सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

भारतीय माओवादीका शीर्ष नेता ‘किशन दा’ को निधन

शव बुझ्न कोही नआएपछि सरकारी स्तरमै अन्त्येष्टि गरिने
शनिबार, २१ चैत २०८२, १५ : ३६
शनिबार, २१ चैत २०८२

सारांश

  • भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का शीर्ष नेता प्रशान्त बोस 'किशन दा' को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ।
  • बोसकी पत्नी शीला मरान्डीले आफू शव बुझ्न असमर्थ रहेको जानकारी गराएपछि सरकारी प्रक्रियाअनुसार अन्त्येष्टि गरिने तयारी गरिएको छ।

राँची । भारतमा प्रतिबन्धित संगठन भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का प्रभावशाली शीर्ष नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ । शुक्रबार भएको उनको मृत्युपछि म्याजिस्ट्रेटको उपस्थितिमा पोस्टमार्टम सम्पन्न गरिए पनि हालसम्म उनको शव बुझ्न कोही पनि नआएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

लामो समयदेखि कारागारमा रहेका बोसको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। बिरसा मुन्डा कारागारका अधीक्षक कुमार चन्द्रशेखरका अनुसार प्रशान्त बोसकी पत्नी शीला मरान्डीले कारागार प्रशासनलाई एक लिखित निवेदन दिँदै आफ्नो श्रीमानको शव बुझ्न असमर्थ रहेको जानकारी गराएकी छन्। 

मरान्डीले उक्त पत्रमा आफ्नो र श्रीमानको अन्य कोही नभएकाले अन्तिम दर्शन गराएपछि सरकारी प्रक्रियाअनुसार नै अन्त्येष्टि गरिदिन अनुरोध गरेकी छन्। कारागार प्रशासनले ७२ घण्टासम्म शव बुझ्न कोही आउँछ कि भनेर प्रतिक्षा गर्ने र त्यसपछि सरकारी मापदण्डअनुसार नै अन्तिम संस्कार गर्ने तयारी गरेको छ।

प्रशान्त बोस र उनकी पत्नी शीला मरान्डीलाई १२ नोभेम्बर २०२१ मा झारखण्डको सराइकेला(खरसावा जिल्लाबाट पक्राउ गरी राँचीको बिरसा मुन्डा कारागार पठाइएको थियो। जेल अधीक्षकका अनुसार विगत पाँच वर्षमा उनलाई भेट्न कारागारमा कोही पनि आएका थिएनन्। 

भारतीय सुरक्षा निकायका लागि टाउको दुखाइ बनेका बोसमाथि सन् २०१३ मा छत्तीसगढको झिरम घाटीमा विद्याचरण शुक्ल र महेन्द्र कर्मासहित ३० जना कांग्रेस नेताहरूको हत्याको षड्यन्त्र र पुनेको भीमा कोरेगाव हिंसामा संलग्न भएको गम्भीर आरोपहरू लागेका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप