हंगेरीमा अन्त्य होला १६ वर्षे ओर्बान शासन ?
सारांश
- हंगेरीमा १६ वर्षदेखि सत्तामा रहेका प्रधानमन्त्री भिक्टर ओर्बानको भविष्यको निर्णयका लागि आइतबार मतदान भइरहेको छ।
- विपक्षी नेता पेटर माज्यारले ओर्बानको शासन अन्त्य गरी युरोपेली संघसँगको सम्बन्ध सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।
- ओर्बानले आफ्नो पाँचौँ कार्यकालका लागि उम्मेदवारी दिएका छन् भने विभिन्न सर्वेक्षणले यसपटक उनलाई कडा प्रतिस्पर्धा रहेको देखाएका छन्।
बुढापेष्ट । हंगेरीमा लामो समयदेखि सत्तामा रहेका प्रधानमन्त्री भिक्टर ओर्बानको १६ वर्षे शासन अन्त्य हुने वा निरन्तरता पाउने भन्ने निर्णयका लागि आइतबार मतदान भइरहेको छ ।
यो निर्वाचनले युरोप मात्र नभई अमेरिका र रूससम्म असर पार्न सक्ने विश्लेषण गरिएको छ । धेरैजसो सर्वेक्षणहरूले विपक्षी नेता पेटर माज्यारलाई अघि देखाएका छन् । उनले सत्तारुढ फिडेज पार्टी छोडेर नयाँ टिस्जा पार्टी गठन गरेका हुन् । मतदान बेलुका ७ बजेसम्म जारी रहनेछ भने परिणामहरू रातिदेखि आउन सुरु हुनेछन् ।
निर्वाचनअघिको अन्तिम सभामा ओर्बानले ऐतिहासिक जित हासिल गर्ने दाबी गर्दै विपक्षीले सत्ता कब्जा गर्न जे पनि गर्न सक्ने आरोप लगाएका थिए । जवाफमा माज्यारले मतदातालाई दबाब र धम्की मा नपर्न आग्रह गरेका छन् । ओर्बानले विगत १६ वर्षमा लगातार चार पटक चुनाव जितेका छन्, तर यसपटक पाँचौँ जित हासिल गर्न कठिन हुने संकेत देखिएको छ ।
युरोपेली संसदले ओर्बान शासनलाई निर्वाचनात्मक अधिनायकवादको मिश्रित रूप भन्दै आलोचना गर्दै आएको छ । माज्यार र उनको टिस्जा पार्टीले शासन परिवर्तन, युरोपेली संघ सँगको सम्बन्ध सुधार र रूससँगको निकटता अन्त्य गर्ने वाचा गरेका छन् । यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओर्बानलाई साँचो मित्र र विजेता भन्दै समर्थन गरेका छन् र मतदातालाई उनलाई मत दिन आह्वान पनि गरेका छन् ।
ओर्बानले आफ्नो अभियानमा ब्रसेल्स र युक्रेन सम्बन्धी मुद्दालाई प्राथमिकता दिएका छन् । उनले ‘हामी आफ्ना सन्तान, हतियार वा पैसा दिन्नौँ’ भन्ने सन्देश दोहोर्याएका छन् । हाल हंगेरीको अर्थतन्त्र कमजोर अवस्थामा रहेको छ भने विभिन्न काण्डहरूले पनि ओर्बानको सरकारलाई दबाबमा पारेका छन् ।
विदेशमन्त्री पेटर सिज्जार्ताेले युरोपेली संघ शिखर सम्मेलन अघि–पछि रूससँग सम्पर्क राखेको विषय सार्वजनिक भएपछि विवाद चर्किएको थियो । हंगेरी नाटो सदस्य राष्ट्र भए पनि ओर्बानले युक्रेनलाई दिने ९० अर्ब युरो सहायता रोक्दा युरोपेली साझेदारहरू असन्तुष्ट बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण