मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सडक मानवमुक्त कार्यक्रम सञ्चालन गर्न संयुक्त छलफल

शनिबार, २८ चैत २०८२, १७ : २१
शनिबार, २८ चैत २०८२

सारांश

  • काठमाडौँ महानगरपालिकाले सडक आश्रित मानव व्यवस्थापन गरी सहरलाई सडक मानवमुक्त बनाउन सरोकारवालाहरूसँग छलफल गरेको छ।
  • उद्धार गरिएका व्यक्तिहरूको अवस्था पहिचान गरी पारिवारिक पुनर्मिलन, रोजगारी र सीप विकास तालिम प्रदान गर्ने योजना अघि सारिएको छ।
  • छलफलमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति र दुर्व्यसनमा फसेकाहरूको पुनःस्थापनाका लागि संयुक्त मोडेल बनाउने विषयमा जोड दिइएको छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त कार्यक्रम सञ्चालन गर्न लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता र पुनःस्थापनाका क्षेत्रमा काम गर्ने सङ्घ–संस्थाका अधिकारीहरूसँग संयुक्त छलफल गरेको छ ।

सडक, चोक तथा सार्वजनिक स्थलमा सहयोग माग गरिरहेका अपाङ्गता भएका, विभिन्न दुर्व्यसनमा रहेका र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरू सडक र सडक किनारामा सहयोग माग्ने गरिरहेका भेटिन्छन् । दृष्टिविहीन व्यक्तिहरू आकाशे पुल, पार्क तथा विभिन्न चोकहरूमा गीत गाएर सहयोग याचना गरिरहेका हुन्छन् । उनीहरूलाई सडक जीवनबाट पारिवारिक तथा सामाजिक पुनः स्थापना र रोजगार क्षेत्रमा आबद्ध गराउने छलफलको मुख्य विषय थियो ।

‘मानवीयताका सर्त तथा दायित्वहरू पूर्ण पालना गरेर हामीले काठमाडौँलाई सडक मानवमुक्त सहर बनाउन खोजेका हौँ ।’ छलफलमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भनिन्- ‘जसको कोही हुनुहुन्न । उहाँहरूको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको दायित्व हो । उहाँहरूको जिम्मेवारी हामी लिन्छौँ । तर, काम गर्ने क्षमता हुँदाहुँदै माग्न थाल्नु, घर परिवार हुँदाहुँदै बेसहारा जस्तो बनेर सडकमा आउने क्रम रोक्नुपर्छ । रोकिनुपर्छ । यसका लागि हामीले काम गर्ने हो ।’ 

सडक आश्रित मानव व्यवस्थापन गर्दा मानव अधिकारमैत्री र सहभागितामूलक उद्धार तथा व्यवस्थापन गर्ने, एकीकृत रुपमा उद्धार गरेपछि आवश्यकताका आधारमा अपाङ्गता, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, दुर्व्यसन जस्ता अवस्थाका आधारमा व्यक्तिहरूको वर्गीकरण गरेर मानवोचित व्यवस्थापन गरिने कार्यवाहक प्रमुख डङ्गोलको भनाइ छ । 

‘अल्पकालीन आश्रय,मनोसामाजिक परामर्श, स्वास्थ्य परीक्षण उद्धारका क्रममा अवलम्बन गरिने प्रक्रिया हुन्’ उनले भनिन्, ‘उद्धार गरिएका व्यक्तिहरूको अवस्था र आवश्यकता पहिचान सकिएपछि पारिवारिक तथा सामाजिक पुनः स्थापना, रोजगार तथा स्वरोजगारका लागि सिप विकास तालिम सञ्चालन, स्वरोजगार बन्न चाहनेलाई सहुलियतपूर्ण ऋण जस्ता कामका लागि कानुनी तथा नीतिगत व्यवस्था गर्ने र त्यसका आधारमा सहकार्य, समन्वय र सहभागितामा आधारित कार्यक्रम सञ्चालन गरिनेछन् ।’ 

परिवार र समाजबाट बहिष्करणमा परेपछि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक पहिचान भएका व्यक्तिहरू सडकमा आश्रित हुनुपरेको छलफलमा सहभागीले काम गर्दाको अनुभव सुनाइन् । पेसा र रोजगार क्षेत्रमा जाँदा पहिचान,सामाजिक सुरक्षा, मर्यादा र आत्मसम्मानमा स्वीकार नगरिएका कारण सडकमा माग्नु परेको अवस्था सहभागीहरूले सुनाए । 

छलफलमा दृष्टिविहीन व्यक्तिहरूले सडक, सार्वजनिक यातायात र बजार क्षेत्रमा गीत गाउनुपर्ने अवस्थाका विषयमा छलफल गर्दै दृष्टिविहिनहरुका लागि रोजगार र स्वरोजगारको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइएको थियो । सडकमा आश्रित युवाहरूमा लागू औषधको दुर्व्यसन रहेकोले उनीहरूलाई परिवारमा पुनर्मिलन गराउनुअघि सुधार केन्द्र तथा पुनः स्थापना केन्द्रमा राखेर आचरण तथा व्यवहार सुधारमा काम गर्नुपर्ने खाँचो छलफलमा औँल्याइएको छ ।

छलफलमा अधिकारका क्षेत्रमा काम गर्ने सङ्घ–संस्थाहरूसँग सहकार्य गर्ने, पुनःस्थापना र सशक्तीकरणका कार्यक्रममा संयुक्त मोडेल बनाउने विषय समेत उठान भएका थिए ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप