बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशको अध्यक्षमा श्रेष्ठको उम्मेदवारी घोषणा

९ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक
सोमबार, २३ चैत २०८२, १२ : ५६
सोमबार, २३ चैत २०८२

सारांश

  • वेदबहादुर श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
  • श्रेष्ठले आफ्नो प्यानलसहित उद्योगी र व्यवसायीहरूको हकहितका लागि नौ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
  • उनले प्रदेशमा उद्योगीका समस्या समाधान, महिला उद्यमीलाई प्रोत्साहन र व्यावसायिक भवन निर्माण गर्ने मुख्य एजेन्डा अघि सारेका छन् ।

हेटौँडा । चैत २४ गतेका लागि तोकिएको नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशको अध्यक्षका लागि वेदबहादुर श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । हेटौँडामा सोमबार बिहान पत्रकार सम्मेलनमार्फत श्रेष्ठले उम्मेदवारी घोषणा गरेका हुन् ।

प्यानलसहित उम्मेदवारी घोषणा गरेका श्रेष्ठले ९ बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरेका छन् । ‘पारदर्शी र उत्तरदायी नेतृत्व’ को मुख्य नारासहित श्रेष्ठको टिमले बागमती प्रदेशका उद्योगी र व्यवसायीहरूको हकहितका लागि विभिन्न योजनाहरू अघि सारेको छ । अध्यक्षका प्रत्याशी श्रेष्ठले निजी क्षेत्रको सशक्त उपस्थिति र समस्या समाधानका लागि आफ्नो टिम सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

उनले आफ्नो नेतृत्वमा भवन नभएका जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरूका लागि जग्गा प्राप्ति र भवन निर्माणमा तीनै तहका सरकारसँग समन्वय गरी आवश्यक सहयोग गर्ने एजेन्डा अघि सारेका छन् भने बागमती प्रदेश उद्योग वाणिज्य महासङ्घको आफ्नै सुविधा सम्पन्न सचिवालय भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने घोषणा गरेका छन् ।

बागमती प्रदेश सरकारले जारी गरेको ‘प्रदेश व्यवसाय ऐन २०७६’ लाई व्यवसायीमैत्री बनाउन आवश्यक संशोधनका लागि पहल गर्ने, उद्योगी व्यवसायीका समस्या समाधानका लागि महासङ्घको केन्द्रीय नेतृत्वसँग निरन्तर अन्तरक्रिया र समन्वय गर्ने, आधुनिक कृषि प्रणाली र प्रविधिका लागि विशेष पहल गर्ने, कृषि, पर्यटन, जलविद्युत, र व्यापारलाई निजी क्षेत्रको मुख्य सरोकारको विषय बनाउँदै प्रदेश सरकारसँग सहकार्य गर्ने, ‘व्यवसायमा महिला, बागमती प्रदेशमा पहिला’ अभियानमार्फत महिला उद्यमीका उत्पादनलाई बजारीकरण गर्न तीनै तहका सरकारसँग समन्वय गर्ने उनको प्रतिबद्धता रहेको छ ।

महासङ्घलाई समावेशी, पारदर्शी र संस्थागत सुशासन कायम भएको संस्थाको रूपमा स्थापित गर्ने, रसुवागढी र तातोपानी नाकामा आयात–निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने साथै दोहोरो कर, नापतौल, अन्डर बिलिङ र मिसम्याचका समस्या समाधानमा विशेष पहल गर्ने, जिल्ला नगर, एसोसिएट र वस्तुगत सङ्घहरूसँग समन्वय गरी उद्योगी व्यवसायीका समस्या समाधानमा हर क्षण क्रियाशील रहने उनको प्रतिवद्धतामा उल्लेख छ  ।

श्रेष्ठ नेतृत्वको प्यानलमा जिल्ला नगर उपाध्यक्षमा कृष्णकुमार गुप्ता, एसोसिएट उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ, र वस्तुगत उपाध्यक्षमा राजकुमार दाहाल रहेका छन् । कोषाध्यक्षमा रुद्रबहादुर खत्री रहेका छन् भने सदस्यहरूमा जिल्ला नगरतर्फ कृष्ण मुरारी न्यौपाने, जयप्रकाश श्रेष्ठ, विष्णु खनाल, राजकुमार कँडेल र राजन कार्की रहेका छन् ।

एसोसिएट सदस्यतर्फ उत्तम शर्मा ढकाल र नविन्द्रदेव सिंह उम्मेदवार रहेका छन् भने वस्तुगत तर्फको सदस्यमा ज्योतिरत्न बज्राचार्य रहेका छन् । एसोसियट उपाध्यक्षका उम्मेदवार श्रेष्ठ, वस्तुगत सदस्य ज्योतिरत्न बज्राचार्य र सदिस श्रेष्ठ यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप