (पुस २२) गतेबाट उक्त निर्देशन कार्यान्वयन गर्न पत्राचार गरिएको थियो । त्यसपछि पनि परिषदको कार्यकारी समितिका विभिन्न निर्णय कार्यान्वयन गर्न गरिएको पत्राचारको एन्फाले पालना नगरेको राखेपले जनाएको छ ।

राखेपले एन्फाले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७, राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ तथा परिषद्‌बाट स्वीकृत विधानको व्यवस्था विपरीत निर्वाचन प्रक्रिया अगाडि बढाएको पनि उल्लेख गरेको छ ।

यसै विषयमा राखेपले चैत १० गते २४ घण्टाभित्र सफाइ पेश गर्न एन्फालाई पत्राचार गरेको थियो । एन्फाले चैत ११ गते सफाइ पेस गरे पनि उक्त जवाफ चित्तबुझ्दो नभएको राखेपको निष्कर्ष छ ।

राखेपले एन्फाले राष्ट्रिय कानुनभन्दा अन्तर्राष्ट्रिय संस्थाको निर्देशनलाई प्राथमिकता दिएको तथा परिषदको निर्देशनलाई अवमूल्यन गरेको आरोप पनि लगाएको छ । नियमनकारी निकायको निर्देशन कार्यान्वयन नगरेको तथा स्वीकृत विधानको परिधिभित्र रही काम नगरेको भन्दै निलम्बनको निर्णय गरिएको राखेपले जनाएको छ ।

यससँगै एन्फालाई तीन महिनासम्मका लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराइएको छ।

anfa-letter-1211_page-0001anfa-letter-1211_page-0002

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप