अझै आह्वान भएन संघीय संसद् अधिवेशन, कहिलेसम्म गर्नुपर्छ सभामुख र उपसभामुखको निर्वाचन ?
सारांश
- श्रम संस्कृति पार्टीका अध्यक्षले प्रतिनिधिसभा बैठक कहिले बोलाउने भनी प्रश्न उठाएका छन्।
- नवनिर्वाचित सांसद बालेन नेतृत्वको मन्त्रिपरिषद्ले संघीय अधिवेशन आह्वान नगरेकोमा प्रश्न उठेको छ।
- संविधान अनुसार, निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक बाध्यता छ।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नवनिर्वाचित प्रतिनिधि सभा बैठक आह्वान कहिले गर्ने भन्ने प्रश्न गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा सोमबार राईले लेखेका छन्, ‘सदनको पहिलो बैठक कहिले बोलाउने ? जनताका प्रश्नहरूदेखि डराएर किन भाग्ने ? खोइ विधि ? आफू खुसी गर्न पाइँदैन है ! होस् गरौँ !’
तर, त्यही प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूको बहुमतबाट प्रधानमन्त्री बनेका बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्ले संघीय (राष्ट्रिय सभा र प्रतिनिधि सभा)को अधिवेशन आह्वान गरेको छैन । २७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८२ सिट जित्दै सहज बहुमत ल्याएको छ ।
एकल पार्टीको बहुमत आएकाले रास्वपाका वरिष्ठ नेता बालेन संसदीय दलको नेता बन्दै गत शुक्रबार (चैत–१३ गते) प्रधानमन्त्री नियुक्ति भएर शपथ लिँदै कार्यभार सम्हालेका थिए ।
नेपालको संविधानको धारा ९३ अनुसार प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन आह्वान गरिसक्नु पर्ने उल्लेख छ ।
संविधानको धारा ९३ को अधिवेशन आह्वान र अन्त्य शीर्षकमा लेखिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नेछ ।’
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम निर्वाचन आयोगले चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको थियो ।
चैत महिना ३० गतेसम्म भएकाले वैशाख ४ गते ३० अन्तिम परिणाम सार्वजनिक भएको ३० दिन पुग्छ । त्यसकारण वैशाख ५ गतेभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नैपर्ने संवैधानिक बाध्यतामा बालेन नेतृत्वको सरकार छ ।
संघीय संसद्को अधिवेशन आह्वान मन्त्रिपरिषद् बैठकले निर्णय गरी सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले गर्ने कानुनी व्यवस्था छ । पहिलो पटक अधिवेशन आह्वान गर्दा ७ दिनको समय राखेर गर्नुपर्छ ।
संघीय संसद्को अधिवेशन आह्वानबारे जानकारी लिन शिक्षा विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुद मन्त्रीसमेत रहेका सरकार प्रवक्ता सस्मित पोखरेललाई सम्पर्क गर्दा सम्पर्कमा आएनन् ।
संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले अधिवेशन आह्वानबारे सरकारका तर्फबाट कुनै जानकारी नआएको जानकारी दिए । ‘अहिलेसम्म अधिवेशन आह्वानबारे सरकारबाट कुनै जानकारी आएको छैन,’ प्रवक्ता गिरीले रातोपाटीसँग भने, ‘अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन आह्वान गर्नैपर्ने संवैधानिक बाध्यता छ । तयारी हुँदै होला ।’
राष्ट्रपति कार्यालयले पनि सरकारका तर्फबाट संघीय संसद् अधिवेशन आह्वानका लागि सफारिस नआएको जानकारी दिएको छ ।
संविधानमा प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने पनि संविधानमा व्यवस्था छ । संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधि सभाको सभामुख र उपसभामुख शीर्षकमा लेखिएको छ, ‘प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफू मध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन् ।’
संविधानमै सभामुख र उपसभामुख एउटै पार्टी र एउटै लिङ्गको हुन नहुने उल्लेख छ । त्यसैले रास्वपाको बहुमत भए पनि उपसभामुख बनाउन पाउने छैन ।
संविधानको धारा ९१ को उपधारा (२)मा सभामुख र उपसभामुखको चयनबारे लेखिएको छ । ‘उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्य एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ ।’
प्रतिनिधिसभामा रास्वपाका १८२, नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद छन् । म्याग्दीबाट महावीर पुनले स्वतन्त्र उम्मेदवार बनेर जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा र विराटनगरसहितका सहरमा वर्षाको सम्भावना ८० प्रतिशत
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण