बरामद भएको वन्यजन्तुको अङ्ग प्रहरीले नै लुकाएपछि...
सारांश
- कैलालीको मालाखेती प्रहरी कार्यालयमा प्रमाण लुकाएर अपराधीलाई जोगाएको आरोपमा १३ जना प्रहरीलाई कारबाही गरिएको छ।
- प्रहरीले वन्यजन्तुको अङ्ग र अवैध हतियार बरामद गरे पनि ती प्रमाणहरू लुकाएको पाइएपछि कारबाही गरिएको हो।
- घटनामा संलग्न डीएसपी, इन्स्पेक्टर र वरिष्ठ सईलाई विभागीय कारबाही तथा अन्य १० जनालाई सचेत गराइएको छ।
धनगढी । कैलालीस्थित इलाका प्रहरी कार्यालय मालाखेतीमा प्रहरीले प्रमाण लुकाएर अपराधीलाई जोगाएको घटनाबारे प्रदेश प्रहरी कार्यालयले ‘एक्सन’ लिएको छ । प्रहरीले वन्यजन्तुको अङ्ग र अवैध हतियार बरामद गरे पनि ती प्रमाणहरू कार्यालयकै दराजमा लुकाएर घटनालाई सामसुम पार्न खोजेको आरोपमा १३ जना प्रहरीलाई कारबाही गरिएको हो ।
यो घटना गत साउन ९ गते मध्यरातको हो । कैलालीको गोदावरी नगरपालिका–८ मा इलाका प्रहरी कार्यालय मालाखेती र स्थानीय प्रहरीको संयुक्त टोलीले वन्यजन्तुको अङ्ग र हतियारसहित दुई जना युवकलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा चन्द्रबहादुर चौधरी र राजकुमार चौधरी थिए ।
उनीहरूको साथबाट प्रहरीले एउटा भरुवा बन्दुक, चित्तलको जस्तो देखिने सिङ र खुर बरामद गरेको थियो ।
वन्यजन्तुको अङ्गसहित पक्राउ परेका उनीहरूमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार कडा कारबाही हुनुपर्नेमा प्रहरीले तयार पारेको मुचुल्कामा भरुवा बन्दुकमात्र बरामद भएको उल्लेख गरियो । मुचुल्कामा वन्यजन्तुको सिङ र खुरको चर्चा नै गरिएन ।
उनीहरूविरुद्ध वन्यजन्तु सम्बन्धी मुद्दा नचलाई ‘हातहतियार तथा खरखजाना’ सम्बन्धी मुद्दामात्रै दर्ता गरियो । घटना भएको केही समयसम्म त यो कुरा गुपचुप नै रह्यो । प्रहरीभित्रैको यो गलत कार्य धेरै दिन लुक्न सकेन । केही महिनापछि प्रहरी प्रधान कार्यालयमा यसबारे उजुरी पर्यो ।
उजुरीमा विशेषगरी इलाका प्रहरी कार्यालयका मुद्दा शाखा प्रमुख, प्रहरी निरीक्षक दानसिंह भण्डारीमाथि गम्भीर आरोप लगाइएको थियो । भण्डारीले वन्यजन्तुको सिङ र खुर लुकाउने काम मात्र नभई अन्य थुप्रै अनियमितता गरेको दाबी उजुरीमा गरिएको थियो ।
प्रहरी प्रधान कार्यालयको निर्देशनपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले छानबिन सुरु गर्यो । सुरुमा छानबिनको जिम्मेवारी इलाका प्रहरी कार्यालय मालाखेतीकै प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दलाई दिइएको थियो ।
डीएसपी चन्दले आफ्नो मातहतका कर्मचारीको बचाउ गर्दै अनुसन्धानमा कुनै कमजोरी नभएको सफाइ प्रतिवेदन बुझाए । फेरि उजुरीकर्ताले डीएसपी चन्दले नै इन्स्पेक्टरलाई जोगाउन खोजेको भन्दै दोस्रो पटक उजुरी गरे ।
यस पटक भने डीएसपी निशान्त श्रीवास्तवको नेतृत्वमा नयाँ छानबिन समिति गठन भयो । नयाँ छानबिन टोलीले जब मालाखेती कार्यालयमा खानतलासी गर्यो, तब चकित पार्ने तथ्य फेला पारेको जनाएको छ ।
मुचुल्कामा नलेखिएको सिङ र खुर कार्यालयकै दराजभित्र लुकाइएको अवस्थामा छानबिन टोलीले फेला पार्यो । उक्त घटनापछि छानबिन समितिको प्रतिवेदनका आधारमा अहिले १३ जना प्रहरी कर्मचारीमाथि कारबाही गरिएको छ ।
घटनाको मुख्य जिम्मेवारी लिनुपर्ने डीएसपी रणबहादुर चन्द, इन्स्पेक्टर दानसिंह भण्डारी र वरिष्ठ सई दीपेन्द्र भट्टलाई विभागीय कारबाहीस्वरूप अभिलेखमा जनिने गरी नसिहत दिइएको छ । नसिहत पाउनु भनेको प्रहरी सेवामा पदोन्नति र अन्य अवसरहरूमा धक्का लाग्नु हो ।
सो घटनामा संलग्न अन्य १० जना प्रहरी कर्मचारीहरूलाई पनि रेकर्डमा जनिने गरी सचेत गराइएको छ । प्रहरी नियमावली २०७१ बमोजिम उनीहरूको सेवाकालको फाइलमा यो खराब आचरणको रेकर्ड रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण