सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सभामुख अर्याल र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता

बिहीबार, २६ चैत २०८२, १७ : १६
बिहीबार, २६ चैत २०८२

सारांश

  • सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत डा.डानियल मेउल्लीबिच शिष्टाचार भेटवार्ता भएको छ।
  • भेटमा दुई देशबिचको कूटनीतिक सम्बन्ध, संसदीय सहकार्य, नेपालको शान्ति प्रक्रिया र आर्थिक विकासका विविध विषयमा छलफल भएको छ।
  • सभामुख अर्यालले स्विट्जरल्याण्डका राष्ट्रिय परिषद्का अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिँदै विकास सहकार्यको दायरा बढाउन जोड दिएका छन्।

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत डा.डानियल मेउल्लीले शिष्टाचार भेटवार्ता गरेकी छन्  । भेटमा दुई देशबिचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, नेपालको शान्ति प्रक्रिया र आर्थिक सहयोगका विविध आयामबारे विस्तृत छलफल भएको छ ।

भेटमा सभामुख अर्यालले राजदूत मेउल्लीलाई स्वागत गर्दै सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र स्विट्जरल्याण्डबिच प्रगाढ र उत्कृष्ट सम्बन्ध कायम रहेको बताए । उनले नेपालले स्विट्जरल्याण्डसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको उल्लेख गर्दै यो मित्रता पारस्परिक सम्मान र सहयोगमा आधारित रहेको धारणा व्यक्त गरे । सभामुख अर्यालले स्विट्जरल्याण्ड सहभागितामूलक लोकतन्त्रको सफल अभ्यासका लागि विश्वमै उदाहरण रहेको चर्चा गर्दै नेपालले पनि स्थानीय तहसम्म लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ बनाउन निरन्तर प्रयत्न गरिरहेको जानकारी गराए ।

सो अवसरमा सभामुखले नेपालको सामाजिक–आर्थिक विकासमा स्विस विकास तथा सहयोग निकायमार्फत पुर्‍याइएको योगदानको उच्च प्रशंसा गरे । ‘नेपाल अझै पनि स्विट्जरल्याण्डको प्राथमिकता प्राप्त देशको सूचीमा रहेकोमा हामी खुसी छौँ,’ सभामुखले भने, ‘आगामी दिनमा यो विकास सहकार्यको दायरा थप विस्तार हुनेमा म विश्वस्त छु ।’

संसदीय सहकार्यका सम्बन्धमा चर्चा गर्दै सभामुख अर्यालले उच्चस्तरीय भ्रमणको आदान प्रदानले दुई देशका संसदबिचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । उनले सन् २०२४ मा भएका उच्चस्तरीय जेनेभा भ्रमणहरूको स्मरण गर्दै स्विट्जरल्याण्डका राष्ट्रिय परिषद्का अध्यक्षलाई उपयुक्त समयमा नेपाल भ्रमणका लागि पुनः निमन्त्रणा समेत गरे । सभामुख पौडेलले सङ्घीय संसदमा नेपाल–स्विट्जरल्याण्ड संसदीय मैत्री समूह गठन गर्ने परम्परालाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता जनाए । 

भेटमा राजदूत मेउल्लीले जलवायु परिवर्तन र सामाजिक–आर्थिक विकासका साझा चुनौतीहरूमा नेपालसँग निकट रहेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् । राजदूत मेउल्लीले नेपालको लोकतान्त्रिक सुदृढीकरण र शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न स्विट्जरल्याण्डको सदैव सहयोग रहने आश्वासन दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप