राइड सेयरिङमा मनोमानी र श्रम शोषण भएको भन्दै सडकमा उत्रिए राइडर, सेवा नै ठप्प पार्ने चेतावनी
सारांश
- राइड सेयरिङ कम्पनीहरूले मनपरी भाडा निर्धारण गरेको विरोधमा राइडरहरूले आन्दोलन सुरु गरेका छन्।
- आन्दोलनकारीहरूले प्रति किलोमिटर २७ रुपैयाँ भाडादर लागू गर्नुपर्ने र श्रम शोषण बन्द गर्नुपर्ने माग राखेका छन्।
- उनीहरूले नेपालमा दर्ता नभएका एपहरूलाई प्रतिबन्ध लगाउन र विदेशी कम्पनीहरूलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।
काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका राइड सेयरिङ कम्पनीहरूले मनपरी भाडा निर्धारण गरेको र राइडरहरूको श्रम शोषण गरेको भन्दै ‘प्रो राइडर समूह’ले चरणवद्ध आन्दोलन सुरु गरेको छ। आइतबार काठमाडौंको बल्खुमा भेला भएका राइडरहरूले हातमा कालो पट्टी बाँधेर सरकारको कमजोर नियमन विरुद्ध प्रतीकात्मक विरोध प्रदर्शन गरेका हुन् ।
लामो समयदेखि सम्बन्धित निकाय र कम्पनीहरूसँग संवादको प्रयास गर्दा पनि आफ्ना समस्यालाई बेवास्ता गरिएपछि बाध्य भएर सडकमा उत्रिनुपरेको उनीहरूको गुनासो छ। समूहले उठाएका मागहरू पूरा नभए सामूहिक धर्ना, हस्ताक्षर अभियान, वृहत् र्यालीदेखि अन्तिम विकल्पका रूपमा राइड सेयरिङ सेवा नै पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएको छ।
उनीहरूले मुख्यगरी ५ बुँदे माग अघि सार्दै नेपालभर सञ्चालनमा रहेका सबै राइड सेयरिङ एपहरूमा प्रति किलोमिटर २७ रुपैयाँ समान भाडादर अनिवार्य लागू गर्नुपर्ने अडान राखेका छन्। विभिन्न बोनस वा ‘गोल ट्रिप’का नाममा राइडरको वास्तविक कमाइ घटाउने खेल बन्द गर्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ।
त्यसैगरी, नेपालमा दर्ता नभई सञ्चालनमा रहेका एपहरूलाई तत्काल प्रतिबन्ध लगाउन र विदेशी कम्पनीहरूलाई स्पष्ट कानुनी दायरामा ल्याउन पनि समूहले सरकारसँग माग गरेको छ। विदेशी एपमार्फत दैनिक रूपमा ठूलो रकम बाहिरिरहेको अवस्थालाई रोक्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने र नेपाली एपहरूलाई प्रोत्साहन गर्दै सरकारी मातहतमै सेवा सञ्चालन गर्न पहल गर्नुपर्नेमा राइडरहरूले जोड दिएका छन्।
राइडरहरूको धैर्यतालाई कमजोरी नलिन चेतावनी दिँदै उनीहरूले यो आन्दोलनलाई देशव्यापी बनाउने उद्घोष गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण