प्रधानमन्त्रीको कुर्सीमा बालेन शाह : के थियो उनको बाचा ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन शाह झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भई देशको प्रधानमन्त्री बने।
- उनले झापाका स्थानीय जनताको विकास सम्बन्धी अपेक्षा पूरा गर्न र बाचापत्रका योजनाहरू कार्यान्वयन गर्नुपर्नेछ।
- बालेनले सुशासन, भूमिहीन समस्या समाधान, शिक्षा र स्वास्थ्यमा सुधारलगायतका विभिन्न योजनाहरू अघि सारेका छन्।
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिँदै आफ्नो विस्तृत ‘बाचा पत्र’ लिएर जनतामाझ पुगेका बालेन्द्र (बालेन) शाह चुनावमा भारी मतका साथ निर्वाचित भए । सोही जनमतका आधारमा उनी आज देशकै प्रधानमन्त्रीको कुर्सीमा विराजमान भए ।
बालेनले झापा क्षेत्र नं. ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका थिए । प्रधानमन्त्री बनेका बालेनबाट झापाका स्थानीय बासिन्दाले विकासको ठुलो अपेक्षा गरेका छन् । लामो समयदेखि रोकिएका पुराना आयोजनाले पूर्णता पाउने र बाचापत्रका नयाँ योजना लागु हुनेमा मतदाता विश्वस्त छन् ।
झापा–५ का जनताले वर्षौंदेखि अलपत्र दमक–चिसापानी सडक निर्माण, दमक औद्योगिक पार्कको निर्माण र दमक भ्यु टावर शीघ्र सञ्चालन हुनुपर्ने, दमक अस्पताललाई ३०० शय्यामा स्तरोन्नति गर्ने र युवा रोजगारीका लागि दमकलाई ‘आइटी हब’ बनाउनु पर्ने धारणा राखेका थिए । कमल गाउँपालिकामा अलपत्र अवस्थामा रहेको ‘आदिवासी रङ्गशाला तथा स्मृति पार्क’ निर्माण सम्पन्न गर्नुपर्ने, बन्द हुने अवस्थामा रहेको गौरीगन्ज छोटी भन्सारको स्तरोन्नति र भूमिहीन तथा सुकुमबासी समस्या समाधान गर्नुपर्नेमा पनि उनीहरूले जोड दिएका थिए । बालेनले पनि स्थानीय जनताका तिनै विषय समेटेर बाचापत्र बनाएका थिए ।
जनताका माग, सुझाव र गुनासोलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सम्पर्क कार्यालय स्थापना गरेर काम अघि बढाइने रास्वपाका क्षेत्रीय सभापति भेषराज भट्टराईले जनाएका छन् ।
के थियो बालेनको बाचा ?
राजनीतिलाई पेसा होइन, सेवा बनाउने सङ्कल्पसहित चुनावमा होमिएका बालेनको अब भने वास्तविक अग्निपरीक्षा सुरु भएको छ । उनले जनतालाई बाँडेको त्यही बाचापत्रलाई अब देश र विशेषगरी आफ्नो निर्वाचन क्षेत्रमा कसरी कार्यान्वयन गर्छन् भन्नेतर्फ सम्पूर्ण देशवासीको ध्यान केन्द्रित भएको छ ।
प्रधानमन्त्री बनेसँगै बालेनको बाचापत्रका यी प्रमुख एजेन्डा अब कसरी अघि बढ्छन् भन्ने हेर्न बाँकी छ ।
बालेनले आफ्नो बाचापत्रमा सुशासनलाई उच्च प्राथमिकतामा राखेका छन् । बेथिति र भ्रष्टाचारविरुद्ध संसदको अग्रपङ्क्तिमा उभिने उनको पहिलो बाचा हो । उनले सरकारी कार्यालयमा अनलाइन गुनासो दर्ता प्रणाली र विकास निर्माणका कार्यहरूको प्रगति हेर्न सकिने डिजिटल ड्यासबोर्ड राख्ने योजना बाचापत्रमा समेटेका थिए । चिया बगानका मजदुरहरूको न्यूनतम पारिश्रमिक तोक्ने र श्रम कानुन परिमार्जन गर्ने उनको सङ्कल्प थियो । अब प्रधानमन्त्रीको हैसियतले नीतिगत रूपमा उनले ती प्रतिबद्धतालाई व्यवहारमा उतार्ने ‘काउन्ट डाउन’ सुरु भएको छ ।
झापा–५ लगायत देशभरिको मुख्य समस्याका रूपमा रहेको भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासलाई हल गर्न बालेनले बाचापत्रमा १०० दिनमा आयोग बनाउने र एक हजार दिनमा समाधान गर्ने आकर्षक नारा दिएका थिए । प्रधानमन्त्रीको कुर्सीमा बसेको आजको मितिबाट यो हजार दिने ‘काउन्ट डाउन’ पनि सुरु भएको छ । जमिनको खण्डीकरण रोक्न ल्यान्ड बैंकको स्थापना र जग्गाको नापी–नक्सा डिजिटलाइज गर्ने उनको बाचालाई पनि धेरैले चासोका साथ कार्यान्वयनको पक्षमा हेर्न चाहेका छन् ।
शिक्षा र स्वास्थ्यमा बालेनका निकै महत्त्वाकाङ्क्षी बाचा थिए । विद्यार्थीलाई विदेश जानबाट रोक्न शिक्षामा सिप कार्यक्रम र बिचमै विद्यालय छाड्ने दर शून्यमा झार्न स्कुल रिटेन्सन प्रोग्राम ल्याउने उनको नीति छ । कमल गाउँपालिका (लखनपुर) मा कोशी आयुर्वेद प्रतिष्ठान स्थापना गर्ने, दमकमा बहुप्राविधिक शिक्षालय र दमक–१० मा साइन्स पार्क खोल्ने बाचा गरेका बालेनले अब बजेटको व्यवस्थापन कसरी गर्छन्, त्यो हेर्न बाँकी छ ।
दमक अस्पताललाई ३०० शय्यामा स्तरोन्नति गर्ने, विपन्न तथा बेवारिसे बिरामीका लागि अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क गर्ने र घर–घर स्वास्थ्य सेवा कार्यक्रम लागु गर्ने बाचा उनले गरेका छन् । साथै, चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सुनिश्चित गर्ने उनको सङ्कल्प छ ।
पूर्वाधारतर्फ दमकलाई पूर्वी नेपालको आइटी हबका रूपमा विकास गर्ने उनको योजना युवापुस्तामाझ निकै लोकप्रिय बनेको थियो । यसका साथै हाम्रो रङ्गशाला, हाम्रो पहिचान अन्तर्गत आदिवासी जनजाति रङ्गशाला निर्माण गर्ने, विराट बुद्ध पार्कको काम सम्पन्न गर्ने र दमक–रवि–चिसापानी सडक सञ्चालनमा ल्याउने दायित्व उनको काँधमा छ ।
किसानका लागि कृषि उत्पादनको समर्थन मूल्य ग्यारेन्टी गर्ने र गौरादह कृषि भण्डारण केन्द्र स्थापना गर्ने बालेनको बाचा छ । हरेक किसानको शून्य मौज्दातमा बैंक खाता खोल्ने, कृषि बीमा प्रणाली लागु गर्ने र विद्युतमा अनुदान दिनेजस्ता योजनाहरू अब कृषिमन्त्रीमार्फत उनले कसरी लागु गराउँछन् भन्नेमा पनि कृषकहरूले नजिकबाट हेरिरहेका छन् ।
आमाको नामबाट नागरिकता लिने झन्झटिलो प्रक्रियालाई सरलीकृत गर्ने बाचा गरेका बालेनले महिलालाई महिला कृषि कर्जा र २८ वटै वडामा महिला तथा बालबालिकाका लागि सेफ हाउस निर्माण गर्ने योजना अघि सारेका थिए ।
बालेनले जनताको अपार विश्वास त पाए, तर अब बाचापत्रमा लेखिएका एक–एक बुँदा पूरा गर्नु उनको दायित्व बनेको छ । संविधानको परिपालना गर्दै नागरिकमैत्री कानुन निर्माण गर्नेदेखि लिएर झापा–५ को स्थानीय विकास, चुरे संरक्षण, र दमक गोल्डकपको स्तरोन्नतिसम्मका बाचा पूरा गर्न प्रधानमन्त्री बालेन शाहले कस्तो एक्सन लिन्छन् भन्नेबारे सर्वत्र चासो छ ।
स्वतन्त्र पृष्ठभूमिबाट आएर दलको नेतृत्व गर्दै देशको कार्यकारी प्रमुख बनेका उनको यो कार्यकालले नै यी प्रश्नको जबाफ दिनेछ । जनताको हातमा उनको बाचापत्र छ, अब परिणाम पर्खिने पालो सुरु भएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण