रीना उप्रेती : पद्मकन्याको स्ववियु सभापतिदेखि प्रतिनिधि सभा सदस्यसम्म
सारांश
- रीना उप्रेती केसी खस आर्य महिला कोटाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइन्।
- उनले लामो समयको राजनीतिक संघर्ष र योगदानपछि समानुपातिक सांसद बन्ने अवसर पाइन्।
- उनले आगामी योजनाहरूमा हिमाली क्षेत्रको विकास र स्थानीय स्रोतको उपयोगलाई प्राथमिकता दिने बताइन्।
काठमाडौँ । नेपाली कांग्रेसबाट समानुपातिक प्रणाली अन्तर्गत खस आर्य महिला कोटामा रीना उप्रेती केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन् । पार्टीले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा खस आर्य क्लष्टरको तेस्रो नम्बरमा नाम रहेकी उनी योग्यता, क्षमता र लामो राजनीतिक योगदानका कारण समानुपातिक सांसद बन्नेमा पर्छिन् ।
लामो समयसम्म गरेको राजनीतिक संघर्षलाई यसपटक पार्टीले मूल्याङ्कन गरेको रीनाको भनाइ छ । २०६४ सालमा सम्पन्न पहिलो संविधान सभा निर्वाचनमै उनको नाम समानुपातिकतर्फ सिफारिस भएको थियो । यद्यपि, त्यतिबेला उनी निर्वाचित सूचीमा परिनन् ।
‘पहिलो पटक मेरो नाम समानुपातिकतर्फ २०६४ सालमा सिफारिस भएको थियो । त्यसपछि पटक–पटक सिफारिसमा परे पनि सांसद बन्ने अवसर जुरेको थिएन,’ रीनाले रातोपाटीसँग भनिन्, ‘यो पटक जुरेको रहेछ । अहिलेसम्म गरेको राजनीतिको मूल्याङ्कन गरेर समानुपातिकतर्फबाट पार्टीले मलाई सांसद बनायो ।’
रीनाले यसपटक सोलुखुम्बुमा प्रत्यक्ष निर्वाचन लडेरै प्रतिनिधि सभामा प्रवेश गर्ने योजना बनाएकी थिइन् । जिल्ला तहबाट प्रत्यक्ष उम्मेदवारका लागि उनको नाम सिफारिस भएको थियो, तर पार्टीले कोशी प्रदेशबाट समानुपातिकमा उठाउने निर्णय गरेपछि उनले प्रत्यक्षबाट आफ्नो नाम फिर्ता लिएकी थिइन् ।
उनले भनिन्, ‘प्रत्यक्षबाटै लड्ने योजना थियो, पार्टीभित्रको सहमति र समीकरणका कारण समानुपातिकबाट संसदमा पुग्न बनाएको योजना सफल भएको छ ।’
- ०४६ सालदेखि राजनीतिमा सक्रिय
रीना नेपाली कांग्रेसको राजनीतिमा ०४६ सालदेखि सक्रिय भएकी हुन् । विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएकी उनी अहिलेसम्म निरन्तर राजनीतिमै छन् । विद्यार्थी राजनीति, पार्टीको संगठन निर्माणमा उनको योगदान छ । कांग्रेसको ११औँ, १३औँ र १४औँ महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधि थिइन् । गत पुसमा विशेष महाधिवेशन अघिसम्म उनी पार्टीको नीति प्रशिक्षण प्रतिष्ठान सदस्य थिइन् ।
_MPifXD4p5M.jpg)
रीनाका बुबालाई कांग्रेसप्रति आस्था राखेकै कारण २०२८ सालमा पञ्चायत सरकारले दमन ग-यो । त्यतिबेला घरमा प्रहरीको निगरानी सधैँ हुने गरेको रीना सम्झिन्छिन् । २०४६ सालतिर कांग्रेस नेता कृष्ण सिटौला उनको घरमा भूमिगत अवस्थामा बस्थे । यतिबेला राजनीतिक घटनाक्रमलाई थप बुझ्ने, क्यासेटमा रेकर्ड गरेका नेताका भाषण सुन्ने, घरमा लुकाएर राख्ने, भूमिगत नेताहरूलाई सहयोग गर्ने गतिविधिमा संलग्न भएकी रीना २०४६ सालको जनआन्दोलनमा सक्रिय भइन् ।
आन्दोलनका गतिविधिमा सक्रिय भएको बेलामा उनलाई प्रहरीले पक्राउ गरेर जेल हाल्यो । जेलमा पर्ने बेलामा उनी १९ वर्षकी थिइन् । उनीमात्र होइन, उनकी बहिनीसमेत जेल परिन् । ‘जेल पर्दा म १९ वर्षकी थिएँ, मेरी बहिनी १५ वर्षकी थिइ । २०४६ को जनआन्दोलनमा पक्राउ परेका हामी बहुदल घोषणापश्चात जेलबाट बाहिर निस्कन पायौँ,’ रीनाले भनिन् ।
- पद्मकन्यामा स्ववियु कोषाध्यक्ष, सचिव र सभापति
बहुदल घोषणा पश्चात काठमाडौँ आएकी रीनाले राजनीतिक सक्रियता अझ बढाइन् । एसएलसी पास गरेर काठमाडौँ आएपछि पद्मकन्या क्याम्पसमा अध्ययनसँगै कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को विद्यार्थी राजनीतिमा सक्रिय भइन् । त्यहाँ अध्ययन गर्दै गर्दा उनले बुटवलमा भएको नेविसंघको महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चुनिएर बुटवल पुग्ने अवसर पाइन् ।
रीनाले २०४९ सालमा नेविसंघबाट उम्मेदवार बन्दै पद्मकन्या क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कोषाध्यक्ष जितिन् । त्यो कार्यकाल सकिएपछि २०५१ मा अर्को कार्यकालका लागि भएको स्ववियु निर्वाचनमा उनी सचिवमा निर्वाचित भइन् । स्ववियु सचिव भएकै बेलामा नेविसंघले उनलाई पद्मकन्या इकाई सभापतिको जिम्मेवारी दियो ।
_I2Ev0TbCvQ.jpg)
इकाई सभापति भएकै बेलामा रीनाले २०५३ मा स्ववियु सभापतिको उम्मेदवार बन्ने अवसर पाइन् र त्यो अवसरलाई सफलतामा परिणत गर्न सफल भइन् । नेविसंघमा केन्द्रीय सदस्य र सचिवसम्म भएर काम गरेकी रीनाले पद्मकन्या क्याम्पसमा स्ववियु सभापतिको कार्यकाल सकिएपछि पनि अध्ययनलाई निरन्तरता दिइन् । अध्ययन सकेर झापा फर्किएकी उनी झापामै कांग्रेसको राजनीतिमा सक्रिय भएर लागिन् ।
रीना २०६१ सालमा कांग्रेस नेता बलबहादुर केसीसँग विवाह बन्धनमा बाँधिइन् । विवाहपछि उनी केसीको गृहजिल्ला सोलुखुम्बु पुगेर कांग्रेस राजनीतिमा सक्रिय भइन् । २०६४ सालदेखि निरन्तर राजनीति गर्ने तर संसदीय निर्वाचनमा श्रीमानलाई सहयोग गरिरहेकी रीना अहिले भने समानुपातिक सांसद् बनेकी हुन् ।
- राजनीतिमा महिलाको क्षमता भए पनि विश्वास गरिँदैन
नेपाली महिलामा राजनीतिक चेतना र अवसर पाएमा त्यसलाई सिद्ध गर्न सक्ने क्षमता छ, तर राजनीतिक दलका शीर्ष नेतृत्वले विश्वास गर्न नसक्ने प्रवृत्तिका कारण महिलाहरू नेतृत्व तहमा आउन नसकेको रीना बताउँछिन् । राजनीतिमा महिलामाथि गरिने व्यवहार पनि समान नभएको उनको तर्क छ ।
-(1)_OehVz1CXc1.jpg)
महिलाले सफलता हासिल गर्दा उनको व्यक्तिगत क्षमताभन्दा सम्बन्धसँग जोड्ने प्रवृत्ति रहेको रीना बताउँछिन् । ‘महिलालाई नेतृत्वले विश्वास नगर्ने, क्षमतामाथि प्रश्न गरिरहने प्रवृत्ति व्याप्त छ । महिलाले पनि अवसर पाए गर्न सक्छन् । अवसर पाएकाले गरेर देखाएका पनि छन्,’ रीना भन्छिन्, ‘तर, महिलालाई हेर्ने मानसिकता बदलिएको छैन । बदल्ने प्रयास गर्नुपर्छ ।’
- अर्को पटक समानुपातिक कोटा प्रयोग गर्दिनँ
रीनाले अर्को पटक समानुपातिकको अवसर प्रयोग नगर्ने बताइन् । समानुपातिक प्रतिनिधित्वका लागि दिइएको मौका पटक–पटक एउटै व्यक्तिले प्रयोग गर्न नहुने उनको भनाइ छ । एक पटक अवसर पाएपछि त्यसलाई उपयोग गरेर आफूलाई प्रमाणित गर्न सक्नुपर्नेमा उनले जोड दिइन् ।
‘एक पटक अवसर पाएपछि उपयोग गरेर आफूलाई प्रमाणित गर्नुपर्छ । पटक–पटक एउटै व्यक्तिले अवसर लिए समानुपातिक प्रणालीमाथि अविश्वास बढ्छ,’ रीना भन्छिन्, ‘प्रणाली जोगाउनका लागि अवसरको प्रयोग गर्नेहरू सचेत हुन आवश्यक छ ।’
- अबका योजना
लामो समय राजनीति गरेपछि प्रतिनिधि सभामा पुग्ने अवसर पाएकी उनले यस अवसरलाई सिकाइका रूपमा लिने योजना सुनाइन् । संसदीय अभ्यास, संविधानको मर्म र जनताको सरोकारबारे संसदमा आवाज उठाउने तयारी गरिरहेको उनले बुधबार बिहान रातोपाटी प्रतिनिधिसँगको कुराकानीमा बताइन् ।

आफ्नो कर्मथलो हिमाली जिल्ला सोलुखुम्बु रहेकाले हिमाली जिल्लाका मुद्दामा संसदमा उठाउने उनले बताइन् । आफ्ना प्राथमिक एजेण्डा हिमाली क्षेत्रको विकास, स्थानीय स्रोतको उपयोग र आर्थिक आत्मनिर्भरता रहने उनको भनाइ छ । हिमालमा पर्यटनसँग सम्बन्धित गतिविधिबाट उठ्ने रोयल्टीलाई हिमालको विकासमै प्रयोग गर्न पाउने कानुन बनाउन प्रयास गर्ने उनले बताइन् ।
रोयल्टी ५० प्रतिशतसम्म स्थानीयस्तरमै खर्च गर्न पाउने व्यवस्था भए विकासका लागि केन्द्र सरकारमाथि निर्भर हुन नपर्ने उनले बताइन् ।
पद्मकन्या क्याम्पसमा रीनाभन्दा पछाडि विद्यार्थी राजनीति गरेकाहरू यसअघि नै सांसद बनिसकेका छन् । उनीपछि पद्मकन्यामा स्ववियु सभापति बनेकी प्रतीमा गौतम कांग्रेस केन्द्रीय सदस्य छिन् । गौतम अघिल्लो संसदमा सदस्य थिइन् । रीनापछि नै स्ववियु सभापति बनेकी टिका चौधरीले पनि कांग्रेसबाट कैलालीमा प्रत्यक्षतर्फ नै टिकट पाएकी थिइन् ।
‘तपाईंले त ढिलोमात्रै मौका पाउनु भयो नि ?’ भन्ने प्रश्नमा रीना भन्छिन्, ‘मेरो प्रयास र निरन्तरताका कारण बल्ल संसद् पुग्ने सौभाग्य पाएकी छुँ । यो अवसरलाई प्रमाणित गरेर देखाउन योजना बनाइरहेकी छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण