मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
राजनीति

६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव, अघि सारे १० कार्ययोजना (प्रतिवेदनसहित)

बिहीबार, १९ चैत २०८२, २० : ४५
बिहीबार, १९ चैत २०८२

सारांश

  • नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी ६ महिनाभित्र एकता महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन्।
  • प्रचण्डले पार्टीको पुनर्गठन, रूपान्तरण र निर्वाचन समीक्षासहितको १० बुँदे कार्ययोजना प्रस्तुत गरेका छन्।
  • पार्टीले एक महिनाभित्र पालिका तहसम्म संगठन समायोजन गर्ने प्रस्ताव अघि सारेको छ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी ६ महिनाभित्र एकता महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको पहिलो बैठकमा प्रचण्डले महाधिवेशन सम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

रातोपाटीलाई प्राप्त प्रतिवेदनको १३ नम्बर बुँदामा उनले आगामी कार्ययोजनाबारे बुँदागत रूपमा प्रस्तुत गरेका छन् । ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सामान्य समीक्षा’ सम्बन्धी १० पेजको प्रतिवेदनमा प्रचण्डले भनेका छन्, ‘पार्टीले तत्कालै सांगठनिक, वैचारिक, आर्थिक र प्राविधिक कामको ठोस कार्ययोजना बनाएर अगाडि बढ्नुपर्नेछ । पार्टीको पुनर्गठन र रूपान्तरण अभियान व्यापक रूपमा सञ्चालन गर्नुपर्ने भएको छ ।’

त्यसका लागि संगठन समायोजन र निर्माण, पार्टी सदस्य नवीकरण र अधिवेशन, एकता महाधिवेशनको आयोजना, नेतृत्व पुनर्गठन र रूपान्तरण, प्रशिक्षण अभियान, प्रभावकारी रचनात्मक प्रतिपक्ष, प्रदेश र स्थानीय तह परिचालन, प्राविधिक क्षमता विकास, कार्यशैली र आचरणमा सुधारसम्बन्धी १० बुँदे ठोस कार्ययोजना प्रस्ताव गरेका छन् ।

निर्वाचनमा पार्टी पराजित हुनुको मुख्य कारण आन्तरिक र बाह्य रहेको समीक्षा गरिएको छ । आन्तरिक कारणमा क्रान्तिपछि आर्थिक सामाजिक रूपान्तरण नहुनु, सङ्गठनात्मक समायोजन नहुनु, विचारधारात्मक काम नहुनु, युवाहरू पार्टीमा आबद्ध नहुनु, वाम शक्ति एकजुट नहुनु, परिवर्तनको महत्त्व बुझाउन नसक्नु, भएको कामको प्रचार नहुनु, सिद्धान्त र व्यवहारमा अन्तर हुनु, अवसरवादी प्रवृत्ति र व्यक्तिवादी कार्यशैली, प्राविधिक जनशक्ति र स्रोत साधनको कमी र विकल्पको रूपमा प्रस्तुत हुन नसक्नु  रहेका छन् ।

बाह्य कारणमा पुराना दल विरोधी अभियान, वाम शक्तिमाथि प्रहार, भूराजनीतिक तथा बाह्य शक्ति केन्द्रको चलखेल, डिजिटल सुनामी, लोकप्रियतावादी शक्तिको प्रचार र प्रहार विदेशमा बस्ने नेपालीको भूमिकालाई आधार बनाइएको छ । 

प्रतिवेदन अध्ययनका लागि सदस्यहरूलाई वितरण गरिएकाले चैत २३ गतेदेखि निरन्तर छलफल हुने नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘बैठकमा संयोजनले चुनावी समीक्षा सम्बन्धी प्रतिवेदन पेस गर्नुभयो । अध्ययनका लागि सदस्यहरूलाई वितरण गरिएको छ । सोमबारदेखि निरन्तर बहस हुन्छ । आजको बैठकले एकता र समायोजन, महाधिवेशन र आगामी कार्ययोजना सम्बन्धी प्रस्ताव पारित भएको छ’, उनले भने ।

पार्टी जनवर्गीय संगठनलाई नयाँ ढंगले पुनर्गठन र समायोजन जरुरी रहेकोले एक महिनाभित्र पालिका तहसम्म समायोजन गर्ने प्रस्ताव गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप